नेपाल राष्ट्र बैंकले लिएको कसिलो मौद्रिक नीतिका कारण ब्याजदर बढेकोमा व्यवसायीहरू आक्रोशित भइरहेको तथा यही नीतिका कारण अर्थतन्त्रका अन्य क्षेत्रमा समेत समस्या आइरहेका बेला अन्तरराष्ट्रिय मुद्राकोषले कसिलो मौद्रिक नीतिको प्रशंसा गरेको छ । यसबाट नेपालले अन्तरराष्ट्रिय मुद्राकोषबाट प्राप्त गर्ने एक्सटेन्डेड क्रेडिट फ्यासिलिटीअन्तर्गतको सहयोगको तेस्रो किस्ता प्राप्त हुने भएकाले नेपाल कोषको भनाइबाट उत्साहित देखिएको छ । तर, राष्ट्र बैंकले लिएको नीतिको गम्भीर असर जनताले भोग्नु परिरहेको छ ।
विद्यमान थुप्रै समस्या समाधान गरेर निकासको बाटो पहिल्याउन सके मात्र केन्द्रीय बैंकले लिएको नीति सकारात्मक र उपयोगी छ भन्न सकिन्छ । केही पक्ष सकारात्मक हुँदैमा समग्र नीति नै ठीक छ भन्न सकिँदैन ।
सरकारले आयातमा लगाएको प्रतिबन्ध र राष्ट्र बैंकले ल्याएको कसिलो मौद्रिक नीतिका कारण विदेशी विनिमय सञ्चितिमा सुधार आएको छ । यसको प्रशंसा मुद्राकोषले गरे पनि नेपालको अर्थतन्त्रमा अझै समस्या छ । नेपालको प्रयासले गर्दा पाकिस्तान तथा श्रीलंका बन्नबाट जोगिएको भन्ने तर्क सरकारी अधिकारीहरूको रहेको पाइन्छ । तर, नेपाल र पाकिस्तानको अवस्था अहिले पनि करीब उस्तै उस्तै रहेको छ भन्न सकिन्छ । पाकिस्तान संकटमा पर्नुका कारण त्यहाँ आएको ठूलो बाढी हो जसले अर्बौं रुपैयाँ बराबर क्षति पुर्याएको थियो । बाढीले एकैचोटि पाकिस्तानको ठूलो भाग डुबानमा मात्र परेन, जनधनको व्यापक क्षति भयो । नेपालमा पनि त्यस्तै विनाशकारी प्राकृतिक विपत्ति आउने हो भने यहाँ पनि त्यस्तै संकट आउन सक्छ । तर, नेपालको भौगोलिक बनोटका कारण मुलुकभर यस्तो विपत्ति एकैपटक आउन सक्दैन । कुनै भूभागमा मात्रै विपत्ति आउने गरेको इतिहास छ । पाकिस्तानजस्तो दैवी प्रकोप आउँदा जसरी ठूलो जनसंख्या र क्षेत्र प्रभावित हुन्छ, त्यसरी नै नेपाल प्रभावित हुँदैन । मधेशकै कुरा गर्ने हो भने पनि बाढीमा एकैचोटि पूर्वदेखि पश्चिमसम्म डुबानमा परेको उदाहरण कमै छ । अतः नेपालले लिएका नीति र कार्यान्वयनका कारण आर्थिक अवस्था राम्रो भएको भन्ने कोषको भनाइ पूर्णरूपमा सत्य छ भन्न सकिँदैन । नेपालको अवस्था थप बिग्रन नदिन भौगोलिक बनावटले पनि काम गरेको छ ।
राष्ट्र बैंकले लिएको नीतिका कारण आर्थिक अवस्था राम्रो भएको त्यति बेला भन्न सकिन्थ्यो जब नेपालमा उत्पादन वृद्धि हुन्थ्यो । उत्पादन वृद्धि हुने नीतिलाई प्रोत्साहन नगर्ने अनि आयातमा कडाइ गरेकै कारण प्रशंसा पाउनुमा सहमत हुन सकिँदैन । नेपालको अहिलेको आवश्यकता नयाँ नयाँ सोच र योजना ल्याएर उत्पादन वृद्धि गरी आत्मनिर्भर अर्थतन्त्रको बाटोमा अघि बढ्नु हो । तर, सरकारी नीति उत्पादनलाई सहयोग गर्ने खालको छैन भन्ने व्यापक गुनासो छ ।
राष्ट्र बैंकको मौद्रिक नीतिकै कारण अर्थतन्त्र सकसमा परेको दाबी गर्नेको समूह ठूलै छ । त्यही भएरै व्यवसायीहरू आत्तिएर आत्महत्याको बाटो रोज्न बाध्य छन् । बैंकहरूको खराब कर्जा बढिरहेको छ । अर्थतन्त्रमा संकुचन आउँदा लघुवित्तका ऋणीहरूसमेत प्रभावित भएका छन् । त्यस्तै उपभोगमा समेत संकुचन आएको छ जसका कारण उद्योगहरूले उत्पादन कटौती गर्नु परिरहेको छ भने बजारबाट उधारो उठ्न सकेको छैन । औषधिजस्तो वस्तुको मागसमेत घट्नु भनेको जनताको आर्थिक अवस्था निकै खस्किनु हो । त्यसैले राष्ट्र बैंकले जुन नीति लिएको छ त्यो नीतिको मारमा ठूलो जनसंख्या परिरहेको छ । विद्यमान थुप्रै समस्या समाधान गरेर निकासको बाटो पहिल्याउन सके मात्र केन्द्रीय बैंकले लिएको नीति सकारात्मक र उपयोगी छ भन्न सकिन्छ । केही पक्ष सकारात्मक हुँदैमा समग्र नीति नै ठीक छ भन्न सकिँदैन ।
कसिलो मौद्रिक नीतिको प्रशंसाले पक्कै पनि कोषले सहयोगको किस्ता रकम निकासा गर्ने बाटो भने खुलेको छ । यी सबै समस्याको उपलब्धि अहिलेलाई यत्ति मात्रै हो भन्न सकिन्छ । समग्र सुधारका लागि भने थुप्रै काम गर्नुपर्ने छ, जसका लागि अब पनि गम्भीर नहुने हो भने समय खेर फाल्नुबाहेक केही हुने छैन ।