काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले बिहीवार चार कम्पनीको शेयर मूल्य समायोजन गरेको छ ।
नेप्सेले साना किासान विकास लघुवित्त, साल्ट ट्रेडिङ कर्पोरेशन, सांग्रिला डेभलपमेन्ट बैंक र आशा लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य समायोजन गरेको हो । यी चार ओटै कम्पनीका आज अर्थात् फागुन २५ गतेसम्म कायम शेयरधनीमात्र साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य छन् ।
नेप्सेले साना किसान विकास लघुवित्तको बिहीवार अन्तिम कायम शेयर मूल्य रू. १ हजार ११९ को आधारमा २६ प्रतिशत बोनस शेयरपछिको मूल्य रू. ८८८ दशमलव १० तोकेको छ ।
त्यस्तै साल्ट ट्रेडिङको अन्तिम कायम शेयर मूल्य रू. ४ हजार ३३५ को आधारमा १० प्रतिशत बोनस शेयरपछिको मूल्य रू. ३ हजार ९४० दशमलव ९१ तोकिएको छ । सांग्रिला डेभलपमेन्ट बैंकको बिहीवार कायम अन्तिम शेयर मूल्य रू. ३३८ को आधारमा ८ दशमलव ५३४ प्रतिशत बोनस शेयरपछिको मूल्य रू. ३११ दशमलव ४२ तोकिएको छ ।
त्यसैगरी नेप्सेले आशा लघुवित्तको बिहीवार कायम अन्तिम शेयर मूल्य रू. ८६० को आधारमा १४ दशमलव २८ प्रतिशत बोनस शेयरपछिको मूल्य रू. ७५२ दशमलव ५० तोकेको छ । यही मूल्यको आधारमा यी चार ओटै कम्पनीको शेयर आइतवार कारोबारमा आउनेछ ।