आठ वर्ष बितिसक्दा पनि भूकम्पले भत्काएका संरचनाको पुनर्निर्माणको काम अझै सकिएको छैन । निजी आवाससँगै स्वास्थ्य संस्था, सरकारी भवन, पुरातात्त्विक सम्पदा जीर्णोद्धार तथा गुम्बा पुनर्निर्माण, शिक्षण संस्था र एकीकृत बस्ती विकासको काम अझै टुंगिएको छैन । ११.३६ प्रतिशत निजी आवास पुनर्निर्माणको काम बाँकी नै छ । रकम लगेकाहरूले निर्माणको काम गरेका छैनन् । चाँडो निर्माण सक्न सहरी विकास मन्त्रालयअन्तर्गत केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन तथा आवास) ले ताकेता गरिरहे पनि आलटाल भइरहेको पाइएको छ ।