तेस्रोमा वास्तविक लगानीकर्ता आकर्षित गरिन्छ : अर्थमन्त्री

काठमाडौं । सरकारले तेस्रो लगानी सम्मेलनको तिथि घोषणा गरेको छ । आगामी वैशाख ९ र १० गते काठमाडौंमा तेस्रो लगानी सम्मेलन गर्ने गरी तयारी भइरहेको अर्थमन्त्री डा. प्रकाशशरण महतले जानकारी दिएका हुन् ।  लगानी सम्मेलनका लागि अर्थमन्त्रीको संयोजकत्वमा निर्देशक समिति गठन भएको छ । उक्त समितिको पहिलो बैठक आइतवार बसेको छ । समितिको बैठकपछि अर्थमन्त्री डा. महतले लगानी सम्मेलन आयोजना हुने बताए । ‘लगानी सम्मेलनको तयारी थालिएको छ । यो सम्मेलनमा विदेशी लगानीको मात्र कुरा होइन, नेपाली र गैरआवासीय नेपाली लगानीकर्तालाई पनि सँगै लैजाने हो,’ आइतवार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री डा. महतले भने । अर्थमन्त्री महतले औपचारिकताका लागि नभई वास्तविक लगानीकर्ता आकर्षित गर्न तेस्रो लगानी सम्मेलन गर्न लागेको दाबी गरे । पटकपटक लगानी सम्मेलन भए पनि अपेक्षाअनुसार प्रतिफल नआएको बेला सरकारले यसपालिको सम्मेलन औपचारिकतामा सीमित नहुने दाबी गरेको हो ।  ‘यसपटक हामीले विगतमा जस्तो औपचारिकताभन्दा पनि वास्तविक लगानीकर्ता आकर्षित गर्न सम्मेलन आयोजना गर्न लागेका हौं,’ उनले भने, ‘यसपटक सम्मेलन आयोजना हुनुअघि सम्भावित लगानीकर्तासँग दुईपक्षीय बैठक गर्ने योजना बनाएका छौं । सम्मेलनमा धेरै जनालाई सहभागी गराउने भन्दा पनि सम्भावित लगानीकर्तालाई समेट्ने योजना छ ।’  अर्थमन्त्री महतले सरकारले दुईपक्षीय लगानी प्रवर्द्धन तथा संरक्षण सम्झौता (बिप्पा) कार्यान्वयन गर्दै विदेशी लगानीलाई संरक्षण गर्न चाहेको बताए । लगानी सम्मेलनका लागि अर्थ मन्त्रालयले बनाएको निर्देशक समितिमा उद्योग, भौतिक पूर्वाधार, पर्यटन, ऊर्जा र शहरी विकासमन्त्रीका साथै नेपाल राष्ट्र बैंकका गभर्नरलगायत सदस्य छन् । मुख्यसचिव नेतृत्वको कार्यान्वयन समितिलाई कार्ययोजना, कार्यक्रमको ढाँचा, आवश्यक विज्ञ नियुक्ति गर्ने, उपसमिति बनाउनेलगायत विषयमा प्रस्ताव पेश गर्ने जिम्मेवारी तोकिएको छ । कार्यान्वयन समितिले ल्याउने प्रस्तावका आधारमा निर्देशक समितिले निर्णय गर्ने अर्थमन्त्री महतले पत्रकार सम्मेलनमा बताए । आगामी वैशाख ९ र १० गते काठमाडौंमा तेस्रो लगानी सम्मेलन गर्ने गरी तयारी छ । २०७५ सालमा लगानी सम्मेलन गर्दा लगानी बोर्डको नेतृत्वमा हाल केन्द्रीय बैंकका गभर्नर रहेका महाप्रसाद अधिकारी थिए । लगानी सम्मेलनका लागि आवश्यक कानूनी सुधार, प्राविधिक विषय, लगानीकर्तालाई सम्मेलनबारे जानकारी दिनेलगायत काम कार्यान्वयन समिति र प्राविधिक समितिमार्फत हुने बताइएको छ । सम्मेलनमा प्रदर्शन (सोकेस) गरिने परियोजनाको विषय यही समितिले टुंग्याउनेछ । सम्भावित लगानीकर्तालाई के ‘अफर’ गर्ने भन्ने विषयमा जिम्मेवार हुँदै अध्ययन गर्न निर्देशक समितिले कार्यान्वयन समितिलाई जिम्मेवारी दिएको छ । लगानी बोर्डको कार्यालयले सम्मेलन सचिवालयको काम गर्नेछ ।  गभर्नर अधिकारीले वैशाखमा लगानी सम्मेलन गर्न पर्याप्त समय नरहेको बताएका छन् । उनले विगतको अनुभव हेर्दा वैशाखमा लगानी सम्मेलन गर्न समय निकै कम हुने बताउँदै बाँकी समयलाई योजनाबद्ध तवरले सदुपयोग गर्न जरुरी रहेको औंल्याए । ‘ऊर्जाक्षेत्रमा मात्रै अध्ययन भएका प्रोजेक्ट छन् । अन्य क्षेत्रमा अध्ययन कम छ । लजिस्टिक महँगो छ । लिएको नीतिबाट फिर्ता हुनु भएन,’ पत्रकार सम्मेलनमा उनले भने, ‘सम्मेलनमा छूट र सुविधाको पनि कुरा आएको छ । सातओटा प्रदेशले कुनै न कुनै सम्मेलन गर्नुपर्छ । त्यहाँका स्थानीयले आफ्ना आयोजना र आइडिया उजागर गर्छन् । प्री–समिट गर्नुपर्छ । त्यसकारण वैशाखमा सम्मलेन गर्न समय निकै कम हुन्छ ।’ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले ऐन कानून र काम गर्ने शैलीका कारण नेपालमा लगानी आउन कठिन भइरहेकोले यसमा सुधार ल्याउनुपर्ने बताए । उनी मध्यपूर्वका देशहरूलाई प्राथमिकतामा राखेर लगानी सम्मेलन गर्नुपर्नेमा जोड दिन्छन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानी सम्मेलनअघि प्री–समिट गर्नु जरुरी रहेको बताए । उनका अनुसार सम्मेलनअघि नै त्यस्तो समिट राखेर मुख्य सम्मेलन गरियो भने प्रभावकारी हुन्छ । ‘नेपालमा बिप्पा गरौं भन्ने विदेशी लगानीकर्ताको चासो छ । मिडल इस्टलाई प्राथमिकता दिइएको छैन । त्यताको बढी चासो छ,’ उनले भने । 

सम्बन्धित सामग्री

लगानी सम्मेलनका पूर्वशर्त

सरकारले आउँदो वैशाखमा लगानी सम्मेलन गर्ने तयारी गरेको छ । लगानी सम्मेलनपूर्व नै लागत र लाभको अनुमान गर्न सजिलो मानिने र लगानीका लागि आवश्यक ठानिएको मुलुकको शाख मूल्यांकन (कन्ट्री रेटिङ) को काम सक्ने अर्थमन्त्री डा. प्रकाशशरण महतले दाबी गरेका छन् । अर्थमन्त्रीले यस्तो दाबी गरे पनि काम भइहाल्ने आधारभूत कारण भने देखिएको छैन । अर्को, अर्थमन्त्रीले विदेशी लगानीकर्ताले नेपालमा किन लगानी गर्ने भनेर सोधेमा त्यसको जवाफ आफूसँग भएको बताएका छन् । त्यसको जवाफ छ भने अहिले जनतालाई त्यो कुरा सुनाउन केले रोकेको छ ? होइन, बोल्नका लागि मात्र बोलेको हो भने अर्थमन्त्रीजस्ता व्यक्तिले कुनै पनि भनाइ सार्वजनिक गर्नुअघि धेरै नै सोचविचार गर्नु आवश्यक छ जुन अर्थमन्त्रीमा मात्र होइन, सरकारका सबै अधिकारीहरूसँग रहेको पाइन्न । दुई ठूला छिमेकीको बीचमा अवस्थित भएकाले राम्रो बजार, सहज भौगोलिक बनावट, सस्तो श्रमशक्ति भनेर मात्र नेपालमा वैदेशिक लगानी आउने देखिँदैन । यति कुरा भनेकै भरमा आउने भए लगानीकर्ता अहिलेसम्म नेपाल आइसक्थे ।  त्यस्तै लगानी भित्त्याउन कन्ट्री रेटिङ मात्रै पनि कारण होइन । यो एउटा सामान्य पक्ष मात्र हो, किनकि कन्ट्री रेटिङ नभएका कैयन् देशमा धमाधम लगानी भइरहेको छ । कन्ट्री रेटिङ हुँदा नेपालका बैंकहरूलाई विदेशबाट ऋण ल्याउन सजिलो हुन्छ । मुलुकको आर्थिक क्षमता कति छ भन्ने कुरा मात्र यसले बताउँछ । त्यसैले वैदेशिक लगानीका लागि सरकारले सधैं एउटै कुरा नगरी विविध पक्षमा ध्यान दिन आवश्यक हुन्छ ।  नेपालमा लगानी किन गर्ने भन्ने कुराको चित्त बुझ्दो जवाफ लगानीकर्ताले नपाएकै कारण वास्तविक लगानी नआएको हो भन्न सकिन्छ । नेपालले समस्याको अध्ययन गरेर तिनको समाधान गर्नुपर्नेमा त्यसतर्फ भाषणबाहेक केही पनि गरेको छैन भन्दा पनि हुन्छ । लगानीकर्ताले चाहेका केही कानूनहरू अझै बनेका छैनन्, उनीहरूले भनेअनुसार संशोधन भएका छैनन् । कानून निर्माणजस्तो नियमित कामसमेत वर्षौंदेखि नहुने मुलुकमा उनीहरूले कुन आधारमा लगानी गर्लान् ? उल्टो प्रधानमन्त्री र मन्त्रीहरूले यसो गनुपर्छ, उसो गर्नुपर्छ भन्ने भाषण गरिरहेका भेटिन्छन् । आफूले गर्नुपर्ने काम भने सिन्को भाँचेको समेत पाइँदैन ।  नीतिगत अस्थिरता, उद्योगव्यवसायमैत्री कानूनको अभाव, करको किचलो र सर्वसाधारणमा विदेशी लगानीकर्ताप्रति नकारात्मक सोच भएको अवस्थामा विदेशी लगानी आकर्षित गर्न त्यति सहज छैन । वास्तवमा नेपालमा लगानी गर्न चाहने विदेशीहरू यहाँको अस्थिर राजनीति, बिकाउ र भ्रष्ट प्रशासन यन्त्र र कमजोर कानूनका कारण लगानीका लागि विश्वस्त हुन सकेका छैनन् । नीतिगत अस्थिरता, उद्योगव्यवसायमैत्री कानूनको अभाव, करको किचलो र सर्वसाधारणमा विदेशी लगानीकर्ताप्रति नकारात्मक सोच भएको अवस्थामा विदेशी लगानी आकर्षित गर्न त्यति सहज छैन । यी कुरामा सुधार ल्याउन सक्ने बलियो सरकार बन्न सकेको छैन र तत्काल बन्ने लक्षण पनि देखिँदैन । त्यसैले लगानीमैत्री वातावरणका लागि आवश्यक कुरा केके हुन् भन्ने विषयमा लगानीकर्ताकै कुरा सुन्नुपर्छ र तिनलाई सम्बोधन गर्नुपर्छ । अन्यथा मलाई जवाफ थाहा छ भनेर गफ दिँदैमा लगानीकर्ता आश्वस्त हुँदैनन् । सम्पत्ति शुद्धीकरणको कानून बनाउन अन्तरराष्ट्रिय समुदायले पटकपटक आग्रह गर्दासमेत नेपालका सरकारले अटेरी गर्दा पनि वैदेशिक लगानी निरुत्साहित भएको हो । अधिकांश सभ्य र विकसित देशका लगानीकर्ता पारदर्शी वातावरणमा लगानी गर्न चाहने र त्यसै प्रकारले नाफा लैजान खोज्छन् । तर, सम्पत्ति शुद्धीकरणमै प्रश्न उठेको ठाउँबाट आर्जित लाभ आफ्नो मुलुक लैजान त्यस्ता लगानीकर्तालाई अप्ठ्यारो हुन्छ । त्यति मात्र नभई नेपालमा पटकपटक नीति, नियम फेरिने समस्या पनि छ । त्यसैले सरकारले लगानी भित्त्याउन मनगढन्ते कुरा गर्नुभन्दा पनि वास्तविक समस्या के हो ? भन्ने कुराको यकीन गरी त्यस्ता समस्याको समाधान गर्नुपर्छ । अन्तरराष्ट्रिय समुदायले भन्दै आएको विषयमा सुधार नगर्ने तर लगानीकर्ताले सोध्ने प्रश्नको जवाफ हामीसँग छ भन्नु सरकारमा बस्नेहरू लगानी भित्त्याउन अझै गम्भीर छैनन् भन्ने प्रमाण हो । सम्पत्ति शुद्धीकरणको विषयमा प्रश्न उठाउने पनि लगानीकर्ता हुन सक्दैनन् र ?

बुलिश बजारमाथि नियन्त्रण

जब जब शेयरबजार बुलिश प्रवृत्तिमा जान्छ, तब मुख्य जिम्मेवार निकाय वा पदाधिकारीहरूले बजारलाई नियमनभन्दा पनि नियन्त्रणको आँखाले र्हेन थाल्छन् । नियमनभन्दा नियन्त्रण सजिलो लागेको हुनुपर्छ, नियामकलाई । विगतमा पूर्व अर्थमन्त्री बाबुराम भट्टराईले शेयरबजारलाई जुवाघर भन्नु र युवराज खतिवडाले अनुत्पादक भन्नु र त्यसपछि बजार घट्नुलाई नियन्त्रण गरिएको रूपमा हेर्न सकिन्छ । अधिक तरलता भनेको लगानीकर्ताका लागि यो पैसा प्राप्त गर्ने अवसर हो । तर त्यो पैसा अधिक जोखिम हुने क्षेत्र दोस्रो बजारमा लगाइएको रहेछ भने अधिक तरलता हुँदा बढेको बजार तरलता नियन्त्रित हुँदा वा सामान्य हुँदा घट्न सक्छ । विसं २०७७ असार १५ गतेको न्यून बिन्दु नेप्से परिसूचक ११८८.७१ लाई आधार मान्ने हो आजसम्म बजार ३०२५.८३ सम्मको उच्च बिन्दुसम्म आइपुग्दा १५४.५५ प्रतिशतले नेप्से परिसूचक वृद्धि भइसकेको देखिन्छ । यो वृद्धि पूँजीगत लाभ हो, यसमा कम्पनीले दिने प्रतिफल समावेश गरिएको छैन । यस अवधिको बीचमा सूचीकृत भएका नयाँ कम्पनी पनि समावेश छन् । यति थोरै समयमा यति धेरै पूँजीगत लाभ सामान्यतया कुनै पनि लगानीबाट हुँदैन । घरजग्गाको लगानीमा पनि हुँदैन । धितोपत्रसँग सम्बद्ध मुख्य जिम्मेवार निकाय वा पदाधिकारीहरूलाई पनि यो अनौठो लागेको हुन सक्छ र उनीहरूले नियमनभन्दा पनि नियन्त्रणको आँखा यसतिर सोझ्याएका हुन सक्छन् । नेपाल धितोपत्र बोर्डलाई हालको यो बुलिश बजार निकै अनौठो लागेको छ । त्यो कुरा उसको ५१ कम्पनी सूचीसहितको प्रेस विज्ञप्तिबाट पनि स्पष्ट हुन्छ । धितोपत्र बोर्डले मिति २०७८ जेठ २५ गते एक प्रेस विज्ञप्ति जारी गरिएको थियो । जहाँ प्रतिशेयर आम्दानी, प्रतिशेयर नेटवर्थ, मूल्य आम्दानी अनुपात, किताबी मूल्यमा बजार मूल्यको अनुपातलगायत परिसूचक तथा कम्पनीको बजार मूल्यसम्बन्धी प्राविधिक विश्लेषण, संस्थागत सुशासनको अवस्था समेतलाई मूल्यांकन गरी लगानी गर्न अनुरोध गरिएको थियो । दोस्रो बजारमा कारोबार वृद्धिसँगै शेयर कर्नरिङ, सर्कुलर ट्रेडिङ भएका गुनासाका आधारमा बोर्डले अध्ययन शुरू गरेको विज्ञप्तिमा लेखिएको थियो । त्यसको ठीक १ हप्तापछि असार १ गते बोर्डले अर्को प्रेस विज्ञप्ति जारी गर्‍योे जहाँ विगत १ वर्ष अवधिमा सूचीकृत संगठित संस्थाहरूको मूल्य वृद्धि ३०० प्रतिशत र सोभन्दा बढी प्रतिशतले वृद्धि भएका, मूल्य आम्दानी अनुपात १०० र त्यसभन्दा बढी भएका, प्रतिशेयर आम्दानी ऋणात्मक भएका, प्रतिशेयर अंकित मूल्यभन्दा प्रतिशेयर नेटवर्थ कम भएका, कम्पनीको वर्तमान वित्तीय क्षमताको मूल्यांकनसमेतको आधारमा हाललाई जोखिमयुक्त देखिएका ५१ सूचीकृत कम्पनी छनोट गरी बोर्डबाट प्रारम्भिक अध्ययन गरिएको बताइएको थियो । यी ५१ कम्पनीको शेयरमा भित्री कारोबार, सर्कुलर कारोबार, कर्नरिङलगायत धितोपत्रसम्बन्धी कसूरका सम्बन्धमासमेत विस्तृत अध्ययन कार्य अगाडि बढाइएको जानकारी गराइएको थियो । कम्पनी नै ताकेर यी जोखिमयुक्त र यिनमा विकृतियुक्त कारोबार भएकाले यससम्बन्धी कसुरका सम्बन्धमा अध्ययन गरिने भनिएको थियो । यो कदम पनि नियन्त्रणको एक उदाहरण हो भन्न सकिन्छ । शेयरबजार सामूहिक मनोविज्ञानका आधारमा चल्ने पनि भएकाले यदि धेरैभन्दा धेरै लगानीकर्तालाई नकारात्मक असर पुग्ने किसिमका कार्य, अभिव्यक्ति, समाचार, विचार, विमर्श र विश्लेषणहरू आम लगानीकर्तामाझ फैलिएमा त्यसले बजारलाई नकारात्मक असर पुर्‍याउँछ । २०७८ जेठ २५ गतेको बोर्डको प्रेस विज्ञप्ति जारी हुँदा नेप्से परिसूचक २९६० बिन्दुमा थियो । विज्ञप्तिपछि २ दिन बजारमा १६ अंकले उतार आएको थियो । दोस्रो विज्ञप्ति (असार १ गते) भन्दा अघिल्लो दिन नेप्से परिसूचक ३०२५.८३ पुगेको देखिन्छ । भोलिपल्ट असार १ गते २ अंकको मात्र गिरावट आई ३०२२.११ बिन्दुमा बजार बन्द भएको थियो । सोही दिन बेलुका बोर्डको ५१ कम्पनीको सूचीसहितको प्रेस विज्ञप्ति जारी भयो । त्यसपछि असार १० गतेसम्म नेप्से परिसूचक २८४३ बिन्दुमा ओर्लियो । ७ दिनको कारोबारमा बजार १७९ अंक (करीब ६ प्रतिशत) ले झरेको देखिन्छ । आगामी दिनमा बजार अझै ऋणात्मक हुने वा वृद्धि हुने त्यो कसैले ठ्याक्कै भन्न त सक्दैन तर कही विश्लेषणको आधारमा अनुमान गर्न भने सकिन्छ । मुख्य जिम्मेवार निकाय वा पदाधिकारीहरूले बजारलाई नियमन, सहजीकरण गर्नुभन्दा पनि नियन्त्रणको आँखाले हेरेर त्यसको प्रभाव शेयरबजारमा पर्छ । नेपाल राष्ट्र बैंकले ल्याउने आगामी मौद्रिक नीतिले शेयरबजारलाई कत्तिको सहजीकरण गर्छ भन्ने कुरा पनि निकै महत्त्वपूर्ण रहन्छ । बजार बढ्ने पहिलो आधार हो, अधिक तरलता । सामान्यतः तरलता क्षणिक हुन्छ । यो वित्तीय समस्या पनि हो । यसलाई केन्द्रीय बैंकले वा राज्यले नियन्त्रणमा लिई सन्तुलमा राख्नुपर्ने हुन्छ अधिक तरलता भनेको लगानीकर्ताका लागि यो पैसा प्राप्त गर्ने अवसर हो । तर, त्यो पैसा अधिक जोखिम हुने क्षेत्र दोस्रो बजारमा लगाइएको रहेछ भने अधिक तरलता हुँदा बढेको बजार तरलता नियन्त्रित हुँदा वा सामान्य हुँदा घट्न सक्छ । तरलताकै कारणले निम्त्याएको न्यून ब्याजदर, सजिलै कर्जा उपलब्धता हुने भएकाले यस्तो पैसा शेयरबजारमा लगाउनु निकै जोखिमपूर्ण हुनसक्छ । बजार बढ्नुको दोस्रो कारण हो, प्रविधिगत सुधार तथा विकास । अनलाइनको माध्यमबाट बाई र सेल बटन थिचेर शेयर किनबेच गर्न सहज हुनाले धेरैलाई यसले आकर्षित गरेको हो । यस्तो आकर्षण सधैंभरि रहिरहन्छ भनेर भन्न पनि सकिँदैन । नयाँ लगानीकर्ताको दरमा सन्तृप्ति आउन सक्छ । प्रविधिमा अझै धेरै कुराको विकास समयको मागबमोजिम हुँदै जानुपर्दथ्यो त्यो सुस्त भइरहेको छ । लगानीकर्ता जहिले पनि अवसरवादी हुन्छन् । उनीहरूले जहाँ बढी अवसर देख्छन् त्यहाँ नै पैसा खन्याउँछन् । यदि त्यो अवसरबाट उसले फाइदा लिइसक्यो वा पुनः अवसर देख्न छोड्यो भने आफ्नो लगानी फिर्ता लिन्छन् । शेयरबजारको लगानी पनि त्यस्तै हो । कोरोना भाइरसका कारण खुम्चिएको आर्थिक क्रियाकलापमा अवसर शेयरबजारमा देखी कारोबार गर्न आएका पर्यटक लगानीकर्तालाई टिकाइराख्ने उपाय नरचिने हो भने उनीहरू यहाँबाट पलायन हुने सक्ने सम्भावना छ । कोरोना समस्यामा दिनदिनै नयाँ नयाँ आशाका किरणहरू पलाइनै रहेका छन् । खोपको प्रयोग भइरहेको छ । थप खोप ढिलो चाँडो नेपालमा उपलब्ध हुने नै छ । कोरोना भाइरसका कारण थलिएको लगानीका अन्य क्षेत्र पूर्ववत् अवस्था फर्कन लामो समय नलाग्ने जस्तो देखिन्छ । यस अवधिमा धेरै लगानीकर्ताले शेयरबजारबाट पैसा फिर्ता लाने सम्भावना पनि रहन्छ । नेपाल धितोपत्र बोर्डको मुख्य काम कर्तव्य र अधिकार भनेको पूँजी बजारको विकास तथा धितोपत्रमा लगानी गर्ने लगानीकर्ताको हितको संरक्षण गर्नु हो । यस सम्बन्धमा आवश्यक व्यवस्था गर्नु हो । धितोपत्र बजार तथा धितोपत्र कारोबारमा संलग्न धितोपत्र व्यवसायसँग सम्बद्ध व्यक्ति तथा संस्थाहरूको कारोबारको शुद्धता जाँच गर्ने हो । बजार धेरै बढ्दैमा जोखिम हुने वा नहुने त्यसको मूल्यांकन लगानीकर्ताले पनि गर्न सक्नुपर्छ । मन परेको शेयर सस्तो मूल्यमा नपाउँदाको अवस्थामा लगानीकर्ताले बढी मूल्य हाल्नु परेको पनि हुन सक्छ । यसले अल्पकालमा वास्तविक मूल्य र बजार मूल्यमा धेरै भिन्नता भएको जस्तो देखिए पनि दीर्घकालमा त्यो भिन्नता कम भएर जान सक्छ । मुख्य जिम्मेवार निकाय वा पदाधिकारीहरूले बजारलाई स्वतन्त्र रूपमा चल्न दिई यसलाई नियमन र सहजीकरण गर्ने हो नियन्त्रण होइन । लगानीकर्तालाई स्वतन्त्र भई लगानी गर्न मनोवैज्ञानिक रूपमा रोक लगाउने कुरा नियन्त्रण उन्मुख रहेको छ । खास चार/पाँचओटा मात्र वित्तीय आधार तोकी त्यही आधार बलियो नहुँदासम्म लगानी गर्न जोखिम छ भन्नु वैज्ञानिक अधारमा सत्य सिद्ध नहुन सक्छ । वर्तमान वित्तीय क्षमताको मूल्यांकन र विकृत कारोबारको आशंकामा ५१ कम्पनीको सूची सार्वजनिक गर्नु बजारलाई नियन्त्रण गर्न खोजेको ठहर्छ । यसरी अध्ययन, अनुसन्धानकै रूपमा रहेका कम्पनीको नामै तोकी सूची सार्वजनिक गर्नु धितोपत्र बोर्डको अधिकार क्षेत्र बाहिरको कार्य हो । यस कार्यले घटेको शेयर मूल्य र कारोबार रकमले लगानीकर्तामा अपूरणीय क्षति पर्न गएको छ र अझ क्षति पर्न सक्ने सम्भावना पनि रहन सक्छ । शेयरबजारमा बुलिश प्रवृत्तिको अन्त्य सधैं यस्तै मुख्य जिम्मेवार निकाय वा पदाधिकारीहरूको गलत कार्य वा अभिव्यक्तिले हुने गरेको पनि छ । लेखक नागरिक लगानी कोषसँग आबद्ध छन् ।

पूर्ण अनलाइन लागू भएपछि धितोपत्रको कारोबार बढ्यो : अध्यक्ष ढुंगाना

जेठ २५, काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले पूर्ण अनलाइन लागू भएपछि  धितोपत्रको कारोबार बढेको बताएका छन् । नेपाल धितोपत्र बोर्डद्वारा मंगलवार आयोजित २९ औं वार्षिकोत्सवको अवसरमा अध्यक्ष  ढुंगानाले पूर्ण अनलाइन बनाएका कारण पूँजीबजारमा लगानीकर्ताको आकर्षण बढेको बताए । उनले लगानीकर्ताको आत्मविश्वास बढेका कारण पूँजीबजार भरपर्दो स्रोत बन्न थालेको पनि बताए । उनले  धितोपत्र वास्तविक क्षेत्रलाई आकर्षित गर्न बुक विल्डिंग विधि लागू गर्न लागिपरेको बताए । उनले पूँजी बजरको सुधार र विवेकशिल लगानीकर्ता तयार गर्न धितोपत्र बोर्डले आगामी वर्ष विशेष कार्यक्रमहरु ल्याउन लागेको बताए । धितोपत्र बोर्डले मंगलवार उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको प्रमुख आतिथ्यतामा वार्षिकोत्सव मनाएको हो । कार्यक्रममा बोर्डको पूर्व अध्यक्षहरु,नेपाल स्टक एक्सचेञ्ज, सीडीएससी,क्रेडिट रेटिंग संस्थाहरु,मर्चेन्ट बैंकर एशोसिएसन, स्टक ब्रोकर एशोसिएसन,लगानीकर्ता संघसंस्था लगायतका प्रतिनिधिको सहभागिता रहेको छ ।