काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले निष्कासन गरेको ८ प्रतिशत ब्याजदरको नेपाल एसबिआई बैंक ऋणपत्र २०७९ को समयावधि माघ २० गतेदेखि समाप्त हुँदै छ ।
बैंकले प्रतिऋणपत्र रू. १ हजार अंकित दरको ४ लाख कित्ता ऋणपत्र जारी गरेको थियो । उक्त ऋणपत्रको समयावधि समाप्त हुने भएसँगै सम्बन्धित ऋणपत्रधनीहरूलाई साँवा र तिर्न बाँकी ब्याज रकम एकमुष्ठरूपमा भुक्तानी गर्ने तयारी बैंकले गरेको छ ।
बैंकका अनुसार माघ २१ गतेदेखि नेपाल एसबिआई बैंक लिमिटेडको सम्पूर्ण शाखा कार्यालयबाट उक्त रकम भुक्तानी गरिनेछ । ऋणपत्रधनीहरूले ऋणपत्रको साँवा तथा ब्याज भुक्तानी लिन आउँदा आफ्नो सम्पूर्ण प्रमाणपत्रसँगै ब्याज भुक्तानी पुर्जाहरूको सक्कल प्रति अनिवार्य रूपमा पेश गर्नुपर्ने बैंकको भनाइ छ ।
साथै आफ्नो परिचय खुल्ने कुनै आधिकारिक परिचयपत्रको सक्कल प्रति पनि अनिवार्य रहेको जानकारी बैंकले दिएको छ । ऋणपत्रधनी स्वयं उपस्थित हुन नसके रीतपूर्वक मञ्जुरीनामा पेश गर्नुपर्नेछ ।
मञ्जुरीनामा प्राप्त गर्ने व्यक्तिले चेक संकलन गर्दा ऋणपत्रधनीको नागरिकता प्रमाणपत्रको प्रतिलिपिका साथै आफ्नो आधिकारिक परिचयपत्रको प्रतिलिपिसमेत अनिवार्य रूपमा पेश गर्नुपर्नेछ । बैंकको शेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।