पदबाट बाहिरिन लागेका न्यूयोर्कका गभर्नर डेभिड प्याटर्सनले टिकट खरीद नगरी एउटा खेल प्रतियोगिता हेरेकोमा भारी मोल चुकाउन परेको छ । गतवर्ष न्यूयोर्कको व्यावसायिक बेसबल क्लबले आयोजना गरेको प्रतियोगितामा पाँचओटा टिकट नि:शुल्क लिएको अभियोगमा गभर्नर प्याटर्सनलाई ६२ हजार अमेरिकी डलर जरीवाना गरिएको छ । न्यू्योर्क राज्यको सार्वजनिक आचार आयोगले उनलाई त्यति रकम जरीवाना गरेको हो । गभर्नर प्याटर्सनले आफू, आफ्नो छोरो र छोराको एउटा साथीका साथै दुई जना आफ्ना सहयोगीले फोकटमा पाँचओटा टिकट लिएर बल्र्ड सिरिज हेरेका थिए । सार्वजनिक पदको अनुशासन उल्लंघन गरी दबाबमूलक (लब्बिइष्ट) संस्थाबाट उपहार ग्रहण गरेकाले उनलाई दण्ड गरिएको आयोगले बताएको छ । दण्डको रकम ६२ हजार १ सय २५ डलर भए पनि उनलाई किन ६२ हजार मात्र तिर्न लगाइएको हो भन्नेबारे भने आयोगले केही उल्लेख गरेको छैन । गभर्नर प्याटर्सनले भने आफू गभर्नरको हैसियतमा उद्घाटन समारोहमा सरिक भएको तथा छोरा र उसका साथीको टिकटको रकम तिरेको दाबी गरेका छन् ।
वर्ष ६, अंक ९९, बुधवार, १४ पुस, २०६७