काठमाडौं । काठमाडौं उपत्यकाको टेंगलमा शनिवार बालिकाहरुको सामुहिक कुमारी पूजा गरिएको छ । रक्तकाली युथ क्लब,टेंगलद्वा रा आयोजित उक्त पूजामा १२५ जना बालिकाहरुको सहभागिता रहेको थियो । प्रत्येक वर्ष जीवित देवी कुमारीलाई तुलजा भवानीका रुपमा पुजिने र सोही क्रममा इन्द्रजात्राको रथयात्रा समेत गरिंदै आएको छ । नेपाललगायतका दक्षिण एसियाली देशहरूमा बालिकाहरूलाई कुमारी देवीको रूपमा पूजा गर्ने परम्परा छ । नेवार समुदायका ईही (बेल विवाह) नगरेको २ देखि ८ वर्ष उमेर समूहका बालिकाहरुलाई कुमारीका रुपमा पूजा गर्ने प्रचलन रहेको छ । धेरै जसो बालिकाहरूलाई उनका अभिभावकले विशेष कुमारीको भेषभूषामा सजाएर पूजामा सहभागी गराएका थिए । यसरी पूजा गरेमा बालिकाहरूलाई रोग नलाग्ने र सुख शान्ति र समृद्धि प्राप्त हुने जनविश्वास रहेको छ ।
प्रत्येक बालिकाले उक्त पूजामा सहभागी हुन परिवारले ९९९ रुपैयाँ बुझाएका थिए । त्यसको साथै हरेक परिवारले उक्त पूजामा समावेश हरेक बालबालिकालाई आफनो इच्छाले सगुनको रुपमा मिठाई, चकलेट,जुस, कपीकलम, लुगा दिने चलन छ ।
तस्वीरहरु : सुनिल शर्मा / आर्थिक अभियान