काठमाडौं । मापदण्ड विपरीत सञ्चालन गरिएका १९ वटा औषधि पसल निलम्बनमा परेका छन् । औषधि व्यवस्था विभागले काठमाडौं उपत्यकाभित्र सञ्चालित १९ वटा औषधि पसललाई असोज महिनामा निलम्बन गर्दै कारबाही गरेको हो ।
विभागका महानिर्देशक नारायणप्रसाद ढकालले औषधि ऐन–२०३५ को दफा २० को उपदफा ४ (क) बमोजिम सो पसलहरूलाई ४ देखि १५ दिनसम्म निलम्बन गरिएको जानकारी दिए । उनका अनुसार औषधि पसलको अनुगमनका क्रममा अधिकांश पसलले अनुमतिविना नै सञ्चालन गरेको तथा केहीमा म्याद सकिएको औषधि पाइएपछि कारबाही गरिएको हो ।
औषधि विक्रेता तथा वितरकले पसल तथा फार्मेसी औषधि व्यवस्था विभागमा दर्ता गराएर मात्र सञ्चालन गर्नुपर्ने प्रावधान रहेको छ । विभागले लुक्सी भेट फर्मा कोटेश्वरलाई १५ दिन निलम्बन गरेको छ । रासस