कविताको मानक संरचना यस्तै नै हुनुपर्छ भन्ने हुँदैन । कविताको विकास क्रममा धेरै नित–नवीनता प्रयोग हुँदै आएको छ । शास्त्रीय जड्तामा नै जकडिएको भए गोपालप्रसाद रिमाल, देवकोटा, भूपि शेरचन, मोहन कोइराला, कृष्णभुषण बल पनि कवि बन्न सक्दैन थिए । माधव घिमिरेले जनबोलीको लयलार्ई छन्दमा भाका सिंगारेको भए माधव घिमिरे हुने थिएनन् । जीवनका अनेक लय हुन्छन । भावनाका अनेक तालहरू हुन्छन् जीवनको प्रवाहमा गुन्जने सुसेली हुन्छन । तिनैलाई भाकामा टिपेर शब्द संयोजन गर्दा गीत, कविता बन्दछ । लक्ष्मीको कवितामा जीवनको लय छ,ताल, सुर छ र स्वाद पनि ।