विद्युत अभाव भएपछि उदयपुर सिमेन्ट उद्योगले उत्पादन बन्द गरेको छ । उद्योगलाई पूर्णरुपमा चलाउन ६ मेगावाट विद्युत आवश्यक पर्ने भएपनि हाल २ मेगावाट मात्र बिजुली आपूर्ति भएकाले उत्पादन बन्द भएको उदयपुर सिमेन्ट उद्योगका निमित्त प्रमुख गोपी न्यौपानेले जानकारी दिए ।आर्थिक वर्षको अन्तिम महिनामा उद्योगको उत्पादन बन्द हुँदा चालु आर्थिक वर्षमा २४ लाख बोरा सिमेन्ट उत्पादन गर्ने लक्ष्य पूरा नहुने देखिएको न्यौपानेले बताए । हालसम्म २१ लाख बोरा सिमेन्ट उत्पादन भइसकेको छ ।असार ९ गते लहानस्थित टावरमा चट्याङ परेपछि उद्योगमा विद्युत आपूर्ति बन्द भएको थियो । त्यसपछि सोलु करिडोरको लाइनबाट बिजुली तानेर लगिएको छ । तर सोलु करिडोरबाट २ मेगावाट मात्रै बिजुली पाएकाले उद्योग चलाउन नपुगेको हो । उदयपुर सिमेन्ट उद्योग पूर्ण सरकारी स्वामित्वको उद्योग हो ।