पर्यटन क्षेत्रलाई आन्तरिक पर्यटकबाट राहत

मुलुकको पर्यटन क्षेत्रलाई आन्तरिक पर्यटकबाट राहत मिलेको छ। पछिल्ला वर्षहरूमा नेपालीहरू परिवार, आफन्त र साथीभाइसँगै घुम्न निस्किने गर्न थालेपछि आन्तरिक पर्यटन प्रवर्द्धनमा टेवा पुगेको हो।...

सम्बन्धित सामग्री

आन्तरिक एवं विदेशी पर्यटकले नगरकोटदेखि रानीकोटसम्मका होटल खचाखच

भक्तपुर । नयाँ वर्ष २०८० को आगमनसँगै खुशी मनाउन र सूर्योदय हेर्न विगत तीनदेखि भक्तपुरका पर्यटकीय क्षेत्र नगरकोटदेखि रानीकोटसम्मका होटल विदेशी तथा स्वदेशी पर्यटकले भरिएका छन् । कोरोना भाइरसका कारण सुनसान बनेको भक्तपुरका पर्यटकीय क्षेत्रमा विदेशीभन्दा बढी स्वदेशी पर्यटकको आगमनले पर्यटकीयस्थल खचाखच भएपछि व्यवसायी उत्साहित छन् । नयाँ पर्यटकीय गन्तव्य बन्दै आएको सूर्यविनायक नगरपालिका-७ गुण्डु र ८ सिपाडोलको संगमस्थल ऐतिहासिक रानीकोटमा अधिकांश होटल आन्तरिक पर्यटकले नै भरिएको पर्यटन व्यवसायी एवं भिलेज हाइल्याण्ड रिसोर्ट रानीकोटका सञ्चालक रामसुन्दर बकेंले बताए । ‘चैत मसान्तदेखि वैशाख ३ गतेसम्मका लागि होटल बुकिङ भइसकेको छ,’ उनले भने, ‘यहाँका सबै होटल आन्तरिक पर्यटकले भरिएका छन् ।’ नयाँ वर्षका लागि दुई साता अगाडिदेखि नै यहाँका होटल बुक भएका थिए । समुद्री सतहबाट दुई हजार मिटर उचाइमा रहेको सूर्यविनायक र काभ्रेको पनौती नगरपालिकाको सिमानामा पर्ने रानीकोटबाट काठमाडौं उपत्यका र भक्तपुर नगर मात्र होइन, विभिन्न हिमशृंखला अवलोकन गर्न सकिन्छ । ‘नयाँ वर्षमा आन्तरिक पर्यटक खचाखच भएका छन्,’ होटल व्यवसायी बकें भन्छन्, ‘अब भने पर्यटन व्यवसाय पुनः चलायमान हुने आशा पलाएको छ ।’ होटल व्यवसायी तथा घ्याम्पेडाँडा रिसोर्टका सञ्चालक राजेन्द्र प्याथले घ्याम्पेडाँडा-रानीकोट पक्की सडक निर्माण भएसँगै पर्यटकको आगमन ह्वात्तै बढेको बताए । उनले सूर्यविनायक-रानीकोट-आशापुरी एवं सूर्यविनायक-रानीकोट-फुल्चोकी पदयात्रा मार्ग र रानीकोट, आशापुरी, बोकाचो गढी पर्यटकको रोजाइमा पर्न थालेपछि आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको बताए । पर्यटकको आगमन बढेपछि घ्याम्पेडाँडा रानीकोट क्षेत्रमा जीप लाइन सञ्चालनमा आएको छ भने ठूला होटल निर्माणको क्रम बढेको छ । निर्माण भइसकेको करीब १४ होटल आन्तरिक पर्यटकले नै भरिन थालेका छन् । भक्तपुरको अर्को पर्यटकीय गन्तव्य नगरकोटमा नयाँ वर्षमा तीन दिन अगाडिदेखि नै होटल खचाखच छन् । नयाँ वर्षको पहिलो सूर्योदयलाई स्वागत गर्न नगरकोटमा एक रात बसेर सूर्योदय र हिमाली दृश्य हेरेर फर्कने पर्यटकले यहाँका होटल खचाखच भएको पर्यटन व्यवसायी एवं होटल मेरिगोल्डका सञ्चालक गोकुल लामिछानेले बताए । ‘मैले होटल क्षेत्रमा काम गरेको २० वर्षको अवधिमा विसं. २०७७ को नयाँ वर्षमा सबै होटल सुनसान भए, ०७८ र ०८९ सालको नयाँ वर्षमा आन्तरिक पर्यटकको आगमनले अलिक राहत मिलेको थियो,’ होटल व्यवसायी लामिछाने भन्छन्, ‘०८० को नयाँ वर्षमा भने विदेशी पर्यटकका साथै आन्तरिक पर्यटकले पनि थपिँदा होटल भरिए ।’ नगरकोट जाने सडक निर्माण पूरा भए पर्यटन व्यवसाय अझै फस्टाउने व्यवसायीको भनाइ छ । -रासस

पर्यटन काज कार्यविधि मस्यौदामै सीमित

काठमाडौं । आन्तरिक पर्यटन प्रवर्द्धन गरी कोरोना प्रभावित पर्यटनलाई सहयोग गर्न सरकारले घोषणा गरेको ‘१० दिनको पर्यटन काज’ उपलब्ध गराउने कार्यविधि मस्यौदामै सीमित भएको छ । कार्यविधि मस्यौदा गत असोजमै तयार भए पनि हालसम्म स्वीकृत हुन सकेको छैन भने तालुक मन्त्रालयले राय संकलन गर्न शुरू गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उक्त मस्यौदामाथि अन्य मन्त्रालयहरूको राय संकलन गर्नसमेत ढिलाइ गरेको छ । मस्यौदा तयार भएको महीना दिनपछि मन्त्रालयले अघिल्लो सातादेखि मात्रै सबै मन्त्रालयहरूसँग राय सुझाव माग्न शुरू गरेको हो । अहिले केही मन्त्रालयले मात्रै कार्यविधिको मस्यौदामा राय सुझाव दिएका छन् । मन्त्रालयका सहप्रवक्ता टेकनारायण पौडेलले बाँकी मन्त्रालयहरूबाट पनि रायसुझाव आएपछि मन्त्रालयले स्वीकृत गरेसँगै मन्त्रिपरिषद्मा कार्यविधिको परिमार्जित मस्यौदा पेश गरिने जानकारी दिए । मन्त्रालयले निश्चित अवधि नतोकेको हुँदा अन्य मन्त्रालयहरूले कहिलेसम्म राय दिइसक्छन् भन्ने यकिन छैन । तर, रायसुझाव छिटै संकलन हुने र पुससम्ममा कार्यविधि पारित भई लागू हुन सक्ने दाबी उनले गरे । सरकारले गत जेठ १५ गतेको बजेट भाषणमा यो कार्यक्रम घोषणा गरेको थियो । सरकारले घोषणा गरेको ६ महीना र चालू आर्थिक वर्षको ५ महीना हुँदासम्म कार्यविधि तयार भएको छैन । कोरोना भाइरसबाट अधिक प्रभावित पर्यटन क्षेत्रलाई राहत तथा पुनरुत्थान गर्न निजामती तथा अन्य सरकारी संस्थानका कर्मचारीहरूलाई १० दिने पर्यटन काज उपलब्ध गराउने योजना कार्यान्वयन नहुँदा पर्यटन व्यवसायीहरू भने निराश देखिएका छन् । सरकारले ल्याएको कार्यक्रमले उत्साहित भएका पर्यटन व्यवसायीहरूले सोहीअनुसारका आकर्षक प्याकेजहरू बनाएका थिए । तर, त्यो प्याकेज काम नआएको व्यवसायीहरू बताउँछन् । होटेल व्यवसायीहरूले एयरलाइन्स कम्पनीहरूसँग सहकार्य गरेर प्याकेज बनाएको भए पनि कार्यविधि नै नबनी यो कार्यक्रम कार्यान्वयनमा नआउँदा निरास भएको हानका वरिष्ठ उपाध्यक्ष विनायक शाह बताउँछन् । ‘अहिलेसम्म कार्यविधि बनेको छैन । त्यसैले यो कार्यक्रमको सार्थकता नै भएन,’ शाहले भने, ‘५ महीना बित्दासमेत कार्यान्वयन नहुँदा पर्यटन उत्थानमै धक्का लागेको छ ।’ अहिले विदेशी पर्यटक नआउने भएकाले आन्तरिक पर्यटक चाहिएको हो भन्दै उनले अहिले पनि साप्ताहिक बिदा तथा अन्य समयमा आन्तरिक पर्यटकबाट भरथेग भएको बताए । सरकारले घोषणा गरेपछि लागू हुन्छ भनेर घर गएका कर्मचारीहरूलाई पनि बोलाएको भन्दै शाहले अहिलेसम्म सरकारले कार्यक्रम शुरू नगरेपछि अघि बढ्ने सम्भावना नभएको बताए । यो कार्यक्रम लागू हुन ढिला भइसकेको उनको भनाइ छ । टे«किङ एजेन्सिज् एशोसिएशन अफ नेपाल (टान)का अध्यक्ष खुमबहादुर सुवेदी कोभिडसँगै थलिएको पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले योजनामा मात्रै प्राथमिकता दिएको तर कार्यान्वयनमा भने गम्भिरता नदेखाएको गुनासो गरे । ट्रेकिङ व्यवसायमा उल्लेख्य सुधार नदेखिए पनि पछिल्लो समय विस्तारै सुधारोन्मुख देखिएको भन्दै उनले भने, ‘सरकारले ल्याएको यो योजना कार्यान्वयनमा आएको भए थप सुधार हुने निश्चित थियो । ट्रेकिङ व्यवसायीहरूले यसैलाई लक्षित गरेर बनाएका प्याकेज तथा योजनाहरू खेर गए ।’ कार्यविधिको मस्यौदामा कर्मचारीसँगै घुम्न जाने एकजना गैरकर्मचारी अर्थात् कर्मचारीको पारिवारिक सदस्यलाई पनि खर्च उपलब्ध गराउने व्यवस्था गरिएको छ । कर्मचारीसँगै घुम्न जाने एक जनालाई पनि सोही कर्मचारीले पाउने बराबरको रकम र यातायात खर्चबापत रू. २ हजार पनि उपलब्ध गराउने प्रस्ताव गरिएको छ । बजेट वक्तव्यमा ‘आन्तरिक पर्यटन प्रवर्द्धन गर्न निजामती, सार्वजनिक संस्थान र प्रतिष्ठानका कर्मचारीहरूलाई १० दिनको पारिश्रमिक बराबरको रकमसहित पर्यटन काज उपलब्ध गराइनेछ,’ भनी उल्लेख गरिएको छ ।

बागलुङका पर्यटकीय स्थलमा चहलपहल

बागलुङ । गण्डकी प्रदेशकै उत्कृष्ट धार्मिक पर्यटकीय स्थल बागलुङ कालिका मन्दिरलगायत स्थानमा आन्तरिक पर्यटक बढ्न थालेका छन् । कोरोनाअघि दैनिक १ हजारको हाराहारी पर्यटक आउने पञ्चकोटमा पनि तीन महिना अघिदेखि आन्तरिक पर्यटक बढेका छन् ।      विश्वकै चर्चित पर्यटकीय स्थल ढोरपाटनमा सिकार खेल्न विदेशी पर्यटले अनुमति पाइसेका छन् । गलकोटको सहस्रधारा झरना, टेउवाको खुला मूर्तिकला संग्रहालय, बागलुङ नगरपालिका–४ स्थित भूमिगत शालिग्राम संग्रहालयलमा पनि पर्यटकको चलहपहल सुरु भइसकेको छ ।      जिल्लाका अधिकांश व्यवसायलाई समेत खोपको प्रबन्ध भएपछि व्यापार व्यवसाय बढ्न थालेकोे जिल्ला उद्योग वाणिज्य संघ अध्यक्ष युवराज राजभण्डारीले बताए । ‘होटल तथा अन्य व्यवसायीलाई खोपको व्यवस्था गर्दै आएका छौं । अहिले बागलुङ बजारमा चहलपहल व्यापक भइसकेको छ । कालिका मन्दिर, पञ्चकोटलगायत धार्मिक तथा पर्यटकीय क्षेत्रमा समेत आन्तरिक पर्यटक देखिन थालेका छन्’, उनले भने,‘कोरोनाको दोस्रो लहरमा ठप्प रहेको व्यापार, होटल व्यवसाय, पर्यटन व्यवसाय चल्न थालेका छन् ।’ बागलुङ र पर्वतको बीचको कालीगण्डकी नदीमाथि रहेको बञ्जी पुलमा हेर्न आउने पर्यटकसमेत बढेपछि यहाँका होटलमा चहलपहल बढ्न थालेकोे होटल तथा रेस्टुराँ व्यवसायी संघ जिल्ला अध्यक्ष निलेश राजभण्डारीले जानकारी दिए ।      ‘थलिएको पर्यटन व्यवसाय विस्तारै उठ्न थालेको छ । होटलमा पाहुना आउन थालेका छन् । अब केही आशावादी भएका छौं । खोपको व्यवस्थापन भइरहेकाले हामी व्यवसायीसमेत विस्तारै व्यवसायमा केन्द्रित भएका छौं’, उनले भने, ‘पछिल्लो समय नयाँ पर्यटकीय गन्तव्य पहिचान र प्रवर्द्धन भएपछि निकै राम्रो भएको थियो तर कोरोनाले यहाँका व्यवसायलाई धराशयी नै बनायो । अहिले पुनः सुरु भएकाले केही राहत हुनेछ ।’      पछिल्लो समय बेलढुंगा, हाँडीकोट, मूर्तिकला, चमेरे गुफा, गाईघाट झरना र सहस्रधारा झरनामा पुनः चहलपहल सुरु भइरहेको छ । विश्वकै लामो पुल ‘गण्डकी गोल्डेन बृज’मा अहिले आन्तरिक पर्यटकको भीड नै लाग्ने गरेको छ भने कालिका मन्दिरमा मंगलबार र शनिबार भक्तजनको चाप बढ्दै गएको छ । रासस

पोखरामा आन्तरिक पर्यटकको चहलपहल बढ्यो

पोखरा । कोभिड–१९ कारण लामो समयदेखि सुनसान रहेको पोखराको लेकसाइडमा यतिबेला भने आन्तरिक पर्यटकले चहलपहल बढेको छ । सरकारले निषेधाज्ञा खुला गरेसँगै आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको हो ।    पोखराका लेकसाइड र आसपासका क्षेत्रमा लामो समयपछि आन्तरिक पर्यटकको चलहपहल देखिन थालेको पोखरा जाभा कफी हाउसका सञ्चालक एकराज न्यौपानेले बताए । ‘लामो समयपछि दसैं, तिहारको समयमा लेकसाइडको सडकमा चहलपहल देखिएको छ । विदेशी पाहुना नदेखिए पनि आन्तरिक पाहुनाको आगमनले केही उत्साह थपेको छ,’ उनले भने । लेकसाइड हल्लनचोकमा ट्रेकिङ इक्वीपमेन्ट शपका सञ्चालक प्रमोद भण्डारीले पनि सुस्ताएको व्यवसायमा आन्तरिक पर्यटकको आगमनले केही आशा पलाएको प्रतिक्रिया दिए । ‘हामीले विदेशी ग्राहक नदेखेको लामो समय भयो, यतिबेला टे«किङ जाने आन्तरिक पर्यटकका कारण पनि केही राहत मिलेको छ,’ उनले भने । हल्लनचोकस्थित होटेल दिदीका सञ्चालका विष्णु गुरुङले पोखरा आसपास र पदयात्रामा जाने आन्तरिक पाहुनाको आगमन राम्रो भएको बताए । उनका अनुसार अघिकांश पर्यटक पोखराको प्रमुख पर्यटकीय गन्तव्यसँगै घान्द्रुक, मर्दी हिमाल ट्रेक, अन्नपूर्ण बेसक्याम्प, अस्ट्रेलियन क्याम्पतिर जाने गरेका छन् । होटेल भिजिटर्स इनका सञ्चालक शर्मिला न्यौपानेले पनि कोभिड–१९ विरुद्धको खोपको सहजता र निषेधाज्ञा खुकुलोसँग यतिबेला लेकसाइडमा पाहुनाको चहपहल राम्रो रहेको बताइन् । ‘पर्यटकका लागि यो उपयुक्त सिजन हो । दसैं, तिहारको समयमा आन्तरिक पाहुनाको आगमन कोभिड अगाडि पनि राम्रै हुने गथ्र्याे । तर कोभिडपछि भने अहिले राम्रो देखिएको छ,’ उनले भनिन्, ‘दशैंलगत्तै परेको झरीले गर्दा मुस्ताङ जाने पर्यटक भने केही घटेको छ ।’ सरकारले विदेशी पर्यटकका लागि आगमन सहज गराएसँगै विस्तारै बाह्य पर्यटकको पनि आगमन बढ्ने सक्ने उनको विश्वास छ । पश्चिमाञ्चल होटेल एशोसिएशनका केन्द्रीय सदस्य भरत पराजुलीका अनुसार अहिले पोखरामा ७०० पर्यटकीय होटेल सञ्चालनमा छन् । कोरोनाका कारण सुस्ताएको पर्यटन क्षेत्रमा गति लिन अझै केही वर्ष लाग्ने भए पनि आन्तरिक पर्यटकको आगमनले यस क्षेत्रलाई केही राहत मिलेको उनको भनाइ छ । ‘करोडौंको लगानी छ, बाह्य पर्यटक नआएसम्म व्यवसायले गति लिन गाह्रो नै छ । तर अहिले सुनसान रहेको अवस्थामा आन्तरिक पर्यटकको आगमनले उत्साह थपेको छ,’ उनले भने, ‘पर्यटन क्षेत्रका मजदूर, कर्मचारी र व्यवसायीलाई पूर्ण खोपको सुनिश्चितताको आवश्यकता छ ।’ पर्यटन पुनरुत्थानका राज्यस्तरबाटै नीतिगत रूपमा विशेष कार्यक्रम ल्याउन जरुरी रहेको उनको भनाइ छ । पर्यटन क्षेत्रले कोभिडका कारण निकै कठिन समय बेहोरिसकेको भन्दै नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख काशीराज भण्डारीले अब बिस्तारै लयमा आउने विश्वास व्यक्त गरे । ‘हालै पोखरामा ११ देशका कूटनीतिज्ञको भ्रमणले पोखराको पर्यटनमा सकारात्मक सन्देश गएको छ । अब पर्यटन पुनरुत्थानको कार्यक्रममा जोड दिनुपर्छ,’ उनले भने । पोखरामा फेवाताललगायत आसपासका पर्यटकीय गाउँ र ट्रेकिङ क्षेत्रमा आन्तरिक पाहुनाको आगमन राम्रो भएको उनले बताए । पोखराको फेवातालमा डुंगा शयर गरी बाराही मन्दिर दर्शन गर्नेको संख्या पनि बढेको डुंगा सञ्चालक समितिका अध्यक्ष बुद्धिबहादुर नेपालीले बताए । उनका अनुसार अहिले दैनिक डेढ सयदेखि दुईसय डुंगा चलिरहेका छन् । फेवातालमा सात सय ७५ ओटा डुंगा छन् । त्यसैगरी साहसिक खेलका रूपमा रहेका प्याराग्लाइडिङ, बञ्जी जम्प, जिप–फ्लायर, अल्ट्रालाइट उडानमा पनि आन्तरिक पर्यटक रमाइरहेका छन् । रासस

जुर्मुरायो चितवनमा पर्यटन

कोरोनाले शिथिल बनेको चितवनको पर्यटन क्षेत्र अहिले जुर्मुराउन थालेको छ । चितवनको सौराहा, पश्चिम चितवनको पटिहानी, मेघौलीमा अहिले पर्यटक भरिन थालेको पर्यटन व्यवसायीले जानकारी दिएका छन् । दशैँको बिदाबाट आन्तरिक पर्यटक आउन थालेका चितवनमा अहिले त्यो क्रम नरोकिएको क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईले जानकारी दिनुभयो । “कोरोनाले होटल बेच्नपर्ने अवस्थामा आएको थियो, अहिले थोरै मात्रामा भए पनि राहत मिलेको छ,” भट्टराईले भन्नुभयो । दशैँदेखि तिहारसम्म चहलपहल भएको छ यो क्रम नरोकिए व्यवसाय राम्रो हुनेछ । एमालेको महाधिवेशनले पनि पर्यटनको आगमनमा ठूलो मद्दत मिल्ने आशा गरेका छौँ, उहाँले भन्नुभयो । “चार हजार ५०० व्यक्ति राख्न हामीलाई समस्या छैन । पार्टीले क्षमताबारे जानकारी मागेको छ, हामीले दिएका छौँ,” अध्यक्ष भट्टराइले भन्नुभयो, “चार हजार ५०० जना हामीले सजिलै राख्न सक्छौँ, यसमा कुनै समस्या छैन । ”

लयमा फर्किंदै तनहुँको पर्यटन

दमौली । कोरोनाका कारण सुस्ताएको तनहुँको पर्यटन पुनः पुरानै स्थितिमा आउन थालेको छ । लामो समयसम्म कोरोना संक्रमणका कारण सुस्ताएको जिल्लाको पर्यटनले विस्तारै गति लिन थालेको हो । कोरोना संक्रमण न्यूनीकरण भएर जनजीवन सामान्य बन्न थालकाले जिल्लाका पर्यटकीय स्थानमा पर्यटकको चहलपहल बढ्न थालेको छ । यसबाट व्यवसायी पनि आशावादी हुुन थालेका छन् । अहिलेको याममा बिहानको सूर्याेदयसँगै कुहिराले ढाकिएको दृश्य हेर्न आन्तरिक पर्यटक व्यास नगरपालिका–५ मानुङकोट उक्लिन थालेका देखिन्छन् । पछिल्लो केही दिनयता दैनिक सयौंको संख्यामा पर्यटक मानुङकोट पुग्ने गरेको वडाध्यक्ष मोहनकुमार श्रेष्ठले जानकारी दिए । गतवर्षदेखि मानुङकोटमा आन्तरिक पर्यटकको आगमन ह्वात्तै बढेको हो । गतवर्षको कात्तिकमा एकै दिन १० हजारभन्दा बढी पर्यटक यहाँ आइपुगेका थिए । मानुङकोटमा आन्तरिक पर्यटकको चाप बढ्न थालेपछि गत वर्षदेखि स्थानीयवासीले प्रत्येक घरमा होटल खोलिसकेका छन् । यहाँबाट धवलागिरि, माछापुच्छ्रे, अन्नपूर्ण, मनास्लु, लमजुङ हिमाल अवलोकन गर्न सकिन्छ । साथै दमौली बजारलगायत आसपासका क्षेत्र पनि छर्लंग देखिन्छ । मानुङकोट जाने बाटो कालोपत्रसमेत हुन थालेकोे छ । केही ठाउँमा कालोपत्र भइसकेको छ भने केही ठाउँमा गर्न बाँकी छ । जिल्लाको अर्काे पर्यटकीय नगरी बन्दीपुरमा पनि यतिबेला पर्यटकको चहलपहल बढेको छ । दसैं बिदापछि आन्तरिक पर्यटकको चहलपहल बढेपछि यहाँका व्यवसायी उत्साहित भएका छन् । कोरोनाका कारण २ वर्षदेखि पर्यटक ठप्प भएको बन्दीपुरमा अहिले आन्तरिक पर्यटक वृद्धि भएको बन्दीपुर पर्यटन विकास समितिका सचिव वसन्त पौडेलले जानकारी दिए । सुस्ताएको यहाँका होटल व्यवसायीमा अहिले आशा पलाएको उनले बताए । ‘२ वर्ष यहाँको व्यवसाय ठप्प रह्यो, अहिले पर्यटकको चहलपहलले आशा जगाएको छ,’ सचिव पौडेलले भने, ‘यो क्रम निरन्तर रहे व्यवसायीलाई राहत हुन्छ ।’ होटल दरबार हिमालयका सञ्चालक वैश गुरुङले स्वदेशी पाहुनाको आगमन बढेसँगै व्यवसायीमा आशा जगाएको बताए । अधिकांशले कोरोनाविरुद्धको खोप लगाएका कारण पनि घुम्न निस्किएका हुन सक्ने उनको भनाइ थियो । बन्दीपुरका होटल व्यवसायीले छूट प्याकेजसमेत ल्याउने तयारी गरेका छन् । बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानका अनुसार पर्यटकलाई आकर्षित गर्न छूट प्याकेज ल्याउने तयारी छ । यहाँ होटल संघसँग आबद्ध साना ठूला गरी ७७ होटल सञ्चालनमा छन् । बन्दीपुरमा ग्रिनपार्क, होटल दरबार हिमालय फेवा, गामघर, बोल्डइन, बन्दीपुर माउन्टेन रिसोर्ट, बन्दीपुर प्यालेस, मगर भिजेललगायत होटल सञ्चालित छ ।   यसैगरी म्याग्दे गाउँपालिका–२ स्थित ज्यानटाङ सामुदायिक वनमा रूखमाथि निर्माण गरिएको घरमा पनि पर्यटकको चहलपहल बढेको छ । यहाँ दैनिक १०० भन्दा बढी आन्तरिक पर्यटक आउने गरेको सामुदायिक वनका अध्यक्ष ईश्वर रानाभाटले जानकारी दिए । भिमाद नगरपालिका–९ मोहोरियास्थित अग्लो ढुंगामा पनि आन्तरिक पर्यटकको चहलपहल बढिरहेको छ । अग्लो ढुंगा सिँगारेर उद्यान बनाइएपछि यस ठाउँ आन्तरिक पर्यटकको रोजाइमा परेको स्थानीयवासी शिवकुमार आलेले बताए । रासस

पुरानै स्थितिमा फर्किदैछ तनहुँको पर्यटन

कात्तिक ७, दमौली । कोरोनाका कारण सुस्ताएको तनहुँको पर्यटन पुनः पुरानै स्थितिमा आउन थालेको छ । लामो समयसम्म कोरोना संक्रमणका कारण सुस्ताएको जिल्लाको पर्यटनले विस्तारै गति लिन थालेको हो ।  कोरोना संक्रमण न्यूनीकरण भएर जनजीवन सामान्य बन्न थालकाले जिल्लाका पर्यटकीय स्थानमा पर्यटकको चहलपहल बढ्न थालेको छ । यसबाट व्यवसायीहरू पनि आशावादी हुुन थालेका छन् । अहिलेको याममा बिहानको सूर्योदयसँगै कुहिराले ढाकिएको दृश्य हेर्न आन्तरिक पर्यटक व्यास नगरपालिका–५ मानुङकोट उक्लिन थालेका देखिन्छन् । पछिल्लो केही दिनयता दैनिक सयौँको संख्यामा पर्यटक मानुङकोट पुग्ने गरेको वडाध्यक्ष मोहनकुमार श्रेष्ठले जानकारी दिए ।  ‘बिहानको सूर्योदय र कुहिराले ढाकिएको दमौलीको दृश्य अवलोकनका  साथै दिउँसोका समयमा हिमशृंखला हेर्न पनि पर्यटकको आगमन बढेको छ’, उनले भने, ‘राति बास बस्नेको संख्या पनि उत्तिकै छ ।’ गत वर्षदेखि मानुङकोटमा आन्तरिक पर्यटकको आगमन ह्वात्तै बढेको हो । गत वर्षको कात्तिकमा एकैदिन १० हजारभन्दा बढी पर्यटक यहाँ आइपुगेका थिए । दमौली बजारले कुहिराको घुम्टो ओढेर सूर्य उदाउँदाको दृश्य हेर्न लालायीत आन्तरिक पर्यटक मानुङकोट पुग्ने गरेका छन् । ‘अहिले दशैंपछि मानुङकोटमा पर्यटकको चहलपहल बढेको छ’, स्थानीय व्यवसायी रेवती आलेले भने, ‘पर्यटक बढेसँगै यहाँको व्यवसाय पनि बढेको छ ।’ मानुङकोटमा आन्तरिक पर्यटकको चाप बढ्न थालेपछि गत वर्षदेखि स्थानीयवासीले प्रत्येक घरमा होटल खोलिसकेका छन् ।  यहाँबाट धौलागिरि, माछापुच्छ्रे, अन्नपूर्ण, मनास्लु, लमजुङ हिमाल अवलोकन गर्न सकिन्छ । साथै दमौली बजारलगायत आसपासका क्षेत्र पनि छर्लङ्ग देखिन्छ । मानुङकोट जाने बाटो कालोपत्रसमेत हुन थालेकोे छ । केही ठाउँमा कालोपत्र भइसकेको छ भने केही ठाउँमा गर्न बाँकी छ ।  जिल्लाको अर्को पर्यटकीय नगरी बन्दीपुरमा पनि यतिबेला पर्यटकको चहलपहल बढेको छ । दशैं बिदापछि आन्तरिक पर्यटकको चहलपहल बढेपछि यहाँका व्यवसायी उत्साहित भएका छन् । कोरोनाका कारण दुई वर्षदेखि पर्यटक ठप्प भएको बन्दीपुरमा अहिले आन्तरिक पर्यटक वृद्धि भएको बन्दीपुर पर्यटन विकास समितिका सचिव वसन्त पौडेलले जानकारी दिए ।  सुस्ताएको यहाँका होटल व्यवसायीमा अहिले आशा पलाएको उनले बताए । ‘दुई वर्ष यहाँको व्यवसाय ठप्प रह्यो, अहिले पर्यटकको चहलपहलले आशा जगाएको छ’, सचिव पौडेलले भने, ‘यो क्रम निरन्तर रहे व्यवसायीलाई राहत हुन्छ ।’ होटल दरबार हिमालयका सञ्चालक वैश गुरुङले स्वदेशी पाहुनाको आगमन बढेसँगै व्यवसायीमा आशा जगाएको बताए । अधिकांशले कोरोनाविरुद्धको खोप लगाएका कारण पनि घुम्न निस्किएका हुनसक्ने उनको भनाइ थियो  बन्दीपुरका होटल व्यवसायीले छूट प्याकेजसमेत ल्याउने तयारी गरेका छन् । बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानका अनुसार पर्यटकलाई आकर्षित गर्न छुट प्याकेज ल्याउने तयारी छ । यहाँ होटल संघसँग आबद्ध साना ठूला गरी ७७ ओटा होटल सञ्चालनमा छन् ।  बन्दीपुरमा ग्रिनपार्क, होटल दरबार हिमालय फेवा, गामघर, बोल्डइन, बन्दीपुर माउण्टेन रिसोर्ट, बन्दीपुर प्यालेस, मगर भिजेललगायत होटल सञ्चालित छन् ।  यसैगरी म्याग्दे गाउँपालिका–२ स्थित ज्यानटाङ सामुदायिक वनमा रुखमाथि निर्माण गरिएको घरमा पनि पर्यटकको चहलपहल बढेको छ । यहाँ दैनिक १०० भन्दाबढी आन्तरिक पर्यटक आउने गरेको सामुदायिक वनका अध्यक्ष ईश्वर रानाभाटले जानकारी दिए । रासस

पोखरामा ८५ प्रतिशत पर्यटक आन्तरिक

पोखरा (कास्की) । दशैंयता पोखराका तालतलैया, गुफा, धार्मिकस्थल अधिकांश स्थानमा आन्तरिक पर्यटकको चहलपहल देखिएको छ । कोरोना विपद्का कारण झन्डै २ वर्षयता सुनसान बनेको पोखरामा पर्यटकको आगमन बढ्न थालेसँगै पर्यटन क्षेत्रमा पनि आशा जगाएको छ ।  फेवातालमा डुङ्गा शयर होस् वा आसपासका सराङकोट, काहुँकोट, विश्वशान्ति स्तुप, पुम्दीकोट, हुडिकोट आदि स्थानमा पर्यटकको बाक्लै उपस्थिति देखिएको छ । यी स्थानबाट देखिने सूर्योदयको अवलोकनसँगै हिमाली दृश्यले पर्यटकलाई लोभ्याएको छ । पोखरामा विशेषतः सेप्टेम्बरदेखि डिसेम्बरसम्मको समय अत्यधिक पर्यटक आउने समय भए पनि कोरोनाका कारण सुनसान बनेको यहाँको पर्यटनलाई दशैंको आगमनले ठूलै राहत पुर्‍याएको पश्चिमाञ्चल होटेल संघका अध्यक्ष लक्ष्मण सुवेदीले बताए । दशैंमा कार्यालयमा हुने बिदाका साथै घटस्थापनादेखि कोजाग्रतसम्म नै शैक्षिक संस्था बन्द हुने भएका कारण यसअवधिमा विगतमा पनि देशका विभिन्न स्थानबाट आएका पर्यटकले चलायमान बनाउँथ्यो । कोरोनाको संक्रमण पनि घट्दै गएका कारण दशैंसँगै पर्यटक आउनेक्रम बढेको यहाँका पर्यटन व्यवसायी बताउँछन् । दशैंअघिसम्म सुनसान जस्तै रहेका पोखराका होटेलमा यतिखेर क्षमताको करीब ३५ प्रतिशत आन्तरिक पर्यटकले भरिएको लेकसाइडस्थित होटेल एशियाका सञ्चालक धर्मराज पन्थीले जानकारी दिए । पोखरामा साना ठूला गरी झन्डै १ हजार होटेल छन् । यसमध्ये १६ ओटा तारे होटेल छन् । कोरोना संकटपछि यहाँका ठूला होटेलले पर्यटकका लागि प्याकेज उपलब्ध गराएका कारण ती होटेलमा साना तथा मझौला होटेलको तुलनामा बढी पर्यटक पुगेका छन् । विभिन्न वित्तीय संस्था, कार्यालय आदिका कार्यक्रम ठूला होटेलमा गरिनुले पनि ती होटेलमा पर्यटकको संख्या बढेको हो । यो समयमा पोखरा भित्रिएका पर्यटकमध्ये ठूला होटेलमा क्षमताको ५० प्रतिशत पर्यटक पुगेका छन् भने साना होटेलमा क्षमताको २५ प्रतिशत पर्यटक पुगेको हान पश्चिमाञ्चलका अध्यक्ष सुवेदीले जानकारी दिए । उनका अनुसार पोखराका होटेलमा हालसम्म झन्डै पौने ४ खर्ब बराबरको लगानी भइसकेको छ । हाल पोखरा भित्रिएका पर्यटकको तथ्याङ्कअनुसार १० प्रतिशत भारतीय पर्यटक छन् भने अन्य बाह्य पर्यटक ५ प्रतिशत छन् । कुल पर्यटकको ८५ प्रतिशत आन्तरिक पर्यटक छन् । सेप्टेम्बरदेखि डिसेम्बरसम्म पदयात्रा र पर्वतीय पर्यटनका लागि विदेशी पर्यटक आउने गर्छन् । पोखरा आउने विदेशी पर्यटकमध्ये ८० प्रतिशत पदयात्रामा जाने गरेको ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल(टान) पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराका अध्यक्ष सुशीलराज पौडेलले जानकारी दिए । उनका अनुसार यस याममा पदयात्राका लागि फाट्टफुट्ट बुकिङ आउन थालेको छ । आन्तरिक पर्यटकले घान्द्रुक, घोरेपानी, मर्दी, अन्नपूर्ण आधार शिविर, कफुचे, कोरी आदि स्थानमा पदयात्रामा जाने गरेको उनले जानकारी दिए । दशैंका अवसरमा सरकारी तथा निजी कार्यालय र कम्पनीले दशैं पेश्की एवं बोनस दिने गरेका कारण अधिकांशले यसको उपयोग घुमफिरमा खर्चने गरेको पाइन्छ । आन्तरिक पर्यटकको पहिलो रोजाइ पोखरामा पर्ने भएकाले अधिकांशले २ देखि ३ दिनसम्मको समय छुट्ट्याएर पोखरा आउँछन् । पोखरा आउने पर्यटकले माछापुच्छ्रे हिमालको छायाँ देखिने फेवातालमा डुङ्गा शयर गरी तालबाराहीको दर्शन गर्छन् भने हिमाली दृश्यावलोकनका लागि सराङकोट, विश्वशान्ति स्तूप, पुम्दीकोटलगायत स्थान पुग्ने गर्छन् । पोखराको तालबाराहीसहित विन्ध्यवासिनी, भद्रकाली, गुप्तेश्वर महादेव गुफा धार्मिक पर्यटकीयस्थल हुन् भने यहाँका पातले छाँगो, सेती नदीको गल्छी, महेन्द्र गुफा, चमेरे गुफा, अन्तरराष्ट्रिय पर्वतीय संग्रहालयले पोखरामा पर्यटकको बसाइ लम्ब्याउने गरेको छ । लेखनाथ क्षेत्रका बेगनास, रुपा, दीपाङ, मैदी, गुँदेजस्ता तालले पनि पर्यटकलाई आकर्षित गर्ने गरेका छन् । रासस

पर्यटन क्षेत्रमा ‘सिल्भर लाइन’

सन् २०१९ मा पर्यटकको संख्या र आम्दानी राम्रो भएको थियो । करीब १२ लाख पर्यटक नेपाल आएका थिए र राम्रो आम्दानी पनि भएको थियो । नजिकिँदो नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरेर लगानी पनि बढेको थियो । तर, भ्रमण वर्षको शुरुआतमै कोरोना भाइरस (कोभिड–१९)ले नेपाललाई मात्रै नभई विश्वलाई नै समस्यामा पार्‍यो जुन अहिले पनि छ । आफू पनि बाँच्न र व्यवसायलाई पनि बचाउन अहिले व्यवसायीदेखि सामान्य मानिसहरू संघर्षरत छन् । हामी डेढ वर्षदेखि कोरोनासँगसँगै हिँडिरहेका छौं । शुरूमा यसले निकै त्रस्त पारेको थियो, तर अहिले योसँगै हिँड्ने र बच्दै अघि बढ्नुको विकल्प हामीसँग छैन । कालो बादलमा चाँदीको घेराजस्तै अहिले संकटका बीच अवसर खोज्ने र बाँच्ने बचाउने अवस्था हो । पर्यटन क्षेत्र नेपालको अर्थतन्त्रको मुख्य टेको नै हो । यसले गर्दा यो क्षेत्रमा सुधार देखिनासाथ केन्द्रदेखि स्थानीय तहसम्म सकारात्मक प्रवाह जान्छ । नेपाल साहसिक पर्यटनका लागि प्रख्यात छ, यसका लागि पर्यटकहरू कोरोना विपद्कै बीच आएका पनि छन् । यसरी आएका पर्यटक र आन्तरिक पर्यटकका कारण पर्यटन क्षेत्रमा ‘सिल्भर लाइन’ देखिन्छ ।  सन् २०२० मा २ लाख ३० हजार मात्रै पर्यटक आए भने सन् २०२१ म पनि यही अंक हुने आकलन गरिएको छ । यद्यपि पर्यटकीय सिजन अक्टोबर, नोभेम्बरमा कति पर्यटक आउँछन् त्यसमा यो कुरा भर पर्छ । २०१९ मा आएका पर्यटकको तुलनामा यो वर्ष २५ प्रतिशत पनि पर्यटक ल्याउन सकिने अवस्था छैन । यसबाट अहिले पर्यटन उद्योग कहाँ छ र कत्तिको समस्यामा छ भन्ने चित्रण गर्छ । पर्यटन उद्योगमा काम गर्ने र लगानी गर्नेको अवस्था पनि यसैबाट स्पष्ट हुन्छ । पर्यटन व्यवसायीहरू १२ लाख पर्यटक आउँदा पनि २०१९ मै डगमगाएका थिए किनभने ‘पर्यटन वर्ष २०११’ ले पर्यटनमा फड्को मारेको थियो । २५ वर्षसम्म ५ लाख पर्यटक आएको मुलुकमा त्यस वर्ष ८ लाख पुगेको थियो ।  पर्यटक आगमनको संख्यामा वृद्धि भएको देखेपछि बैंकहरूदेखि लिएर लगानीकर्ता र नेतृत्वसम्मले पर्यटनलाई समृद्धिको मानक मान्न थालेका हुन् । त्यसमा लगानी बढाउन थालेका हुन् । कहिले पनि पर्यटन र पर्यटकतर्पm हेर्न नचाहनेहरूको दृष्टिमा पर्यटन क्षेत्र पर्न थालेको हो । नबुझेर नै लगानी गर्नेको लर्काे पनि लागेको थियो । त्यो लगानी भने व्यक्तिगत नभई बंैक तथा फाइनान्सबाट ऋण लिएर गरिएको थियो । भ्रमण वर्षको ८ वर्षमै नेपालमा पर्यटक आगमन संख्यामा उल्लेख्य वृद्धि भए पनि हामीहरू २०१९ मै डराएका थियौं । किनभने हस्पिटालिटी क्षेत्रमा मागभन्दा आपूर्ति बढी हुने देखियो ।  यही बेला कोरोना भाइरस (कोभिड–१९) ले पर्यटनलाई थला पार्‍यो । अब सन् २०१९ को अवस्थामा पुग्न हामीलाई ५ वर्ष कुर्नुपर्ने हुन्छ । अर्थात् पर्यटन क्षेत्र बाउन्स ब्याक हुन अझै ५ वर्ष कुर्नुपर्छ । सरोकारवाला क्षेत्रलाई लाग्यो होला, व्यवसायीहरूले सरकारसँग राहत लिन, सुविधा पाउन नराम्रो कुरा गरे । तर, अहिले पर्यटन व्यवसायको अवस्था ज्यादै नराम्रो छ र केही वर्ष कुनै पनि हालत उठ्न सक्ने देखिनन । सन् २०२५ मा पनि पर्यटन क्षेत्र लयमा फर्कन सक्छ, वा सक्दैन भन्ने स्पष्ट देखिएको छैन ।  हामीलाई थाहा थिएन, कोभिडले यसरी व्यापक र लामो समय प्रभाव पार्नेछ । यो अवस्था सरकार र व्यवसायी कसैले ल्याएको होइन । त्यसो भए अब के गर्ने भन्ने प्रश्न आउँछ । सरकार र व्यवसायी दुवै मिलेर समाधान खोज्नुपर्छ । २ वर्षदेखि हामी यही भाइरससँगै बाँचिरहेका छौं । यसको समाधान गर्ने पहिलो दायित्व त सरकारको नै हो । हामीले सधैं सही समयमा सरकारलाई प्रत्यक्ष रूपमा २५ प्रतिशत आयकर बुझाउने गरेका छौं । साबिकको समयमा मूल्यअभिवृद्धि कर (भ्याट), टीडीएस, स्थानीय करहरू बुझाउने गरेको छौं । अहिले हामी उठ्नै नसक्ने गरी अप्ठ्यारामा परेका छौं । त्यसैले सरकारबाट सहयोगको अपेक्षा राख्नु हाम्रो अधिकार हो । हामीले लगानी गरेका हुन्छौं । सरकारले कर लिन्छ र कमाउँछ । कर भनेको भनेको त हाम्रो इस्योरेन्स जस्तै हुनुपर्ने हो । खराब समयमा त सरकारले हेर्नुपर्छ । कमाउँदा हामीले सरकारलाई कर तिरेकै छांै । सरकारले हामीसँग आम्दानी छैन, व्यवसायीहरूलाई कसरी सहयोग गर्ने भन्दै आएको छ । यो समयमा हामी लगानीकर्ताले सरकारको भाषालाई कसरी बुझ्ने त ⁄ अहिलेको प्राथमिकता मानिसको दैनिकी सहज बनाउनु हो । एक गाँस जोहो गर्न नसक्नेलाई सहयोग गर्नु हो । अहिले अधिकारको कुराभन्दा पनि मानवीय व्यवहार देखाउनुपर्छ । अर्काेतर्पm राज्यसँग अहिले सहयोग गर्ने अवस्था कमजोर छ भन्दैमा सरकार हात बाँधेर बस्न पक्कै मिल्दैन । राज्यले केही नदिने, पर्यटकहरू पनि नआउने हो भने त पर्यटन व्यवसाय ध्वस्तै नहोला भन्न सकिँदैन । आम्दानी घटेपछि खर्च घटाउनेबाहेक विकल्प हामीसँग अरू छैन । त्यसकारण अहिले सरकारबाट एउटा सहयोग हामीलाई चाहिन्छ । यो निकै सरल पनि छ । सरकारले खर्च घटाउने बाटो दिनुपर्छ । होटेलहरूको अधिक खर्च श्रमिकहरूका लागि तलबभत्तामा हुन्छ । यसलाई कटौती गर्न सरकारले स्वीकृति दिनुपर्छ । दोस्रो भनेको बैंकको ऋण, विद्युत् महसुल, सम्पत्ति करजस्तै अन्य करहरू घटाउन सरकारले मद्दत गर्नुपर्छ । आम्दानी नभए पनि यी कर तथा राजस्वहरू तिर्न दबाब आएको हुन्छ । यसकारण यस्ता विषयहरू घटाउन सरकारले सहयोग गर्नुपर्छ ।  पर्यटनको पुनरुत्थान कसरी गर्ने त ? अहिलेको अहम् प्रश्न हो । यो नेपालले चाहेर मात्रै हुँदैन । अहिले पर्यटकलाई लागिरहेको छ नेपाल ‘रेड जोन’मा छ । कोरोनाको अवस्थाका आधारमा देशहरूलाई ४ जोनमा राखिएको छ । रेड, यल्लो, एम्बर र ग्रीन जोनमा हेरिएको छ । ग्रीन सीधै स्वागत गर्ने, एम्बर क्वारेन्टाइन बसेर भए पनि आउने, यल्लो र रेड भनेपछि नेपाल आउन नै बन्द गर्ने खालका पर्यटक छन् । बेलायती पर्यटक नेपाल आयो भने नेपाल रेड जोनमा भएका कारण घर फर्किंदा पनि उसले क्वारेन्टाइनमा बस्नुपर्छ । त्यसैले नेपालले ग्रीन जोनमा जानका लागि प्रयास गर्नुपर्छ । सबैले कोभिडविरुद्धको खोप लगाएपछि नेपाल ग्रीन जोनमा जान सक्ने अवस्था आउन सक्ला ।  पुनरुत्थानका लागि सबैभन्दा पहिला ग्रीन जोनमा जाने नै हो । हामीलाई हिजोसम्म पनि थाहा थिएन, अहिले त थाहा भयो नि । त्यसका लागि सबैले खोप लगाउनुप¥यो । त्यसको जिम्मा सरकारले लिनुपर्छ । तर, नेपालका लागि सिल्भर लाइन के छ, भने यहाँ आउने पर्यटकहरूको राम्रै हिस्सा साहसी पर्यटकहरूको छ । उनीहरू नडराउने खालका हुन्छन् । हाम्रो मुख्य पर्यटन बजार पनि त्यही हो । द्वन्द्वको समयमा नेपालीहरू डराएको अवस्थामा पनि पर्यटकहरू नडराई आएका थिए । बन्द हडतालको त्यस समयमा पनि २ लाख पर्यटकहरू नेपाल आएका थिए । नेपालमा आउने पर्यटकहरू साहसिक हुन्छन्, जोखिमसँग नडराउने खालका हुन्छन् । हामी रेड जोनमा पर्दापर्दै पनि कुनै मतलबै नगरी नेपाल आउनेछन् ।  पहिला नेपालमा धेरै पर्यटक एड्भेन्चर्सका लागि आउँथे । तर, अहिले तिनको हिस्सा ३५ प्रतिशत जति मात्रै छ । यी पर्यटकलाई लक्षित गरेर काम गर्नुपर्छ । नेपालमा कोरोनासम्बन्धी स्वास्थ्य मापदण्डहरू कागजमा मात्रै सीमित छन् । अहिले भएका स्वास्थ्य मापदण्डहरूमा केही लचिलो बन्न सके केही सजिलो हुन्छ । यद्यपि सतर्क भने हुनैपर्छ । जोखिम लिन रुचाउने विदेशी पर्यटकहरू नै अहिलेको मार्केट हो । अब नेपालले उनीहरूलाई आउन दिने कि नदिने भन्ने विषयमा निर्णय गर्नुपर्छ ।  तत्कालीन ओली सरकारले रू. ५० अर्ब र रू. १ खर्बको सस्तो कर्जाको प्याकेज ल्याएको थियो । रू. ५० अर्बको प्याकेज पर्यटन व्यवसायीलाई आवश्यक छैन भनिएको थियो । सहयोग व्यवसायीलाई नदिई जागीरमा भएकालाई दिनुपर्छ भन्ने थियो । यही समय हो, असललाई प्र्रोत्साहित गर्ने । पहिलो सामाजिक सुरक्षा कोषमा भएकालाई राहत दिनुपर्छ भनियो र कोषमा पठाउनुपर्ने रकम सरकारले ब्यहोर्‍यो । यो राम्रो हो तर नेपालमा भएकामध्ये १० प्रतिशत होटेलमात्र कोषमा आबद्ध छन् । यो सहयोग ९० प्रतिशत होटेलले पाएनन् । त्यसैले सरकारले ल्याएको राहत प्याकेजले पर्यटन व्यवसायलाई खासै राहत दिएको छैन । अब पर्यटन व्यवसाय बचाउने हो भने साहसी पर्यटकहरू आउने वातावरण बनाउन आवश्यक छ । साथै, मुलुकको पर्यटन क्षेत्र बचाउन आन्तरिक पर्यटनलाई प्रोत्साहित गर्नुपर्छ । आन्तरिक पर्यटन बढाउन सरकारले पनि १० दिनको ‘पेड होलिडे’ कार्यान्वयन गर्ने भनेको छ । यो सकारात्मक छ । संसारका धेरै देशमा यस्तो व्यवस्था छ । काम गर्नेलाई पुनः ऊर्जा प्रदान गर्न र सम्पत्ति वितरणमा योगदान गर्न यस्तो अवधारणा कार्यान्वयनमा ल्याइन्छ । पर्यटनको राम्रो पक्ष भनेकै सम्पत्तिको वितरण हो । १ जना पर्यटक आउँदा धेरै पाटोमा रोजगारी सृजना गर्छ । पर्यटकले आर्थिक पाटोलाई नै चलायमान बनाउँछ र मुद्रालाई वितरण गर्न टेवा दिन्छ । पर्यटन बिदाका शीघ्र कार्यान्वयन भए यस व्यवसायलई थोरै भए पनि राहत मिल्छ । सरकारले जे कार्यक्रम ल्याए पनि कार्यान्वयनमा आशंका गर्नुपर्ने अवस्था छ । अहिले १० दिनको भ्रमण बिदामा पनि यस्तो आशंका देखिएको छ । सरकारले सम्बद्ध कार्यालयहरूबाट सिधै १० दिनेका काज बिदा नदिइ निश्चित प्रक्रिया पुर्‍याएर मात्रै दिनुपर्छ । सरकारले ‘पेड होलिडे’ नीति लिएको नै पर्यटन बचाउनका लागि हो । त्यसैले उक्त रकम दुरुपयोग भयो भने यो कार्यक्रम नै गलत साबित हुन्छ । बिदा दिएर मात्रै हुँदैन, यसका लागि प्रक्रिया पनि हुनुपर्छ । कर्मचारी पर्यटनलाई नै योगदान दिने गरी ‘पेड होलिडे’ मा जाओस् भन्ने खालले कार्यविधि बनाउनुपर्छ । सन् २०२५ सम्म नेपालको पर्यटन क्षेत्र ‘बाउन्स ब्याक’ हुँदैन । सन् २०१९ को अवस्था अर्थात् १२ लाख पर्यटक ल्याउन केही वर्ष लाग्छ । त्योभन्दा बढी पर्यटकलाई सेवा दिने गरी पूर्वाधार बनेको छ । यसलाई बचाउन आवश्यक छ । अहिले हामी बाँच्न र व्यवसाय बचाइराख्न संघर्षरत अवस्थामा छौं । तत्कालका लागि पर्यटन पुनरुत्थान गर्न आन्तरिक पर्यटनलाई प्रोत्साहित गर्नुको विकल्प छैन । २०२५ सम्म पर्ख र हेरको अवस्था छ । कोरोना कहिलेसम्म रहन्छ भन्ने विषय यकिन छैन । यसैले आर्थिक पुनरुत्थानमा पर्यटन क्षेत्रको योगदान बढाउने हो भने अहिले भएका मापदण्डहरूलाई लचिलो बनाउँदै एड्भेन्चरका लागि नेपाल आउने पर्यटकलाई खुला गर्नुपर्छ । आन्तरिक पर्यटक बढाउन र १० दिने काज बिदालाई जतिसक्दो छिटो कार्यान्वयनमा ल्याउनुपर्छ । (कुराकानीमा आधारित)

पर्यटक आकर्षित गर्न छुट प्याकेज घोषणा

आन्तरिक पर्यटक आकर्षित गर्ने उद्देश्यले तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा सञ्चालित होटल व्यवसायीले छुट प्याकेज घोषणा गरेका छन् । कोभिड–१९ ले थला परेको बन्दीपुरको पर्यटन व्यवसाय उकास्नका लागि यहाँका व्यवसायीले होटलमा छुट प्याकेज घोषणा गरेका हुन् ।           चाडपर्वलाई लक्षित गरी सबै होटल तथा रेष्टुरेण्टले १० देखि १५ प्रतिशतसम्म छुट प्याकेज दिइरहेको क्षेत्रीय होटल व्यवसायी सङ्घ बन्दीपुरका अध्यक्ष विपीन प्रधानले जानकारी दिनुभयो । “कोरोनाको कहरले थला परेको बन्दीपुरको पर्यटन व्यवसायलाई गतिशिल बनाउनका लागि पनि आन्तरिक पर्यटक आकर्षित गर्नुको विकल्प छैन”, उहाँले भन्नुभयो, “त्यसका लागि सबै होटल व्यवसायीले छुट प्याकेज सार्वजनिक गरेका छन् ।”           यतिबेला छिटपुट रुपमा आन्तरिक पर्यटक बन्दीपुर भ्रमणका लागि आइरहेको र छुट प्याकेजले पर्यटक आकर्षित गर्न सहयोग पुग्ने विश्वास गरिएको छ । अध्यक्ष प्रधानका अनुसार सङ्घमा आबद्ध ७७ होटलमा आउने पाहुनाले उक्त छुट पाउनेछन् । “सुरक्षाको मापदण्ड अपनाएर होटल रेष्टुरेण्ट खुलेका छन् । पर्यटकलाई सुरक्षित रुपमा स्वागत तथा विदाईको अभियान चलाएका छौं”, उहाँले भन्नुभयो, “छुटको प्याकेजले आन्तरिक पर्यटक आकर्षित हुनेमा हामी विश्वस्त छौ ।”           बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसन प्रधानले पर्यटकको चहलपहल नहुँदा बन्दीपुर ठप्पप्राय भएको अवस्थामा छुट प्याकेजले केही राहत दिने बताउनुभयो । “होटल व्यवसायीले कर्मचारी कटौती गरेका छन्, व्यवसाय धारासायी हुने अवस्थामा पुगेको छ,” उहाँले भन्नुभयो ।           होटल दरबार हिमालयका सञ्चालक वैश गुरुङले बन्दीपुर सुरक्षित छ भन्ने सन्देशसहित पर्यटकलाई स्वागत गर्न यहाँका व्यवसायी तयार रहेको बताउनुभयो । “स्वास्थ्य सुरक्षाको मापदण्ड पूरा गरेर होटल सञ्चालनमा ल्याएका छौं, यसका साथै छुट प्याकेज समेत समावेश गरिएको छ”, उहाँले भन्नुभयो । विदेशी पर्यटकले लामो समय बन्दाबन्दी भएपछि पहिल्यै बुकिङ रद्द गरिसकेको र आफूहरुलाई आन्तरिक पर्यटककै आश रहेको गुरुङको भनाइ छ ।