पछिल्लो समय नेपालमा महिला उद्यमशीलताको ‘इको सिस्टम’ बन्दै गएको छ । आत्मनिर्भरता एवं व्यावसायिक चेतको विकासले धेरै महिला स्वरोजगार उद्यमी बन्ने बाटोमा छन् । साथै महिला उद्यमशीलताको विविधीकरण र विशिष्टीकरण समेत हुँदै गएको छ, अर्थात् परम्परागत पेशा/ व्यवसाय मात्र नभई नयाँ र फरक उद्यम अँगाल्ने महिलाहरू पनि छन् । तिनै महिला उद्यमीमध्ये फेशन डिजाइनिङको क्षेत्रमा एउटा परिचित नाम हो– मिशु श्रेष्ठ । पारिवारिक रूपमै व्यावसायिक पृष्ठभूमि भएकी श्रेष्ठसँग फेशन डिजाइनिङ एवं गार्मेन्ट क्षेत्रमा उनको प्रवेश, यस क्षेत्रका अवसर, सम्भावना लगायत समसामयिक विषयमा आर्थिक अभियानका प्रधान सम्पादक मदन लम्सालले गरेको कुराकानीको सार :
तपाईंको पृष्ठभूमिबाटै शुरू गरौं । तपाईंको विद्यालय शिक्षा कहाँबाट भयो ? कसरी व्यवसायमा आउनुभयो ?
मेरो शैक्षिक यात्रा आदर्श विद्या मन्दिरबाट शुरू भएको हो । त्यसपछि पढ्नका लागि जर्मनी गएँ । फर्केर आएपछि बुवाआमाले चलाइरहनुु भएको व्यवसाय सूर्य कार्पेटमा लागेँ । अनि बिहे पनि भयो । बिहे भएको परिवार पनि व्यावसायिक नै थियो । ससुराको ट्राभल एजेन्सी (हिमालयन ट्राभल एण्ड टुर्स) थियो । ससुराले ‘आइमाई मान्छे भएर घरमा बस्नुहुन्न, अनावश्यक कुरा हुन्छ’ भन्दै बिहे गरेको तीन–चार हप्तामै मलाई आफ्नै अर्को व्यवसाय हिमालयन ऊडक्राफ्ट नामक कम्पनीमा काम लगाइदिनुभयो । मलाई त्यससम्बन्धी केही ज्ञान थिएन । तर काम गर्दा गर्दै केही सिकेँ, विशेषगरी त्यतिबेला म विक्री तथा बजार हेर्थेें । त्यो बेला हिमालयन ऊडक्राफ्ट चीनको मिङकालीन शैलीका फर्निचरका लागि प्रख्यात थियो । ती फर्निचरमा रोजऊडको प्रयोग हुन्थ्यो । मैले त्यहाँ तीन वर्ष काम गरें । त्यसैबीच ससुराले एउटा होटल बनाउन थाल्नुभयो र मलाई त्यसमा सघाउन भन्नुभयो । त्यो हो– अहिलेको र्याडिशन होटल । होटलसम्बन्धी पनि मेरो कुनै अनुभव थिएन, विस्तारै सिक्दै गरेँ । त्यहाँ इन्जिनियरका साथै इन्टेरियर डिजाइनरहरूसँग काम गर्दा गर्दै धेरै कुरा सिकें । मेरो जिम्मा काम तोकिएको समयमा भए नभएको हेर्ने थियो । होटलमा र्याडिशन ब्रान्ड ल्याउने सन्दर्भमा इन्टेरियरमा नेपालीपन चाहिन्छ भन्ने कुरा भयो । त्यसका लागि धेरै नेपाली कलाकृति संकलन गरेँ । अनि त्यहीँ काम गर्दै गएँ । होटलको उद्घाटनपछि मेरा ससुरा, श्रीमान्, देवर सबै जना होटलमा कार्यरत भएकाले म चाहिँँ विस्तारै मेरो माइतीकै पारिवारिक व्यवसायमै फर्किएँ । त्यति बेला सूर्य कार्पेट राम्रै हुँदै थियो । पश्मिना व्यवसाय पनि शुरू भएको थियो । खासगरी सल, स्टोलहरू बनाउँदै गयौं । २–३ वर्षपछि बाहिरका डिजाइनरहरूसँग भेटें । उहाँहरूले ‘निटवेयर्स’ बनाउने सल्लाह दिनुभयो । अनि हामीले उहाँले पठाएका नमूना अनुसार सामान बनायौं । यसरी धेरै कुरा सिकेँ ।
तपाईं एसएलसीपछि जर्मनी जानुुभयो । त्यहाँ कुन विषय कति पढेर आउनुभयो ?
त्यो बेला जाँचमा राम्रो अंक पाउनेबित्तिकै मेडिसिन, इन्जिनियरिङ पढ्ने भन्ने मात्र हुन्थो । म जर्मनी पढ्न जाँदा बुवाले पनि मेडिसिन पढ्न जोड गर्नुभयो । तर मैले त्यसो गरिनँ, खासै रुचि पनि भएन । त्यो समयमा जर्मनीमा हाम्रो एसएलसीको त्यति मान्यता थिएन । जर्मन भाषा पनि जान्दैनथें । त्यसैले शुरुआतमा अलिकति गाह्रो भएको थियो । एक वर्ष त भाषा सिक्नै लाग्यो । त्यसपछि फिजिक्स र केमेस्ट्री मुख्य विषय लिएर पढें । ६ वर्ष पढेँ, खासै केही पनि हुन सकेन । अनि नेपाल आएँ, अनि बुबाको व्यवसायमै लागेको हुँ ।
घर र माइती दुवैतिर आफ्नो पारिवारिक व्यवसाय हुँदाहुँदै २०१२ मा मिशुस फेशन भनेर छुट्टै किन थाल्नुभयो, केले प्रेरित गर्यो ?
बिहे गरिसकेपछि बुहारीहरूलाई समाजमा ‘फलानाकोे बुहारी, फलानाको छोरी’ भनेर चिनाइन्छ । आफ्नै नाम चाहिँ कहिल्यै आउँदैन । त्यतिबेला पश्मिनामा अलि अलि काम गर्दै थिएँ । तर त्यसमा पनि त हाम्रो पहिचान नै रहेनछ । आफ्नो पहिचान बनाउन केही आफ्नै गर्नुपर्दो रहेछ भन्ने देखेँ । डिग्री मात्र ल्याएर पनि नहुने रहेछ । यो बुझेपछि म फेरि २०११ को अन्त्यतिर पढ्न गएँ । र, मिलान फेशन कलेजमा भर्ना भएँ । ७–८ महीनाको कोर्स सकेर आएपछि आफ्नै ब्रान्ड बनाउँछु भनेर त्यसमा लागें । अनि एउटा सो गर्ने इच्छा भयो । मेरो श्रीमान्ले ७–८ महीना पढेर आउँदैमा आफूलाई ठूलो डिजाइनर नसम्झ समेत भन्नुभयो । त्यतिखेर अलिकति दुःख त लागेको थियो । तर जे भए पनि प्रयास गर्छु, एउटा शो गरेर देखाउँछु भन्ने अठोट चाहिं छाडिनँ । २२ नोभेम्बर २०१२ मा एउटा शो पनि गरेँ । तर धेरै दुःख गर्नुपर्यो । यसका लागि आफै कपडा लिन जानुप¥यो, आफै टेलर्सहरू जुटाउनुपर्यो, जुन एकदमै गाह्रो थियो । क्याश्मिर (पश्मिना)मा चाहिँ पहिले काम गरिसकेकाले केही सजिलो भएको थियो । बुवाआमाले भने केही सहयोग गर्नुभयो । म अलिकति दुब्लो–पातलो भएकाले सबै लुगा मेरो आफ्नै साइजमा बनाएँ । त्यसपछि मोडलहरू चाइयो, त्यो पनि कठिन थियो । मेरो ‘कजिन’ ले मोडलहरू जुटाइदिनुभयो । उहाँलाई मैले ‘मलाई अनुहारको मतलव भएन, उचाइ चाहिं ५–६ फिटभन्दा माथिको हुनुपर्छ’ भनेको थिएँ । हाम्रो पहिलो अडिसन गर्दा मलाई २०–२५ जना चाहिने थियो । उहाँले ५० जना छनोट गर्नुभयो । त्यसमध्ये २२ जना अन्तिम छनोटमा पर्नुभयो । अनि हामी तयार भयौं । त्यसरी यो शुरू भयो ।
विदेशमा हामीले कुनै पनि शो गर्दा नेपालबाट प्रायोजक पाउन एकदमै गाह्रो छ ।
त्यो काम अहिलेसम्म पनि जारी छ त ?
हो, अहिलेसम्म पनि जारी नै छ ।
हरेक वर्ष गर्नुहुन्छ ?
मैले हरेक वर्ष गरिनँ । मैले पहिलो शो २०१२ मा गरें । त्यतिखेर मैले मेरो ब्रान्ड चिनाएँ । त्यसपछि के गर्ने भनेर मैले केही विचारै गरेको थिइनँ । इशानी श्रेष्ठ मिस नेपाल भएपछि मेरोमा आएर ‘मलाई आउटफिटहरू चाइयो’ भन्नुभयो । मैले ‘मेरो शोका ड्रेसहरू छन्, जुन मन पर्छ, त्यही लगाउनू । एक दुईओटा नयाँ पनि बनाइदिउँला’ भनें । अनि उहाँ मिसवल्र्डमा पनि जानुभयो । अनि मलाई खुशी लाग्यो । अन्तरराष्ट्रिय स्तरमा मेरो ड्रेस लगाइदिँदा नयाँ डिजाइनरका लागि ठूलै कुरा हुने नै भयोे । उहाँ पहिलो पाँच स्थानमा पनि आउनुभयो । ‘ब्यूटी विथ पर्पज’ उपाधि जित्नुभयो । उहाँले आउटफिट लगाउँदा यति खुशी लाग्यो कि, आफ्नै बुटिक खोल्नुप¥यो भन्ने सोच आयो । सोहीअनुसार सन् २०१३ मा बुटिक खोलेँ । त्यत्तिकैमा २०१४ मा मैले दोस्रो शो गरें । त्यतिखेर चाहिँ मेरो श्रीमान् र परिवारले पनि सहयोग गर्नुभयो । वास्तवमा महिला उद्यमीलाई कुनै पनि काममा परिवारको सहयोग एकदमै जरुरी हुन्छ ।
जो जुन कुरामा सक्षम छ, त्यो त्यही फिल्डमा लाग्नु ठीक हो ।
फेशनको दुनियाँको हब मिलान पुगिसकेको मान्छे तपाईं किन फेरि नेपाल फर्किनुभयो ?
त्यो त त्यहाँ केही सिकिन्छ भनेर गएको हुँ । उता बसेर खासै केही फाइदा छैन । नेपालमै गर्ने धेरै ठाउँ छ । हामीलाई त नेपाल चिनाउनु छ । तर त्यो पनि सजिलो छैन । बाहिर कतै गएर शो गर्न झनै गाह्रो छ । सौभाग्यवश मलाई २०१८ मा चाहिँ एउटा मौका आयो । मलाई कान्स फिल्म फेस्टिभलको अवसरमा निम्ता आयो । त्यहाँ फेशन शो गर्ने मौका पाएँ । त्यो एउटा ठूलो उपलब्धि भयो । त्यतिबेला मैले हाम्रो ट्रान्सजेन्डर मोडल अञ्जलि लामाजीलाई पनि लिएर गएको थिएँ ।
प्रतिक्रिया कस्तो आयो ?
राम्रो थियो । तर पैसा कमाइएन । गयौं, शो गर्यौं र आयौं ।
अनि बुटिक अहिले पनि छ ?
बुटिक नै भनेर छैन, तर स्टुडियो छ ।
फेशन शोहरूमा अर्डर पनि आउँछ ?
नेपालमा फेशन शो गर्दा त्यो एउटा सामाजिक कार्यक्रम जस्तो मात्र हुन्छ । विदेशमा शो गर्दा त्यहाँ उनीहरूसँग क्रेता हुन्छन् । उनीहरूले अर्डर गर्छन् । तर नेपालमा हामी त्यहाँसम्म पुगेका छैनौं । यहाँ त ३–४ दिनको शो हुन्छ, त्यत्ति हो । प्रायोजक हुन्छ, मान्छे आउँछन्, शो हेर्छन्, जान्छन् । थोरै मात्रामा किन्नेहरू होलान् ।
यो तीनओटा शोमा तपाईंले आफ्नो खल्तीबाट पैसा हाल्नुपर्यो कि परेन ?
त्यो त आफ्नै खल्तीबाटै हाल्ने हो । उता जाँदा पनि हामीले केही रकम आफै हालेका थियौं । मलाई एउटा दुःख लागेको कुरा यही छ कि विदेशमा हामीले कुनै पनि शो गर्दा नेपालबाट प्रायोजक पाउन एकदमै गाह्रो छ ।
कुनै पनि सानो चीज भनेर हेला गर्न नहुने रहेछ ।
कस्ताहरूले गर्नुपर्ने हो प्रायोजन ?
उदाहरणका लागि नेपाल पर्यटन बोर्डबाट या कुनै त्यस्तो संस्थाबाट प्रायोजन गर्नुपर्ने हो । किनकि यस्तो शोहरूले त्यहाँ नेपाललाई चिनाउने काम गर्छ ।
भनेपछि यस्तो शोे एक किसिमले शौख पूरा गर्न मात्र गरिने जस्तो छ, होइन त ?
त्यो भन्न मिल्छ । तर अब विस्तारै यो अवस्था परिवर्तन होला जस्तो छ ।
घर र माइती दुवैको व्यवसायिक पृष्ठभूमि भएकाले तपाईंलाई अलि सजिलो भएको पनि होला । त्यो नहुनेले त यो शौख पूरा गर्न पनि नसक्ने भए नि ?
त्यो त हो । अहिले नेपालमा फेशन इन्स्टिच्युटहरू त थुप्रै खुलेका छन् । धेरै डिजाइनरहरू पनि आइरहनु भएको छ । त्यसमा पनि १० प्रतिशत चाहिं सफल भएका होलान् । कतिपयले बीचमै छाडिदिनुभएको होला ।
फेशन शोहरूले अर्थतन्त्रलाई अर्थात् म्यानुफ्याक्चरिङलाई मद्दत गर्छन् ? कसरी ?
नेपालमा कुनै पनि काम गर्छु भन्दा कच्चापदार्थ बाहिरबाटै ल्याउनुपर्छ । कार्पेट होस् कि पस्मिना, तिनको कच्चापदार्थ नेपालमा बन्दैन वा पर्याप्त मात्रामा पाइँदैन । ऊन न्यूजिल्यान्ड जस्ता देशबाट आउँछ, पश्मिना चीनबाट । फेशनको हबमा पनि कच्चापदार्थ धेरैजसो बाहिरबाटै मगाउने हो । नेपालमा भएका होलसेलरहरूबाट कपडा किन्ने हो । केही हदसम्म अहिले कटन यहीँ पनि पाइन्छ । तर गाउन बनाउँदा चाहिने सिल्कहरू बाहिरबाटै आयात हुन्छ ।
भनेपछि फेशन शोले अर्थतन्त्रमा खासै टेवा पुर्याउँदैन ?
त्यो केही कुरामा भर पर्छ । जस्तै– पस्मिनामा भने मद्दत गर्छ । हामीले कसैले भने अनुसार बनाएर निर्यात गर्यौं भने त्यसले चाहिं हाम्रो अर्थतन्त्रमा धेरै मद्दत गर्छ ।
गार्मेन्टमा हामीभन्दा पछाडिको बंगलादेश संसारमा छाइसक्यो, हामी भने सिद्धियौं । त्यो इन्डस्ट्रीलाई पुनर्जीवन दिन सक्ने क्षमता हाम्रा फेशन शोहरूले देखाउन सकेका छैनन् नि ?
हो, हाम्रा फेशन शोहरूले गर्न सकेका छैनन् । हाम्रो जनशक्ति पनि त्यो हदसम्म पुग्ने अवस्था छैन । अहिले हामी जति पनि बुटिकहरू बेच्छौं, ती सबैमा हामी भारतबाट प्रभावित भएका छौं ।
केही सपना छन्, तिनलाई पूरा गर्न बाँकी नै छ । नेपालमा पनि गुणस्तरको सामान बन्छ भनेर देखाउन मन छ ।
हामीले फेशनको माध्यमबाट कति उत्पादन निर्यात गरिरहेका छौं भन्ने कुनै तथ्यांक छ ?
इमानदार भएर भन्ने हो भने मसँग ठ्याक्कै त्यस्तो कुनै डेटा छैन ।
कच्चापदार्थको सोर्सिङ चाहिं कसरी गर्नुहुन्छ ?
मैले अघि नै भनें नि, हामीसँग सबै आयातित नै छ । हुन त अहिले भर्खरै आफ्नै कपडा बनाउन थालेको छु । तर त्यसको धागो आयात नै गर्ने हो ।
हामीसँग ढाका, अल्लो, जुटहरू पनि छन् । तिनमा केही गर्न सकिंदैन ?
ढाकामा त गरिरहेकै छौं । ५ वर्ष जति भयो, ढाकालगायतले बाहिर पनि राम्रो मार्केट लिएको छ । अब त्यसका लागि पनि सही पहुँच चाहिन्छ । यसमा सरकारले पनि काम गरिरहेको छ ।
यो क्यास्मिर भनिन्छ पनि, यसलाई पस्मिना नै भन्नु उपयुक्त थियो होइन र ? क्यास्मिर भन्दा त नेपाली होइन, कास्मिरको भन्ने अर्थ लाग्ला नि ?
क्यास्मिर भन्दा विश्वभर चिन्ने भए । तर हामीले जति निर्यात गर्छौं, त्यो पस्मिना नै हो । यसमा १०० प्रतिशत पस्मिना, ७० प्रतिशत पस्मिना भन्ने खुलाएर लेबल गरिन्छ । तर हामीले कुरा गर्दा त क्यास्मिर भनेरै गरिन्छ ।
डिजाइनिङको काममा नेपालमा जनशक्तिको उपलब्धता कस्तो छ ?
मेरोमा त थोरैजना काम गर्नुहुन्छ । टेलरिङतर्फ ६–७ जना हुनुहुन्छ । पस्मिनातर्फका २०–२२ जना हुनुहुन्छ ।
तपाईंहरू यसमा मात्र सीमित हुनुभयो, अन्य गार्मेन्टहरूमा किन लाग्नुभएन ?
फेशनमा पनि फरक फरक लाइन छन् । म चाहिँ क्यास्मिर लगायतमा केन्द्रित भएँ । जो जुन कुरामा सक्षम छ, त्यो त्यही फिल्डमा लाग्नु ठीक हो जस्तो लाग्छ ।
पस्मिनालगायत अन्य व्यवसाय पनि हेरिरहनु भएको छ । आफूलाई को भनेर चिनाउन चाहनुहुन्छ ?
साँच्चै भन्दा म फेशन डिजाइनर नै हुँ । र, यसैबाट चिनिन चाहन्छु ।
यो १० वर्षमा यो यो उपलब्धि गरें भन्ने केही छ ?
खासै केही गर्या छु जस्तो त लाग्दैन । केही हदसम्म सन्तुष्ट भने भएको छु । मलाई धेरैले मेरो आफ्नै कामबाट चिन्नुभएको छ । तर पूर्ण सन्तुष्ट हुन त अझै बाँकी छ । ब्रान्डिङले मात्रै चिनेर त भएन नि ।
एउटा कुरा चाहिँ के हो भने यो महामारीमा मैले मास्क बनाएँ । मेरो सबै फेशनको कामलाई पूरा रोकेर मास्क मात्र गर्ने कुरा पनि भएको थियो । बेलायतको एकजना ‘क्लाइन्ट’ ले यस्तो सुझाव दिनुभएको थियो । तर आफूलाई त्यसको ज्ञान छैन त कहाँ यो सबै बन्द गरेर त्यो गर्ने भन्ने भयो । तैपनि उहाँले तिमी शुरू गर, म प्याटर्नहरू पठाइदिन्छु भन्नुभयो । तर नेपाली कपडाबाट मात्रै बनाऊ पनि भन्नुभयो । त्यो बेला त लकडाउनको बेला थियो । उहाँले प्याटर्न पठाउनुभयो । मैले आफूले जानेको हिसाबले बनाउन शुरू गरेँ । त्यही बेला एक महीना लकडाउन खुलेकाले सवाह नेपाललाई मैले ‘हाम्रो टेलरिङलाई यो गुणस्तरको कपडा चाहिन्छ, त्यो बनाएर हामीलाई दिनुस्’ भनें । त्यतिबेला मैले ढाका पनि चलाएँ । मास्क बनाएर मेरो क्लाइन्टलाई स्याम्पल पठाइदिएँ, जुन विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसारकै भयो । अनि उहाँले बेलायतमा अमाजनमा हाम्रो मास्कलाई ‘मेड इन नेपाल’ भनेर राखिदिनु पनि भयो । यसरी त्यस्तो महामारीको समयमा मेरा जति पनि टेलर हुनुहुन्थ्यो, उहाँहरूले केही हदसम्म काम पाउनुभयो । आम्दानीमा पनि केही टेवा पुग्यो । यसमा मलाई खुशी लागेको छ ।
मेरो बेलायती क्लाइन्ट अफ्रिकी मूलको हो । उहाँले अफ्रिकी देशकोे झन्डा राखेर पनि बनाएर पठाइदेऊ भन्नुभयो । त्यसरी नै बनाएर पठाएँ । ३–४ महीना राम्रोसँग गइरहेको थियो । यसैबीच नेपालको पनि झन्डा राखेर मास्क बनाई हेरें । मैले नेपालमा बेच्छु भनेर चाहिँ सोचेकोे थिइनँ । माग आयो बनाएँ, पठाएँ । साथै मैले इस्टाग्राममा पोस्ट पनि गरिराखेकी थिएँ । त्यसैबीच एक दिन नबिल बैंकका सीईओ अनिलजीले मलाई नेपाल चिनाउने मास्क बनाउनुपर्यो भन्नुभयो । मसँग त अरू कुनै डिजाइन थिएन । तैपनि उहाँलाई तीन–चारओटा डिजाइन पठाएँ । स्वीकार गर्नुभयो । र, त्यो मास्क लगाएर इन्स्टामा पोस्ट गरिदिनुभएको थियो । त्यसपछि यति धेरै कल आयो कि, जुन अपेक्षा गरेकै थिइनँ । उहाँ त मेरो ब्राण्ड एम्बासडर जस्तै हुनुहुन्छ । पहिले त मिशुस भनेर महिलाको ब्रान्ड भनेर चिनिन्थ्यौं, त्यसपछि पुरुषहरूमा पनि लोकप्रिय भएको छ । यो करीब २ वर्ष त मास्क पनि फेशन नै बन्यो । र, मेरो ब्राण्डलाई चिनाउने पनि मास्क नै भयो । कुनै पनि सानो चीज भनेर हेला गर्न नहुने रहेछ । पहिले मैले गार्मेन्ट मात्र बनाउँछु भन्ने सोचेको थिएँ, तर मलाई मास्कले नै चिनाएको छ ।
हाम्रा खास नेपाली डिजाइनहरू बाहिर ल्याउन र निर्यात गर्न सक्यो भने मात्रै हामी फेशन डिजाइनरलाई सफल भएको मान्नुपर्छ ।
नेपालबाट तपाईंले कति जति मास्क विदेश पठाउनुभयो ?
मैले त्यति ठूलो परिमाणमा त गरेको छैन । मास्कमा पनि चर्को प्रतिस्पर्धा छ । लोकप्रिय त भयो, तर धेरै पठाएको छैन, ५० हजार ओटा जति मात्र पठाएँ । अर्डर आउने क्रम जारी नै छ । अहिले अलि कम भएको छ । कर्पोरेट हाउसको पनि बनाइरहेको छु ।
कति पर्छ एउटाको ?
मैले बेच्दा सामान्यतया प्रतिगोटा करसहित ८०० रुपैयाँ पर्छ । खास इम्ब्रोइडर्ड छ भने ९५० वा १ हजार २०० वा १ हजार ३०० रुपैयाँसम्म पर्छ । फेशन अहिले स्टेटमेन्ट कुरा भएको छ । कर्पोरेट बिजनेश हाउसलाई लोगोसहित थोरै परिणाम, केही पिस चाहियोे भने लोगोको डिजाइन अनुसार मूल्य तय हुने गर्दछ । ठूलो परिणाममा हो भने मूल्य केही कम हुन्छ । नेपालका कर्पोरेट हाउसहरूबाट पनि थुप्रै माग आउन थालेको छ ।
अबको तपाईंको योजना के हो ?
केही सपना छन्, तिनलाई पूरा गर्न बाँकी नै छ । पहिले पूरा गरौंला अनि मात्र भनौंला नि । तर यो फेशन क्षेत्रमै धेरै गर्नु छ । नेपालमा पनि गुणस्तरको सामान बन्छ भनेर देखाउन मन छ ।
फेशन भन्नेबित्तिकै प्रायः महिलाहरू नै सोचिन्छ, पुरुषलाई पनि लक्षित गरेर गर्न सकिंदैन ?
सकिन्छ । तर पुरुषका लागि गर्न केही गाह्रो छ । कसैकसैले त नयाँ सामान प्रयोग गरेर र नयाँ डिजाइन गरेर काम त गर्नु भएकै छ । यो क्षेत्र निकै विस्तृत छ ।
डिजाइनरले कुनै पनि कामलाई त्यसको लक्ष्य हासिल भएन भनेर बीचैमा छाड्न हुँदैन, पूर्ण मेहनतका साथ गर्नुपर्छ । साथै गुणस्तरमा बढी सजग हुनुपर्छ ।
के भयो भने फेशन डिजाइनरलाई सफल मानिंदो रहेछ ?
हाम्रा खास नेपाली डिजाइनहरू बाहिर ल्याउन र निर्यात गर्न सक्यो भने मात्रै हामी फेशन डिजाइनरलाई सफल भएको मान्नुपर्छ । विदेशमा बस्ने नेपालीलाई मात्र होइन, विदेशीलाई पनि बेच्न सकियो भने सफल मान्नुपर्छ ।
नेपालमा पनि थुप्रै डिजाइनर छन् । धेरै डिजाइन सेन्टर छन् । यिनको काम र सफलतालाई कसरी मूल्यांकन गर्नुहुन्छ ?
नेपालमा पनि धेरै उदीयमान डिजाइनर हुनहुन्छ । उहाँहरूलाई म एउटा सानो सुझाव के दिन चाहन्छु भने डिजाइनरले कुनै पनि कामलाई त्यसको लक्ष्य हासिल भएन भनेर बीचैमा छाड्न हुँदैन, पूर्ण मेहनतका साथ गर्नुपर्छ । समय लाग्ला, पर्खन सक्नुपर्छ । साथै गुणस्तरमा बढी सजग हुनुपर्छ ।
गुणस्तरसँगै वातावरणमैत्री अग्र्यानिक प्लान्टबाट लिएका वस्तुको कुरा पनि आउँछ होला नि ?
हो, यस्तो पनि आइरहेको छ । अहिले हामीले पनि नेपालमा केही शुरू गरिसकेका छौं । यस्तो ट्रेन्ड भर्खर शुरू हुँदै छ । यसमा हामी पनि लागिरहेका छौं ।
अन्त्यमा, फेशनको दुनियाँसँग सम्बन्धित तपाईंले भन्न चाहेको केही छ ?
म के भन्न चाहन्छु भने हामी दिगो फेशनमा केन्द्रित हुनुपर्छ । तर यसमा धेरै अप्ठ्यारो पनि छ । सामान सजिलै उपलब्ध छैन, आयात गर्नुपर्छ । तर कतिपय चीज हामीले नेपालमै बनाएका पनि छौं । अल्लो लगायत प्राकृतिक रेशाबाट बनेका कपडा प्रयोग हुन थालेको छ । तर अल्लोको कपडाबाट फेशनका कतिपय सामान, उदाहरणका लागि गाउनहरू बनाउन सकिँदैन । किनभने त्यसमा आवश्यक नरमपन अझै आएको छैन । हामीले भर्खरै रेशमको उत्पादन भने आफै थालेका छौं ।
(विस्तृत अन्तरवार्ताका लागि Youtube.com/c/NewBusinessAgeNepalमा जान सक्नुहुनेछ ।)