माघ १९, काठमाडौं। नेपालमा कोरोना संक्रमणबाट विगत २४ घण्टाको अवधिमा थप ३ हजार ६३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधवार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार सो अवधिमा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ ।
मन्त्रालयकी प्रवक्ता डा संगिता मिश्राले नियमित पत्रकार सम्मेलनका क्रममा उक्त अवधिमा ६ हजार ४९९ जनाको पीसीआर परीक्षण गर्दा २ हजार २०५ जना र ५ हजार ८३ जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार ४३२ जना गरी जम्मा ३ हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको बताइन् ।
यसैगरी उक्त अवधिमा ७ हजार ५५५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
कोरोना भाइरस संक्रमण दरमा कमी तर उच्च जोखिम कायम
केही दिनअघि देशभरि भएका सक्रिय संक्रमितको संख्या ९० हजार नाघेको थियो। दैनिक पुष्टि हुने संक्रमितको संख्या घटेको तथा पहिला फेला परेका संक्रमित निको हुने क्रम बढेकाले सक्रिय संक्रमितको संख्या घटेको हो।
गत साताभन्दा यो साता ११ दशमलव ८ प्रतिशतले कमी आएको भए पनि अझै संक्रमण दर ३४ प्रतिशत रहेको मन्त्रालयकी प्रवक्ता मिश्राले बताइन्।
मन्त्रालयका अनुसार हाल मुलुकभर ६९ हजार २९१ कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।
अहिले काठमाडौंमा मात्र ५०० भन्दा बढी संक्रमित र दुई ओटा जिल्लामा २०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन्।तर सामान्य लक्षण देखिएका मानिस नगएकाले संक्रमितको संख्या सरकारी तथ्याङ्कभन्दा बढी भएको विज्ञहरूको भनाइ छ।
विज्ञहरूका अनुसार नेपालमा अहिले अतिसंक्रामक ओमिक्रोन भेरिएन्टका कारण संक्रमण फैलिएको हो। प्रवक्ताका अनुसार २४ ओटा नमूनाको जीन सिक्वेन्सिङ गर्दा २१ ओटामा ओमिक्रोन र तीन ओटामा डेल्टा भेरिअन्ट देखिएको छ।
उनले स्वास्थ्य सुरक्षाका उपायहरू पालना गर्न अनुरोध गरिन्।
कहाँ बढे संक्रमित ?
मन्त्रालयका अनुसार अहिले काठमाडौं उपत्यकाको तीन ओटा जिल्लामा १ हजार १२३ जना संक्रमित फेला परेका छन्। अरू संक्रमित भने विभिन्न जिल्लामा भेटिएका हुन्।
तीमध्ये काठमाडौं जिल्लाका ८६८ जना, भक्तपुर जिल्लाका ८५ जना र ललितपुर जिल्लाका १७० जना संक्रमित हुन् ।