लघुवित्त वित्तीय संस्थाको कार्य प्रकृति अन्य बंैक तथा वित्तीय संस्थाको भन्दा फरक हुन्छ । लक्षित वर्गलाई वित्तीय पहुँचमा समेट्ने र स्वरोजगारीको विकास गरी उनीहरूको जीवनस्तरमा सुधार ल्याउने मुख्य उद्देश्य लघुवित्त वित्तीय संस्थाको रहेको हुन्छ । यसैले अन्य बैंक तथा वित्तीय संस्थाभन्दा लघुवित्त वित्तीय संस्थाले सेवाग्राहीलाई पृथक् तरिकाबाट वित्तीय सेवा प्रदान गर्ने गर्दछन् । नेपालमा वित्तीय पहुँचको माध्यमबाट गरीबीलाई न्यूनीकरण गरी लक्षित वर्गलाई अर्थतन्त्रको मूलधारमा जोड्न सहयोग पुर्याउने उद्देश्यले लघुवित्त कार्यक्रम सञ्चालन हुँदै आएको छ । यसका लागि लघुवित्त वित्तीय संस्थाले वित्तीय सेवा र सामाजिक उत्तरदायित्वलाई सँगसँगै लैजानुपर्दछ ।
लघुवित्त वित्तीय संस्थाले प्रवाह गरेको वित्तीय सेवाले मुलुकमा कति गरीबी घट्यो भन्ने सन्दर्भमा राष्ट्रियस्तरमा नै गरीबीको मापन गर्ने कार्य समय र लागतका हिसाबले जटिल हुने र आवश्यक परेको बेला तत्कालै गर्न पनि सम्भव हुने देखिन्न । यसका लागि प्रत्येक लघुवित्त वित्तीय संस्थाले आफूसँग आबद्ध भएका सदस्यहरूको गरीबीको स्तर मापन गर्न सकेमा गरीबी न्यूनीकरणमा लघुवित्तले दिएको योगदानको बारेमा सहजै थाहा पाउन सकिन्छ । यसरी मापन गर्दा लघुवित्त वित्तीय संस्थाले सदस्यहरूको जीवनस्तरमा ल्याएको सुधारलाई मापन गर्ने र सो प्रक्रियालाई निरन्तरता दिंदै जानुपर्ने हुन्छ । लक्षित वर्गलाई लघुवित्त कार्यक्रममा संलग्न गरी सदस्यको जीवनमा गुणस्तरीय सुधार ल्याउन सके मात्र गरीबी न्यूनीकरणमा सहयोग पुगेको बुझ्न सकिन्छ । यसका लागि पीपीआई (प्रोग्रेस आउट अफ पोभर्टी इन्डेक्स) को प्रयोग गरी सदस्यको गरीबीको स्तर मापन गर्नु पर्दछ ।
पीपीआई गरीबीको स्तर मापन गर्ने उपयुक्त र व्यावहारिक उपकरण हो । अन्तरराष्ट्रियस्तरको उपकरण भए पनि देशको अवस्थानुसार यसलाई सहजै प्रयोग गर्न सकिन्छ । सदस्यको दैनिक जीवनसँग सम्बन्धित विषयहरू जस्तै मासिक आम्दानी, परिवार संख्या, घरको बनोट, दुई छाक खान पुग्ने/नपुग्ने अवस्था, खानेपानीको अवस्था, सम्पत्तिको स्वामित्व, स्वस्थ्यमा पहुँच, शिक्षामा बालबच्चाको पहुँच, शौचालय प्रयोगको अवस्था, मोबाइल र टेलिभिजनको प्रयोग, वित्तीय समूहमा आबद्धता लगायतका आर्थिक र सामाजिक पक्षसँग सम्बन्धित विभिन्न प्रश्नहरूको उत्तरको आधारमा सदस्यको परिवारको गरीबी कुन स्तरमा रहेछ भन्ने मापन गर्न सकिन्छ । यस्तो मूल्यांकन कार्य सहज र शुद्ध होस् भन्ने उद्देश्यले उल्लिखित विषयलाई समेटेर सामान्यतया दश वटा प्रश्नहरूको प्रश्नावली निर्माण गर्ने प्रचलन रहेको पाइन्छ । उल्लिखित सूचकमा आएको परिवर्तनले लघुवित्त वित्तीय संस्थाले प्रवाह गरेको वित्तीय सेवाले सदस्यको अवस्थामा कस्तो परिवर्तन आयो भन्ने निचोड निकाल्न सकिन्छ ।
आर्थिक अवस्थामा सुधार आएपश्चात् कर्जाग्राही विपन्नबाट सम्पन्न भई आफ्नो व्यवसायबाट अरूलाई रोजगारी प्रदान गर्ने हैसियतमा पुगिसक्दा पनि उनीहरूलाई आफ्नै संस्थामा आबद्ध गराइराख्ने लघुवित्त वित्तीय संस्था र उक्त संस्थाबाट अलग हुन नचाहने सदस्यको प्रवृत्तिले लक्षित वर्गका सेवाग्राहीहरूको बैंकिङ कारोबारमा स्तरोन्नति हुँदैन ।
लघुवित्त वित्तीय संस्थाले लक्षित वर्गलाई संस्थामा आबद्ध गरेपश्चात् फिल्ड कर्मचारीले उल्लिखित सूचकहरूसँग सम्बन्धित प्रश्नावलीको फाराम भर्नुपर्छ र निश्चित समयावधिपश्चात् सदस्यको जीवनस्तरमा आएको सुधार हेरी गरीबीको स्तर मापन गर्न सकिन्छ । प्रश्नावलीलाई कोर बैकिङ प्रणालीमा नै आबद्ध गरी प्रयोग गर्न सकिने भएकाले पीपीआईका लागि अलग्गै खर्च, समय र प्रविधिको आवश्यकता पर्दैन । प्रश्नावलीमा सदस्यको दैनिक जीवनसँग सम्बन्धित अति सामान्य विषयहरू समेटिएको हुनाले सदस्य र कर्मचारीलाई अलमल हुनुपर्ने अवस्था पनि रहँदैन । सदस्यको जीवनशैलीको गुणस्तरमा आएको परिवर्तनबाट नै गरीबी मापन गरिने भएकाले परिणामको शुद्धतामा आशंका गर्नुपर्ने अवस्था देखिंदैन । यसका साथै, पीपीआईबाट प्राप्त परिणामबाट यस क्षेत्रमा कार्यान्वयनमा रहेका नीतिगत व्यवस्थाको मूल्यांकन, प्रभावकारिता र आगामी आवश्यकताको बारेमा समेत जानकारी लिन सकिन्छ । यसरी विश्वव्यापी मान्यता पाएको उपकरणबाट लघुवित्त क्षेत्रको उपलब्धि मापन गर्न सकिने भएकाले लघुवित्त कार्यक्रमको योगदानलाई तथ्यांकबाट प्रष्ट्याउन सकिन्छ ।
२०८० असार मसान्तमा सञ्चालनमा रहेका ५७ वटा लघुवित्त वित्तीय संस्थामा आबद्ध भएका ६० लाखभन्दा बढी सदस्यहरूमध्ये जीवन विकास लघुवित्त वित्तीय संस्थाले मात्र आफ्नो संस्थामा आबद्ध भएका ३ लाख ४३ हजार सदस्यलाई यस उपकरणमा समेटेको देखिन्छ । यस लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७५/७६ देखि पीपीआईको प्रयोग गर्दै आएको छ । संस्थाले प्रत्येक २/२ वर्षमा सदस्यको गरीबीको स्तरमा आएको परिवर्तन मापन गर्ने गरेको छ र त्यसैको आधारमा सदस्यलाई प्रगति कार्ड प्रदान गर्दै आएको पाइन्छ । उल्लिखित तथ्यांकलाई हेर्दा लघुवित्त संस्थामा आबद्ध भएका नगण्य सदस्यहरू (०.०५७ प्रतिशत) मा मात्र पीपीआईको प्रयोग गरी गरीबीको स्तर मापन गरिएको देखिन्छ । यसरी गरीबी न्यूनीकरणको उद्देश्यले सञ्चालित लघुवित्त वित्तीय संस्थामा गरीबी मापनसँग सम्बन्धित उपकरणको प्रयोग हुन नसक्दा लक्षित वर्गको गरीबी न्यूनीकरणमा लघुवित्तीय सेवाको योगदान सम्बन्धी तथ्यांक सार्वजनिक हुन गरेको पाइँदैन । यसका लागि माथि उल्लेख गरे जस्तै पीपीआईको प्रयोग गरी उनीहरूको जीवनस्तरमा आएको परिवर्तन हेर्नु अपरिहार्य देखिन्छ । यसरी प्राप्त नतिजाको आधारमा लघुवित्तको मोडल, कार्यान्वयनमा रहेका नीतिगत व्यवस्था, तिनको सान्दर्भिकता र आगामी नीतिगत व्यवस्थाको तर्जुमा लगायतका विषयमा निर्णय लिन समेत सहयोग पुग्ने देखिन्छ ।
लघुवित्त वित्तीय संस्थाहरू गरीब, पिछडिएका र वित्तीय सेवाबाट विमुख रहेका वर्गलाई वित्तीय सेवा उपलब्ध गराउने विशिष्टीकृत संस्था भएकाले यी संस्थाले उल्लिखित वर्गलाई मात्र वित्तीय सेवाभित्र समेट्नुपर्दछ । यही विषयलाई दृष्टिगत गर्दै नेपाल राष्ट्र बैंकले २०७९/११/१० मा निर्देशन जारी गर्दै क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले कर्जा प्रदान गरेका ऋणीलाई घ वर्गका लघुवित्त वित्तीय संस्थाले कर्जा प्रदान गर्न नपाउने व्यवस्था गरेको छ । तर तुलनात्मक रूपमा कम लागत र कम जोखिम हुने समथर र शहरी क्षेत्रमा लघुवित्त वित्तीय संस्थाका शाखाहरू अधिकेन्द्रित रहेका र हुनेखाने वर्गलाई पनि संस्थासँग आबद्ध गर्ने प्रवृत्तिले लघुवित्त वित्तीय संस्थाहरूले लक्षित वर्गलाई मात्र कर्जा प्रदान गरिरहेका छन् भन्ने कुरामा ढुक्क हुने अवस्था देखिंदैन । यसका साथै, आर्थिक अवस्थामा सुधार आएपश्चात् कर्जाग्राही विपन्नबाट सम्पन्न भई आफ्नो व्यवसायबाट अरूलाई रोजगारी प्रदान गर्ने हैसियतमा पुगिसक्दा पनि उनीहरूलाई आफ्नै संस्थामा आबद्ध गराइराख्ने लघुवित्त वित्तीय संस्था र उक्त संस्थाबाट अलग हुने नचाहने सदस्यको प्रवृत्तिले लक्षित वर्गका सेवाग्राहीहरूको बैंकिङ कारोबारमा स्तरोन्नति हुने गरेको पाइँदैन । यस्तो अवस्थाले लघुवित्त कार्यक्रमले सदस्यको जीवनशैलीमा ल्याएको सुधार यकीन गर्न कठीन हुने गरेको छ ।
गहन उद्देश्य लिएर सञ्चालन गरिएका कार्यक्रमको उद्देश्य प्राप्ति सम्बन्धी नतिजा लामो समयसम्म सार्वजनिक हुन सकेन भने त्यस्ता कार्यक्रमको निरन्तरता र आवश्यकतामाथि नै चुनौती देखापर्न सक्दछ । त्यसैगरी सेवाग्राही र सरोकारवालाहरूमा ती कार्यक्रमप्रतिको विश्वसनीयतामा पनि क्षय हुनसक्ने सम्भावना रहन्छ । त्यसैले लघुवित्त कार्यक्रमको विश्वसनीयता वृद्धि गर्न र यस क्षेत्रलाई स्थायित्व दिनका लागि गरीबी न्यूनीकरणमा लघुवित्त वित्तीय संस्थाको योगदान सम्बन्धी तथ्यांक सार्वजनिक गर्नुपर्दछ । यसरी प्राप्त हुने तथ्यांकले यस क्षेत्रको बारेमा चासो राख्नेलाई थप जानकारी प्राप्त गर्न पनि सहजता मिल्दछ । त्यसैले गरीबी न्यूनीकरणमा लघुवित्त कार्यक्रमको योगदान बारे जानकारी प्राप्त गर्न र विगतमा देखिएका कमीकमजोरीलाई सुधार गर्दै उद्देश्य हासिल गर्नका लागि यस क्षेत्रमा पीपीआईको प्रयोग अत्यावश्यक देखिन्छ ।
लेखक लघुवित्तसम्बन्धी जानकार व्यक्ति हुन् ।