काठमाडौं । यस वर्ष आठ लघुवित्त कम्पनीका शेयरधनीको हात खाली भएको छ । नेप्सेमा सूचीकृत ५४ लघुवित्त कम्पनीहरुमध्ये हालसम्ममा आठ कम्पनीले गत आर्थिक वर्ष २०७९/८० सम्मको मुनाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने निर्णय भएसँगै शेयरधनीहरुको हात खाली हुने भएको हो ।
ग्रामिण विकास लघुवित्त,हिमालयन लघुवित्त,गुराँस लघुवित्त,मनकामना स्मार्ट लघुवित्त,उपकार लघुवित्त, सामुदायिक लघुवित्त, उन्नति सहकार्य लघुवित्त र फरवार्ड लघुवित्तले गत आवको मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेका हुन ।
अघिल्लो आवको मुनाफाबाट गत वर्ष आफ्ना शेयरधनीलाई ६१ दशमलव ७५ प्रतिश बोनस शेयर र ३ दशमलव २५ प्रतिशत नगद लाभांश वितरण गरेको उपकार लघुवित्त वित्तीय संस्थाले यस वर्ष शेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको छ ।
त्यस्तै फरवार्ड लघुवित्त वित्तीय संस्थाले पनि गत वर्ष २५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश वितरण गरेको यस वर्ष कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो । लाभांश वितरण नगर्ने निर्णय गरेपछि कम्पनीको शेयर मूल्य बिहीवार २५ रुपैयाँ घटेको छ । गत आवको चौथौ त्रैमाससम्ममा यस कम्पनीको वितरणयोग्य मुनाफा रू.७६ करोड ७२ लाख थियो । वितरणयोग्य नाफा कम्पनी सञ्चिती गर्ने जानकारी दिएको छ ।
त्यस्तै उन्नति सहकार्य लघुवित्तले लगातार दुई वर्ष शेयरधनीको हात खाली बनाएको छ । आर्थिक वर्ष २०७७/७८ मा यस कम्पनीले आफ्ना शेयरधनीलाई ३० प्रतिशत बोनस शेयर वितरण गरेको थियो । त्यसपछि लगातार दुई शेयरधनीलाई कुनै पनि लाभांश दिएको छैन । गत आवको चौथो त्रैमासमा कम्पनीको वितरणयोग्य नाफा रू. ५९ लाख ६६ हजार थियो ।
गत आवमा आर्थिक मन्दिका कारण सूचीकृत कम्पनीहरुको नाफा प्रभावित भएको छ भने अर्को तिर नियामकीय कडाइले गर्दा समेत शेयरधनीलाई लाभांश वितरण गर्न नसकेको देखियो ।