सर्लाहीको चुरेभेगमा यातायातका साधन ठप्प भएका छन्। शुक्रबार बिहानदेखि भारी वर्षा हुन थालेसँगै खोलाको बाटो बिग्रिएपछि चुरेभेगमा यातायातका साधन चल्न छाडेका हुन्। सडक सञ्जालमा नजोडिएको चुरेका दुर्गम बस्तीमा खोलाको बगर भएर जोखिमपूर्ण किसिमले बस, ट्याक्टर, जिपलगायतका सवारीसाधन सञ्चालन हुँदै आएका थिए। जिल्लाकै ‘कर्णाली’ भनेर चिनिने लालबन्दी नगरपालिका–१४, नारायण खोलामा शुक्रबार बिहानदेखि यातायातका साधन बन्द भएको बस व्यवसायीसमेत रहनुभएका वडाध्यक्ष छेनामसिंह घिसिङले जानकारी दिनुभयो। शुक्रबार राति भएको वर्षाले खोलाको बाटोमा थप क्षति गरेको उहाँले बताउनुभयो।