चैत ७, लमजुङ । लमजुङस्थित बेँसीशहर नगरपालिका–ं७ मा सातौं लमजुङ महोत्सव हुने भएको छ ।
स्थानीय उत्पादन, संस्कृति तथा पर्यटनः कोभिड–१९ पछिको व्यवसाय पुनःस्थापना भन्ने मूल नारासाथ यही २५ देखि वैशाख ४ गतेसम्म उक्त स्थानमा सो महोत्सव हुने भएको हो । आयोजक लमजुङ उद्योग वाणिज्य संघले बेँसीशहरमा सोमवार पत्रकार सम्मेलनको आयोजना गरी महोत्सव हुनेबारे जानकारी गराएको हो ।
संघका अध्यक्ष गुणराज सिलवालले भने, ‘जिल्लामा रहेका परम्परागत कला संस्कृतिको जगेर्ना, व्यावसायिक कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, जलविद्युत् क्षेत्रमा लगानीमैत्री वातावरण तथा व्यापार व्यवसायलाई प्रदेश स्तरसम्म प्रवर्द्धन गर्ने एवम् स्थानीय समुदायलाई मनोरञ्जन प्रदान गरी जिल्लाको आर्थिक विकासमा टेवा पुर्याउने लक्ष्यका साथ महोत्वस आयोजना गर्न लागेका छौँ ।’
उनका अनुसार महोत्सवमा औद्योगिक तथा व्यापारिक प्रदर्शनी, स्थानीय घरेलु तथा हस्तकला प्रदर्शनी, गण्डकी प्रदेशभित्र रहेका उद्योग तथा व्यावसायिक प्रतिष्ठानको विशेष प्रदर्शन, कृषि, पुष्प तथा जडीबुटी प्रदर्शनी, लोक दोहोरी गीत कार्यक्रम, फोटो तथा वृत्तचित्र प्रदर्शनी, जातीय एवम् सांस्कृतिक सग्रहालय, नवप्रतिभा, स्थानीय एवम् विभिन्न विधाका राष्ट्रिय कलाकारको प्रस्तुति रहनेछ ।
त्यस्तै आयोजकका अनुसार कोभिड-१९ को प्रभावले सुस्ताएको जिल्लाको पर्यटन व्यवसायलाई पुनरुत्थान गरी टेवा पुर्याउने, जिल्लामा व्यावसायिक कृषि, पशुपालन र जुडीबुटी प्रवर्द्धन गरी निर्यातजन्य उत्पादनका लागि प्रोत्साहन गर्ने, स्थानीय उद्योग, व्यापार, हस्तकलाको प्रवर्द्धन गर्ने महोत्वसको उद्देश्य रहेको छ । महोत्सवमा २०० ओटा स्टल राखिने छ । रासस