नेपाली कांँग्रेस महाधिवेशनको पूर्व तयारीमा जुटेको छ । कुनै पनि दलको महाधिवेशनले दलको नेतृत्वको चयन मात्रै गर्दैन, यसले देशमा भएका अनेक राजनीतिक, कूटनीतिक, आर्थिकलगायत सम्पूर्ण समस्या समाधानका लागि चाहिने बृहत् दृष्टिकोणको अपेक्षा पनि गर्छ । काँग्रेसमा अहिले सङ्घीयस्वरूप अन्तर्गतका थुप्रै मुद्दालगायतका अनेक विधामा स्पष्टता हुन अझै बाँकी छ । नेतृत्वका लागि वैचारिक र रणनीतिक दृष्टिकोणको बहस काँग्रेसले सुरु गरेको छैन । तर पनि यथार्थ के हो भने नेपालमा भएका जनगणतन्त्रवादी, मधेसवादी, राजावादी, हिन्दुवादी र जनवादी आदि सबैले रुचाएर वा नरुचाएर लोकतन्त्र मानेका छन्, लोकतन्त्रको सम्मान पनि सबैले गरेकै छन् तर स्थापना कालदेखि केवल लोकतन्त्रको मुद्दामा राजनीति गर्ने दल काँग्रेस मात्रै हो । त्यसैले काँग्रेसको नेतृत्व चयन प्रक्रिया मात्रैले पनि लोकतन्त्रको विकासमा प्रत्यक्ष योगदान गर्छ ।