कास्की । कोरोना संक्रमण बढ्दै जाँदा अस्पतालहरूमा अत्यावश्यक अक्सिजनको अभाव हुन थालेपछि पोखरामा ‘अक्सिजन बैंक’ स्थापना गरिएको छ । पोखराका क्रियाशील विभिन्न सात रोटरी क्लबले गण्डकी अटो मेकानिकल वर्कशप एशोसिएशनसँगको सहकार्यमा अक्सिजन बैंक स्थापना गरेका हुन् ।
अक्सिजन अभावमा कोही पनि बिरामी उपचारबाट वञ्चित हुन नपरोस् भन्ने हेतुले पछि फिर्ता गर्ने शर्तमा ग्यास सिलिण्डर कलन गर्ने र आवश्यक क्षेत्रमा तत्कालै पुु¥याउनेगरी अक्सिजन बैंक स्थापना गरिएको कार्यक्रम संयोजक मीनु कुँवर श्रेष्ठले बताइन् । ‘अटो मेकानिकल वर्कशपहरूमा दुई हजार हाराहारीमा अक्सिजन सिलिण्डर रहेकाले ती सिलिण्डर अक्सिजन ग्यास उद्योगमा लगेर भरिने र आवश्यकताका आधारमा अस्पतालहरूमा उपलब्ध गराउने गरी अक्सिजन बैंक स्थापना गरिएको हो,’ उनले बताइन् ।
कार्यक्रममा प्रचार संयोजक अर्जुन खनालले आपत्कालीन अवस्थामा कसैलाई पनि अनावश्यक अक्सिजन ग्यास सिलिण्डर भण्डारण नगर्न आग्रह गर्दै अक्सिजन सिलिण्डर उपलब्ध गराएर आफूहरूको अभियानमा साथ दिन आग्रह गरेका छन् । ‘अक्सिजनको अभावमा कोरोनाका गम्भीर बिरामीले मृत्युवरण गर्न नपरोस् भनेर लागिपरेका छौं,’ उनले भने, ‘कोही कसैसँग अक्सिजन ग्यास सिलिण्डर छ भने हामीलाई उपलब्ध गराएर कसैको जीवन बनाउने अभियानमा साथ दिन आग्रह गर्छौं ।’
रोटरी क्लब अफ पोखरा, रोटरी क्लब अफ लेकसाइड, रोटरी क्लब अफ न्यूरोड, रोटरी क्लब अफ अन्नपूर्ण, रोटरी क्लब अफ फिस्टेल, रोटरी क्लब अफ मिड टाउन र रोटरी क्लब अफ पोखरा लेखनाथले अक्सिजन बैंक स्थापनाको अभियान शुरू गरेका हुन् । गण्डकी प्रदेशको राजधानी शहरसमेत रहेको पोखराका अस्पतालमा पछिल्लो समय अक्सिजनको माग बढ्दो छ । अक्सिजन प्लान्ट रहे पनि सिलिण्डर अभाव भएपछि स्थानीय प्रशासन, प्रहरी तथा जनप्रतिनिधिहरू सिलिण्डर खोजीमा जुटेका छन् । रासस