निजगढ विमानस्थल निर्माण र सनसेट ल : अडानी समूहलाई चार विमानस्थल दिनु कति उपयुक्त ?

त्रिभुवन विमानस्थल निकै सानो भएको र विस्तारका लागि ठाउँ नभएकाले नेपाललाई ठूलो अन्तरराष्ट्रिय विमानस्थल अनिवार्य भइसकेको विषयमा खासै विवाद छैन । उडान अवतरणको चाप अहिले नै थेग्न गाह्रो परिरहेको छ । पर्यटकको संख्या बढाउने हो भने अर्को ठूलो विमानस्थल नेपाललाई आवश्यक भइसकेको छ । विमानस्थल तत्कालै बनाउन पनि सकिँदैन र पूर्ण सञ्चालनमा आउन पनि सक्दैन । त्यसका लागि ठूलो लगानी आवश्यक छ । नेपालले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको विकल्पमा निजगढ विमानस्थल निर्माणलाई अघि सारेको छ । तर, यो विमानस्थल बनाउन नेपालसँग पैसा छैन । बनिसकेपछि तत्काल सञ्चालनमा आएर सञ्चालन खर्च उठाउन पनि सक्ने देखिँदैन । यसो भन्दैमा नयाँ विमानस्थल बनाउनु पर्दैन भन्न मिल्दैन । अन्य पूर्वाधार निर्माणको गति हेर्दा निजगढ विमानस्थल नेपालले अहिले बनाउन थालिहाल्यो भने पनि यो सञ्चालनयोग्य बन्न कम्तीमा पनि १० वर्ष लाग्ने अनुमान गर्न सकिन्छ । त्यतिबेलासम्म अहिलेको विमानस्थलले पर्यटक थेग्न सक्ने देखिँदैन । त्यसैले हामी पर्यटन व्यवसायीले निजगढ विमानस्थलको आवश्यकता देखेका छौं । बुट मोडलको आवश्यकता नेपालले निजगढ विमानस्थलका लागि स्रोतको जोहो गर्न नसकेपछि सम्भावित विकल्पको खोजी गर्नु उपयुक्त नै हुन्छ । निजगढ विमानस्थल निर्माण, सञ्चालन र हस्तान्तरणको बुट मोडलमा बनाउन सकिन्छ भने त्यसका लागि नेपाल तयार हुनुपर्छ । आफूले लगानी गर्न नसकेपछि बुट मोडल नै उपयुक्त हुन्छ । त्यसैले निजगढ विमानस्थल पनि यही मोडलमा बनाउन दिनु उपयुक्त हुन्छ । बुट मोडलमा नेपालमा नमीठो अनुभव छ । काठमाडौं–तराईमधेश द्रुतमार्ग निर्माण यही मोडलमा बनाउने तयारी गरे पनि विरोधकै कारण सरकारले आफै निर्माण गर्न थालेको छ । बुट मोडलमा सरकारको लगानी नहुने भएकाले हाम्रो जस्तो देशका लागि उपयुक्त मानिन्छ । तर, बुझाइको कमीले हो वा अन्य कारणले मानिसहरू यसप्रति सकारात्मक देखिएको पाइँदैन । त्यसैले बुट मोडलका बारेमा नेपाल र नेपाली स्पष्ट हुनु आवश्यक देखिन्छ । सरकार निजगढ विमानस्थल पनि यही मोडलमा बनाउन तयार देखिन्छ । त्यही भएर नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले नेपालका चारओटा विमानस्थल सार्वजनिक निजी साझेदारी (पिपिपी) मोडलमा सञ्चालन तथा निर्माण गर्ने प्रक्रिया अघि बढाएको हो । विदेशी कम्पनीहरू लगानीको अवसरको खोजीमा हुन्छन् । तिनलाई आकर्षित गर्न विभिन्न उपाय अपनाउन सकिन्छ । निजगढमा लगानी ल्याउन पनि बुट मोडलको अवधारणा अघि सारिएको हो । भारतीय अर्बपति गौतम अडानीको अडानी समूहले यसमा चासो देखाएको छ । ऋण लिएर निर्माण गरिएका पोखरा र गौतम बुद्ध (भैरहवा) विमानस्थल सञ्चालन हुन सकेका छैनन् अर्थात् त्यहाँबाट अन्तरराष्ट्रिय व्यावसायिक उडान हुन सकेको छैन । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलसहित तीन विमानस्थलको सञ्चालन र निजगढ अन्तरराष्ट्रिय विमानस्थल निर्माणमा निजीक्षेत्रलाई ल्याउन सरकारले निर्णय गरेको हो । प्राधिकरणले चारओटा विमानस्थल सार्वजनिक निजी साझेदारी (पिपिपी) मोडलमा सञ्चालन गर्न दिने प्रस्ताव संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाएको छ । मन्त्रिपरिषद्बाट यो प्रस्ताव पारित भएमा प्रक्रिया बढ्ने देखिन्छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले अडानी समूहले चासो दिएकाले उसलाई चारैओटा विमानस्थलको जिम्मा दिने बताएका छन् । भाइब्रेन्ट गुजरात सम्मेलनमा सहभागी हुन पुगेका अर्थमन्त्रीले अडानीसँग भेटसमेत गरेको समाचार आएको छ । वैशाखमा हुने सम्मेलनमा अडानीसँग यस सम्बन्धमा सम्झौता गर्ने तयारीमा सरकार रहेको पनि समाचार आएको छ । यद्यपि यो त्यति सहज भने देखिँदैन । द्रुतमार्ग भारतीय कम्पनीलाई दिन लाग्दा विरोध भएजस्तै अडानीलाई विमानस्थल जिम्मा दिँदा विरोध झनै बढी हुने देखिन्छ ।  विश्वभरि नै विकास निर्माण र व्यापार पहिलो प्राथमिकतामा पर्ने गरेको छ । तर, नेपालमा भने विकास निर्माणसँग भन्दा पनि स्वार्थ र भावनाको राजनीति बढी छ । जहाँ भावनाको राजनीति बढी हुन्छ त्यहाँ राष्ट्रियताको कुरा चर्कोसँग उठाइन्छ । जहाँ राष्ट्रियता मात्रैको कुरा हुन्छ त्यहाँ तानाशाही शासनको उदय हुने बाटो खुल्छ । विश्व इतिहासले यस्तै देखाएको छ । नेपालमा पनि विकासका लागि तानाशाही शासन चाहिन्छ भन्दै एकथरी कुर्लने गर्छन् । तिनको तर्क नै विरोधाभासी छ । एकातिर विकासका लागि तानाशाही शासनको समर्थन गर्छन् अर्कातिर त्यसका लागि खास खास देशबाट आउने सहयोग र ती देशका कम्पनीहरूले गर्ने कामको आँखा चिम्लेर विरोध गर्ने गर्छन् । यो प्रवृत्ति घातक छ । सरकार बलियो भए तथा सबै दल र जनताको एउटै आवाज हुने हो भने विदेशी कम्पनीलाई काम गर्न दिँदा समस्या हुन्न । तर, जनता विभाजित हुँदा कुनै पनि देशले सरकारलाई विश्वास गर्दैन र तिनीहरू आन्तरिक राजनीतिमा खेल्न उद्यत हुन्छन् ।  बुट मोडलमा निजगढ विमानस्थल बनाउन दिँदा त्यसका लागि मात्रै कुनै कम्पनी नआउन सक्छ किनभने यो बनेर सञ्चालनमा आई मुनाफा कमाउने निकै वर्ष कुर्नुपर्ने हुन्छ । त्यसो हुँदा बाँकी तीनओटै विमानस्थल सञ्चालनको जिम्मा पनि दिन सके निजगढ बनाउने बाटो खुल्छ भन्ने सरकारी सोच पाइन्छ । तर, यो सोच निकै चुनौतीपूर्ण छ । नेपालमा सन्धिसम्झौताको भाषा बुझेर त्यसअनुसार बुँदा राख्न सक्ने जनशक्ति छैन । त्यस्तै वार्ताको टेबलमा बसेर नेगोसिएशन गर्न सक्ने सामथ्र्य पनि नेपालको निकै कमजोर छ । त्यसैले धेरै देश र कम्पनीहरूसँग भएका सम्झौता नेपालका लागि घाँडो बनेका छन् । त्यसैले यसमा पनि निकै गम्भीर हुन आवश्यक छ । विमानस्थल बनाउने प्रलोभनमा परेर भोलि नेपालले अन्य स्वार्थ गुमाउने अवस्था नआओस् भन्नेमा सतर्क हुन जरुरी छ । नेपालका विमानस्थलको व्यवस्थापन तथा निर्माणमा चासो राखेको अडानी समूहले भारतका सातओटा अन्तरराष्ट्रिय विमानस्थलको व्यवस्थापन हेर्दै आएको बताइन्छ । अडानी समूहको अडानी एयरपोर्ट होल्डिङ्स लिमिटेडले भारतको मुम्बईमा रहेको छत्रपति शिवाजी महाराजा विमानस्थल, सरदार वल्लभ भाइ पटेल विमानस्थल, लोकप्रिय गोपीनाथ बोरदोलोई विमानस्थल, जयपुर विमानस्थल, चौधरी करणसिंह विमानस्थल, मंगालुरू विमानस्थल र थिरुवन्थपुरम् अन्तरराष्ट्रिय विमानस्थलको व्यवस्थापन गर्दै आएको छ । त्यसो हुँदा पोखरा र भैरहवा विमानस्थलमा भारतीय उडान सम्भव हुन सक्छ । अडानी समूह भारतको सत्तापक्षसँग निकै नजिक रहेको बताइन्छ । अहिले भारतले जेजस्ता तर्क गरेर नेपालको पश्चिम हवाई सिमानाबाट नेपाल प्रवेश विन्दु दिन आनकानी गरिरहेको छ । अडानीले यसको जिम्मा लिए यसको समाधान पनि हुने आशा गर्न सकिन्छ । गौतम बुद्ध र पोखरा विमानस्थलबाट अन्तरराष्ट्रिय उडान नहुँदा बारामा निर्माण गर्न खोजिएको निजगढ अन्तरराष्ट्रिय विमानस्थलको आवश्यकता औचित्य पुष्टि हुन सकेको छैन । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको राम्रो व्यवसाय भएकाले त्यसलाई देखेर अन्य विमानस्थलमा पनि लगानीकर्ता आउने अपेक्षा सरकारले गरेको देखिन्छ । तर, २०६९ सालमा सरकारले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको व्यवस्थापन भारतीय कम्पनीलाई दिने तयारी गरेपछि त्यसका विरुद्धमा परेको रिटमा सर्वोच्च अदालतले रोक लगाएको थियो । सरकारले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको स्तरोन्नति, सञ्चालन र मर्मतसम्भारको जिम्मेवारी भारतीय कम्पनी आइए एन्ड एफएसलाई दिने तयारी गरेको थियो । विनाप्रतिस्पर्धा भारतीय कम्पनीलाई दिन लागिएकाले सर्वोच्चले त्यसलाई रोकेको हो । अहिले ग्लोबल टेन्डर आह्वान गरेर त्यसमा आउने कम्पनीलाई यसको जिम्मा दिने तयारी गरेको देखिन्छ । त्यसो त भारतले नेपालको अन्तरराष्ट्रिय विमानस्थलमा कुनै न कुनै प्रकारले उपस्थिति खोजिरहेको हो कि भन्ने पनि देखिन्छ । त्यसकै कडीमा अडानी समूह आउन लागेको हो भने त्यसमा गम्भीर विश्लेषण पनि जरुरी देखिन्छ । पूर्वाधार निर्माणमा विद्यमान कानूनका धेरै प्रावधानले तगारो हालेको कुरामा सबै सहमत देखिन्छन् । त्यसैले यसको समाधानका लागि सनसेट लको आवश्यकता देखिएको छ । सनसेट लले कुनै आयोजना निर्माण अवधिभरका लागि केही कानून खारेज गर्न सक्छ । आयोजना अवधि भरमा मात्रै सक्रिय रहने गरी कानून बनाएर लागू गर्न सकिन्छ ।  निजगढ विमानस्थल किन आवश्यक ?  निजगढ विमानस्थलको ५० वर्षे गुरुयोजनाका साथ तयार भएको हो । पहिलो चरणमै ठूला जहाज अवतरण गर्न सक्ने धावनमार्ग बनाइने, वार्षिक ९० लाख यात्रु ह्यान्डलिङ क्षमता भएको विमानस्थल बनाउने योजना रहेको छ । यो विमानस्थल पाँच चरणमा पूरा हुने सरकारी योजना छ । सन् २०८० सम्म चारओटा धावनमार्ग, १० हजार वर्गफिटको टर्मिनल र वार्षिक १५ करोड यात्रु ह्यान्डलिङ क्षमताको बनाइने सरकारी लक्ष्य रहेको देखिन्छ । पहिलो चरणमा ४५ सय मीटर लामो र ६० मीटर चौडाइको धावनमार्ग बनाइनेछ । निजगढमा पहिलो चरणमै विश्वका ठूला प्यासेन्जर तथा कार्गो विमानहरू अवतरण हुन सक्छ । पहिलो चरणको निर्माण गर्न करीब २ खर्ब ३ अर्ब लाग्ने गुरुयोजनामा उल्लेख छ । यति ठूलो विमानस्थल किन चाहियो भन्ने प्रश्न अस्वाभाविक होइन । नेपालजस्तो सानो मुलुकमा विश्वमै गनिने गरी ठूलो विमानस्थल बनाउन आवश्यक देखिँदैन पनि । पहिलो चरणपछि आवश्यक परेमा पनि विमानस्थल विस्तार गर्ने नीति लिनुपर्छ । नेपाल भूपरिवेष्टित मुलुक भएकाले कार्गो विमान अवतरण गर्न सक्ने विमानस्थल बनाउन आवश्यक छ ।  सनसेट लको आवश्यकता यति ठूलो विमास्थल बनाउने जिम्मा जसलाई दिए पनि विद्यमान कानूनका धेरै दफा र उपदफा खारेज गर्नुपर्ने हुन्छ । पूर्वाधार निर्माणमा विद्यमान कानूनका धेरै प्रावधानले तगारो हालेको कुरामा सबै सहमत देखिन्छन् । त्यसैले यसको समाधानका लागि सनसेट लको आवश्यकता देखिएको छ । अहिले भारतले विदेशी लगानी ल्याउन विभिन्न कानूनका ६० हजार दफालाई खारेज गरेको छ । सनसेट लले कुनै आयोजना निर्माण अवधिभरका लागि केही कानून खारेज गर्न सक्छ । अर्को कुनै निर्णय नभएमा त्यो अवधिपछि खारेज कानून जीवित हुन्छ । नयाँ आवश्यकतालाई सम्बोधन गर्न पुरानो कानून बाधक हुन्छ । त्यस्ता कानून केही समयका लागि खारेज नगरे पूर्वाधार निर्माणमा सधैं अवरोध भइरहन्छ । त्यसैले नेपालमा सनसेट ल आवश्यक छ भनी निजीक्षेत्रले आवाज उठाएको धेरै भइसकेको छ ।  सनसेट लले नयाँ बन्ने कानूनको लागू हुने मिति तय गर्छ । समय किटेर निश्चित अवधिका लागि लागू हुने भएकाले कसैलाई तत्काल ठूलो फाइदा र कसैलाई तत्काल ठूलो घाटा हुने अवस्थालाई यसले रोक्न सक्छ । ठूला परियोजनाका लागि सनसेट ल ल्याउन ढिला भइसकेको छ । यस्तो कानून बनेमा विशिष्ट परियोजनालाई प्राथमिकीकरण गर्न सजिलो हुन्छ । कुन कुन आयोजना विशेष छन् तिनलाई मात्रै लागू हुने गरी सनसेट ल बनाइनु आवश्यक छ । कसैले पनि नोक्सान बेहोर्न लगानी गर्दैन । बुट मोडलमा बनेका आयोजनाहरू निश्चित अवधिपछि सरकारको स्वामित्वमा आउँछ । जलविद्युत् आयोजनाको हकमा पनि यस्तै व्यवस्था छ । त्यसैले यस्ता पूर्वाधारमा लगानीकर्तालाई विश्वस्त पार्न सनसेट ल जरुरी हुन्छ । यस्तो कानून सम्बद्ध आयोजना पूरा नहोउन्जेलका लागि सक्रिय रहन्छ र त्यसपछि यो निष्क्रिय बन्छ । १० वर्षमा १५ हजार मेगावाट बिजुली निकाल्ने राष्ट्रिय लक्ष्य पूरा गर्ने हो भने सनसेट ल बनाएर तमाम अवरोध हटाउनुपर्छ । अहिले भारतले यस्तो कानून बनाएर दु्रगमार्गबाट आयोजना सम्पन्न हुने बाटो खुला गरेको छ । नेपालले पनि त्यस्तै नगरी हुँदैन ।  पूर्वाधार निर्माणका लागि जमिन चाहिन्छ । अन्य तयारी पनि चाहिन्छ । तर, नेपालमा यस्तो तयारी नगरी टेन्डर आह्वान हुन्छ । त्यसो हुँदा तयारीमै समय बित्छ । त्यस्तै डिटेल इन्जिनीयरिङ पनि हुनुपर्छ । जग्गा अधिग्रहणको कुरा पछि उठ्छ । जग्गा अधिग्रहण गर्दा वास्तविक मूल्यभन्दा निकै बढाइन्छ । बूढीगण्डकी आयोजनामा गरिएको मुआब्जा वितरण हेर्दा यो स्पष्ट हुन्न्छ । यसले पूर्वाधार निकै महँगो बनाउँछ । त्यसैले समयमै आयोजना पूरा गर्न बलियो कानून चाहिन्छ । यसका लागि सनसेट ल नै सर्वोत्तम उपाय देखिन्छ । आयोजना सम्पन्न भएपछि त्यो कानून स्वत: निष्क्रिय हुन्छ । अडानी ग्रूपले बनाओस्, स्वीस कम्पनी वा जर्मनी कम्पनीले बनाओस्, निजगढ विमानस्थल बनाउन र अन्य विमानस्थल सञ्चालन गर्न विद्यमान कानूनका आधारमा सहज छैन । सरकारले कानूनमा सुधार नगरी कुनै सम्झौता गरेछ भने पनि त्यो काम पक्कै अगाडि बढ्दैन । अहिले अडानी ग्रूपले पनि यहाँको कानूनी र प्रशासनिक पक्षको अध्ययन गरिरहेको बताइन्छ । यसले नेपालको जलविद्युत्मा पनि चासो राखेको समाचार आएको छ ।  त्रिभुवन विमानस्थलको नाफामा आँखा कि दूरदृष्टिको लगानी ?  नवनिर्मित दुई विमानस्थल पोखरा अन्तरराष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आए पनि अन्तरराष्ट्रिय उडान हुन सकेको छैन । भारतलाई नमनाई यी दुवै अन्तरराष्ट्रिय विमानस्थल राम्ररी सञ्चालन हुने छाँटकाँट छैन । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल भने अर्बाैं रुपैयाँ नाफामा छ । यसले प्रतिवर्ष ५ अर्बभन्दा बढी नाफा गरेको देखिन्छ । नेपालको अन्तरराष्ट्रिय उडान यहीँबाट मात्र भएकाले यसको नाफा बढी नै रहने देखिन्छ । अडानी साँचिकै दूरदृष्टिका साथ आएका हुन् वा तत्काल त्रिभुवन विमानस्थलको नाफामा आँखा लगाएर आएका हुन् स्पष्ट छैन । तर, कुनै पनि व्यवसायीले तत्कालको नाफामात्र हेर्दैन । त्यसैले शंका उठे पनि यही हो भन्न सकिँदैन । नेपालले यसबारे राम्ररी विश्लेषण गर्न जरुरी छ । भावनामा बगेर ठीक बेठीक भन्नुभन्दा पनि आर्थिक लागत र लाभ तथा अन्य रणनीतिक पक्षमा पनि ध्यान जानु जरुरी छ । नेपालमा ऋणबाट बनेका विमानस्थलहरू सञ्चालन खर्चसमेत घाटामा रहेका छन् । जसका लागि अनुभवी तथा योग्य साझेदार ल्याउन उपयुक्त नै हुन्छ । तर, जहिले पनि सम्झौता गर्दा पर्याप्त तयारी नभई नेपाल ठगिइरहेको सन्दर्भ यहाँनेर बिर्सनु हुँदैन । पहुँच र प्रभावका आधारमा जिम्मा दिइयो भने त्यसले दूरगामी नराम्रो प्रभाव पर्छ । अफ्रिकी सिमेन्ट जायन्ट डंगोटे नेपाल आउन लाग्दा नेपालीहरूको स्वार्थले उनको बाटो रोकियो । अन्य लगानीमा पनि यस्तै नहोस् भन्नेमा ध्यान जानुपर्छ । वास्तविकता के हो भने नेपालले आफ्नो लगानीमा निजगढ विमानस्थल बनाउन सक्दैन । त्यसो भए यो विमानस्थल निर्माणको तयारी यहीँ रोक्नुपर्छ । त्रिभुवन विमानस्थललाई नै कसरी विस्तार गर्ने हो त्यतातिर सम्पूर्ण शक्ति लगाउनुपर्छ । त्यसो गर्दा पनि दूरकालका लागि यो विमानस्थल अपर्याप्त नै हुन्छ । भौगोलिक अवस्थाले पनि ठूला विमान अवतरण गर्न समस्या नै छ । त्यसैले निजगढ आवश्यक देखिन्छ । र, यो आवश्यक नै हो भने विभिन्न विकल्पमा विदेशी कम्पनीलाई निर्माणको जिम्मा दिनु उपयुक्त हुन्छ । तर, नेपालले जोसँग सम्झौता गरे पनि त्यो पारदर्शी र नेपालको हितमा हुनुपर्छ ।  लेखक पर्यटन व्यवसायी हुन् ।

सम्बन्धित सामग्री

प्रस्तावित क्षेत्रके छेउछाउमा निजगढ विमानस्थल निर्माण हुने प्रम देउवाको आश्‍वासन

बारा । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रस्तावित क्षेत्रभन्दा केही ’round सारेर निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुने बताएका छन् । बाराको निजगढमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्नुपर्ने माग राखेर काठमाडाैं पुगेको निजगढ सार्वजनिक सरोकार समितिकाे ज्ञापनपत्र बुझ्दै देउवाले टाँगियावस्तीको हाल प्रस्तावित स्थानभन्दा केही पूर्वको स्थानमा सारेर भए पनि सरकारले निजगढ विमानस्थल बनाएरै छाडने बताएका हुन् । देउवाले […] The post प्रस्तावित क्षेत्रके छेउछाउमा निजगढ विमानस्थल निर्माण हुने प्रम देउवाको आश्‍वासन appeared first on राजधानी राष्ट्रिय दैनिक.

निजगढ विमानस्थल निर्माणमा पहल गर्न आग्रह

निजगढ सार्वजनिक सरोकार समितिले निजगढ विमानस्थल निर्माण गर्ने वातावरण बनाई दिनका लागि लोकतान्त्रिक समाजवादी पार्टीसँग आग्रह गरेको छ ।  निजगढ सार्वजनिक सरोकार समिति र स्वतन्त्र युवा तथा विद्यार्थी सरोकार समितिले आज लोसपाका शीर्ष नेताहरुलाई ज्ञापनपत्र बुझाउँदै सो आग्रह गरिएको हो । जेठ १२ गते निजगढ विमास्थल बारे सर्वोच्च अदालतबाट भएको निर्णयको पुनरावलोकन गराएर वा अर्को कुनै विकल्पमार्फत निजगढ विमानस्थल निर्माणमा सहयोग पुर्याउन आग्रह गरिएको छ । निजगढ विमानस्थल निर्माण गर्न यति धेरै जम

निजगढ विमानस्थल बन्छ : अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्माले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने विषयमा सरकार स्पष्ट रहेको बताउनुभएको छ । सर्वोच्च अदालतले सो विमानस्थल निर्माणको सम्पूर्ण प्रक्रिया रोक्न आदेश दिइसकेको छ । वीरगञ्ज उद्योग वाणिज्य सङ्घको ४६औँ साधारणसभालाई आज सम्बोधन गर्दै मन्त्री शर्माले सो धारणा सार्वजनिक गर्नुभएको हो । “निजगढ विमानस्थल बनाउनुपर्छ, बन्छ । यो मेरो (जनार्दन शर्मा)को प्रतिबद्धता […]

कानुन परिवर्तन गरेर भएपनि निजगढ विमानस्थल बनाउनुपर्नेमा नेता रावलको जोड

नेकपा (एमाले)का सांसद भीम रावलले कानुन परिवर्तन गरेर भएपनि निजगढ विमानस्थल निर्माण गर्नुपर्ने बताएका छन्। सोमबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै उनले कुनै पनि हालतमा निजगढ विमानस्थल निर्माण हुनुपर्ने बताएका...

निजगढ विमानस्थल निर्माण कार्य अघि बढाउन निर्देशन

काठमाडौं, १६ जेठ । संसदीय समितिले निजगढ विमानस्थल निर्माण कार्य अघि बढाउन सरकारलाई निर्देशन दिएको छ । आइतबार बसेको संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले कानुनी अड्चन हटाएर निर्माण कार्य अघि बढाउन निर्देशन दिएको हो । सर्वोच्च अदालतले निजगढ विमानस्थल निर्माण नगर्न आदेश दिएको थियो । राष्ट्रिय हित, सुरक्षा र आर्थिक विकासका दृष्टिबाट अत्यावश्यक निर्माणाधीन निजगढ अन्तर्राष्ट्रिय […]

कानुनी अड्चन हटाएर निजगढ विमानस्थल निर्माण अघि बढाउन संसदीय समितिको निर्देशन

काठमाडौँ । संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले कानुनी अड्चन हटाएर निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अघि बढाउन निर्देशन दिएको छ । सर्वोच्च अदालतको बृहत् पूर्ण इजलासले हालै मात्र निजगढ विमानस्थल निर्माण नगर्न आदेश दिएको थियो । तर आइतबार बसेको समिति बैठकले कानुनी बाधा हटाएर विमानस्थल निर्माण शीघ्र अघि बढाउन सरकारलाई निर्देशन दिएको छ ।