तीन झोलुंगे पुलको निर्माण सम्पन्न

किमाथांका – पूर्वाधार विकास कार्यालय संखुवासभाले यो आर्थिक वर्षमा तीन झोलुंगे पुल निर्माण गरेको छ। संखुुवासभाका मकालु गाउँपालिका–६ बेन्देकसुवा खोलामा पूर्वाधार विकास कार्यालयले झोलुंगे पुल निर्माण सम्पन्न गरेको हो। बेन्देकसुवा खोलामा झोलुंगे पुल निर्माण सम्पन्न गरी सञ्चालनमा आएको पूर्वाधार विकास कार्यालय संखुुवासभाका प्रमुख शैलेन्द्र सिंहले जानकारी दिए। झोलुंगे पुल निर्माण भएपछि मकालु–६ कै दुई गाउँ […]

सम्बन्धित सामग्री

कमला नदीको झोलुंगे पुलमा आवतजावत खुला

जनकपुरधाम। धनुषा र सिरहा जोड्ने कमला नदीमा झोलुंगे पुलको निर्माण सम्पन्न भएसँगै आवतजावतका लागि खुला गरिएको छ । पुल संघीय सरकारको २८ करोड रुपैयाँ लागतमा निर्माण भएको हो । सिरहाको सिरहा नगरपालिका–१३ मलहनिया र धनुषाको जनक नन्दिनी गाउँपालिका–६ कठाललाई जोड्ने उक्त झोलुंगे पुल १ हजार ५ सय १ मिटर लामो र चार फिट चौडाई रहेको बताइएको छ । निर्माण कम्पनी थानी निर्माण सेवा काठमाडौंका इन्जिनियर विनोद कुमार मण्डलले कमला नदीमा निर्माण भएको यो झोलुगें पुल देशकै सबैभन्दा लामो भएको दाबी गरे । २०७९ असोज १ गते ठेक्का सम्झौता भएर निर्माण शुरू भएको पुलको ठेक्का अवधि आगामी असार मसान्तसम्म भएपनि ६ महीना अगावै निर्माण सम्पन्न भएको हो । पुल सञ्चालनमा आएसँगै जनकपुरधाम–सिरहा आवतजावतमा स्थानीयले भोग्दै आएको समस्या हटेको स्थानीय सन्तोष यादवको भनाइ छ । पुलबाट दैनिक करीब ४ हजार जना ओहोरदोहोर गर्दै आएको उनको भनाइ छ । पुल नहुँदा सिरहाबाट ३५ किलोमिटरको दुरीमा रहेको जनकपुरधाम पुग्न पूर्वपश्चिम राजमार्ग तथा भारतको बाटो भएर पुग्नु पर्ने बाध्यता थियो ।  हुलाकी राजमार्गअन्तर्गत कमला नदीमा निर्माण भएको कमला पुल उद्घाटनअघि नै भत्किएपछि आवतजावतमासमस्या भएको बेला झोलुंगे पुलको निर्माणले स्थानीयलाई राहात मिलेको स्थानीय धर्मेन्द्र शर्माको भनाइ छ ।

अघि बढ्न सकेन देवघाटमा त्रिकोणात्मक पुलको काम

चितवन । धार्मिक एवं पर्यटकीय क्षेत्र देवघाटमा तीन जिल्ला जोड्नेगरी निर्माण गर्ने भनिएको त्रिकोणात्मक पुलको काम अझै अघि बढ्न सकेको छैन । तनहुँ, नवलपुर र चितवनलाई जोड्नेगरी बनाइने त्रिकोणात्मक पुलको काम हालसम्म विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)मा मात्र सीमित छ । देवघाट क्षेत्र विकास समितिले पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित तीन जिल्ला जोड्नेगरी २०७३ सालमा त्रिकोणात्मक पुल निर्माण गर्ने निर्णय गरेको थियो । तर बजेट अभावले योजनाको काम शुरू हुन नसकेको हो । देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्री अधिकारीले उक्त पुल निर्माणमा बजेट नै नपरेको बताए । पुलको निर्माण लागत ८२ करोड रुपैयाँ रहने बताइएको छ । यसअघि संघीय सरकारले त्रिकोणात्मक पुल निर्माणका लागि २० लाख रुपैयाँ बजेट दिएको थियो । ‘२० लाख बजेटले के गर्न सकिन्छ र ? ८२ करोडको योजना छ, कुनै काम अघि नबढेपछि रकम फ्रिज भएर गयो,’ अधिकारीले भने । सरकारले पहिलो चरणमा १० करोड बजेट पारे पुलको शिलान्यास गरेर काम शुरू गर्न सकिने उनले बताए । ‘पुलको डिजाइन भइसकेको छ, डीपीआर पूरा भएको छ तर बजेट अभावले काम अघि बढेको छैन,’ उनले भने । चितवन र तनहुँ जोड्नेगरी त्रिशूलीमाथि रहेको अहिलेको झोलुंगे पुल जीर्ण हुँदै गएको छ । देवघाट क्षेत्रको पर्यटन प्रवर्द्धन गर्न पनि त्रिकोणात्मक पुल आवश्यक रहेको अधिकारीको भनाइ छ । देवघाट क्षेत्र विकास समितिका पूर्वअध्यक्ष टंकनाथ पौडेलले योजना परे पनि बजेट नपर्दा पुल निर्माण अलपत्र परेको बताए । ‘२०७३ सालमै पुल निर्माण प्रक्रिया अघि बढाइएको हो । तर यसमा न सरकारले चासो देखायो, न त प्राथमिकतामै पर्‍यो,’ उनले भने । पूर्वअध्यक्ष पौडेल हाल त्रिकोणात्मक पुल कार्यान्वयन उपसमितिको संयोजक समेत हुन् । संघीय सरकारले बजेट विनियोजन नगरी निर्माण सम्पन्न हुन नसक्ने उनले बताए । देवघाटमा त्रिकोणात्मक पुल निर्माण भए धार्मिक पर्यटन प्रर्वद्धन तथा स्थानीयको आयआर्जन समेत बढ्ने उनको भनाइ छ । अर्थ मन्त्रालयले बजेट सुनिश्चित गरेमा आउँदो आर्थिक वर्षको शुरूमैै बोलपत्र आह्वान गर्न सकिने देवघाट क्षेत्र विकास समितिले बताएको छ । डिजाइन अनुसार पुलको बीचको पिलरबाट तीनैतर्फको लम्बाइ समान १९० मिटर छ । चितवनतर्फ बीचमा ठूलो एउटा पिलर रहन्छ । पुल २ दशमलव ४ मिटर फराकिलो हुन्छ । पुलमा आकर्षक र उच्चस्तरीय स्टीलको प्रयोग हुने बताइएको छ ।

८ महीनामा ३२५ किमी सडक कालोपत्र र ८० ओटा पुल निर्माण सम्पन्न

जेठ १५, काठमाडौं । सरकारले चालू आर्थिक वर्षको ८ महीनामा ३२५ किलोमिटर सडक कालोपत्र र ८० पुलको निर्माण सम्पन्न गरेको  छ । सरकारले शनिवार सार्वजनिक गरेको आर्थिक सर्वेक्षणअनुसार गत फागुनसम्ममा २६५ किमी सडकखण्ड ग्राभेल भएको छ भने ९५ किमी मर्मत भएको छ ।  हालसम्म १६ हजार ९३९ किमी कालोपत्र सडक र आठ हजार हजार ८२१ किमी कच्ची गरी सडकको लम्बाइ ३३ हजार ८७१ किमी पुगेको छ । गत असारसम्ममा १६ हजार ६१४ किमी कालोपत्र, आठ हजार ७१ किमी खण्डस्थित र आठ हजार ९३१ किमी कच्ची सडक थियो ।   गत आवमा नै ४७२ किमी नयाँ माटे सडक निर्माण भएको उल्लेख छ । यो अवधिमा ७३९ किमी सडक ग्राभेल र एक हजार १९० किमी सडक कालोपत्रमा स्तरोन्नति भएको थियो ।  गत आवमा नै ७ हजार १८७ किमी सडक नियमित र पटके मर्मत र ४२४ किमी आवद्यिक मर्मत भएको थियो । गत आवमा १९२ पुल सम्पन्न भएको थियो ।  फागुनसम्ममा ९ प्रादेशिक र स्थानीयस्तरका कच्ची, ग्राभेल र कालोपत्र गरी ९२१ किमी सडक निर्माण भएर जम्मा ६४ हजार ६१७ किमी सडक निर्माण भएको छ । गत असारसम्ममा कुल प्रादेशिक र स्थानीय सडकको लम्बाइ ६३ हजार ६९६ किमी रहेको थियो ।  निर्मित सडकमध्ये कालोपत्रको अङ्स ७ प्रतिशत, गाभ्रेलको २१ प्रतिशत र कच्ची सडकको ७२ प्रतिशत रहेको छ । निर्माण भएका कच्ची सडकको क्रमिकरुपमा स्तरोन्नति गर्नुपर्ने र विद्यमान सडक चौडा गर्नुपर्ने सर्वेक्षणमा बताइएको छ ।  गत फागुनसम्म कुल सडकमध्ये हिमाली क्षेत्रमा १६ प्रतिशत, पहाडमा ५५ प्रतिशत र तराईमा २९ प्रतिशत रहेको थियो । राष्ट्रिय गौरवका आयोजनामध्ये मध्यपहाडी (पुष्पलाल) राजमार्ग ४४ किमी थपिएर एक हजार १५७ किमी पुगेको छ  । यहाँका १२९ पुलमध्ये हालसम्म ९२ पुल निर्माण सम्पन्न भएका छन् ।  हुलाकी राजमार्गमा यो अवधिमा ८१ किमी सडक र पाँच पुल निर्माण भएको थियो । उत्तर–दक्षिण करिडोरमध्ये कालीगण्डकी करिडोरमा यो वर्ष गैँडाकोट–राम्दी–मालढुंगा खण्डमा ६४ किमी कालोपत्र भएको थियो । मालढुंगा–बेनी जोमसोम कोरला १३२ किमी ग्राभेल र २५ किमी कालोपत्र भएको थियो ।  कर्णाली करिडोरमा यो वर्ष सिमकोट–सरीसल्ला तीन किमी ट्र्याक थप भएर २६१ किमी ट्र्याक निर्माण भएको छ । कोसी करिडोरमा यो वर्ष थप चार किमी ग्राभेल थपिएर ग्राभेल सडकको लम्बाइ ७२ किमी पुगेको छ ।   मदन भण्डारी राजमार्गमा गत फागुनसम्ममा थप चार किमीमा कालोपत्र भएर कालोपत्र सडक २४१ किमी पुगेको । जम्मा १८५ पुल निर्माण गर्नुपर्नेमा हालसम्म ७७ पुल सम्पन्न भएको छ ।  प्रमुख व्यापारिक सडकमध्ये रानी–विराटनगर–इटहरी–धरान खण्डमा दुई किमी, जटही–जनकपुर–ढल्केबर खण्डमा एक दशमलव दुई किमी, वीरगञ्ज–पथलैया दुई दशमलव दुई किमी र मोहना–अत्तरिया खण्डमा ५०० मिटर कालोपत्र सम्पन्न भएको छ ।  स्थानीय पूर्वाधारअन्तर्गत गत फागुनसम्ममा नै २१५ झोलुंगे पुल र चार सडक पुल निर्माण भएको छ । हाल झोलुंगे पुलको संख्या नौ हजार ३८८ र सडक पुलको ६२७ पुगेको छ । पहिचान भएका १४३ तुइनमध्ये १३४ तुइन झोलुंगे पुलद्वारा विस्थापित गरिएको जानकारी दिइएको छ ।  १७ हजार १८ सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान यातायाततर्फ, सवारीसाधनमा चालू आवमा १७ हजार १८ सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान भएको छ । हालसम्म एक लाख ३५ हजार ३४१ इम्बोस्ड नम्बर प्लेट उत्पादन भएर आठ हजार ३६७ सवारीसाधनमा जडान गरिएको छ ।  चालू आवमा दुई लाख ४६ हजार ६५२ सवारी चालक अनुमतिपत्र वितरण भएको छ । सार्वजनिक यातायातमा जिपिएस भेइकल ट्रयाकिङ प्रणाली लागू गर्न ३५ सार्वजनिक सवारीसाधनमा जडान गरिएको  छ ।   ५६ किमी रेलमार्ग सम्पन्न, रेल सञ्चालन शुरु रेल यातायातमा जयनगर–जनकपुर–कुर्था–विजलपुरा रेलमार्ग र बथनाहा–विराटनगर रेलमार्गमा नेपालतर्फको ७९ किमीमध्ये हालसम्म ५६ किमी सम्पन्न भइसकेको छ ।  चालू आवमा नै जयनगर–कुर्था रेलमार्ग सञ्चालनमा ल्याइएको छ । पूर्व–पश्चिम विद्युतीय रेलमार्गको बर्दिवास–निजगढ खण्डमा चालू आवमा एक दशमलव पाँच किमी ट्र्याक–बेड निर्माण भएको छ । हाल ट्र्याक–बेडको लम्बाइ ५० दशमलव पाँच किमी पुगेको छ । राष्ट्रिय गौरवको सो आयोजनाको ९४५ किमी को विस्तृत अध्ययन प्रतिवेदन तयार भएको छ ।  जलयातायात सञ्चालनका लागि सम्भाव्यता अध्ययन जलयातायात सञ्चालनका लागि सम्भाव्यता अध्ययन भएको छ । हालसम्म कर्णाली नदी (खक्रौला–खिमडी) ११५ किमी, कालीगण्डकी (राम्दी–देवघाट) ९५ किमी, कोशी नदी (चतरा–तुम्लिङटार) ७५ किमी, नारायण नदी (देवघाट–गण्डक) ८५ किमी, त्रिशूली (देवघाट–मुग्लिन) २२ किमी, सुनकोसी नदी (अरुण दोभानदेखि माथि) २२ किमीमा आन्तरिक जलमार्गमा जलयान सञ्चालनसम्बन्धी सम्भाव्यता अध्ययन सम्पन्न भएको छ । रासस

रिडीमा तीनमुखे झोलुंगे पुल निर्माण अन्तिम चरणमा

गुल्मी । पाल्पा, गुल्मी र स्याङ्जा जिल्लाको संगमस्थल रिडीमा निर्माणाधीन तीनमुखे झोलुंगे पुलको काम अन्तिम चरणमा पुगेको छ । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–१ चण्डीभञ्ज्याङ, पाल्पाको तानसेन नगरपालिका–१४ अर्गली र गुल्मीको रुरुक्षेत्र गाउँपालिका–१ रिडी जोड्ने उक्त पुलको निर्माण अन्तिम चरणमा पुगेको हो । कालीगण्डकी नदीको बीचमा नौ मिटर रनिङ गोलाइ भएको ‘पिलर’ निर्माण भएको छ । २५ मिटर उचाइसहितको भ्यूटावर, तीन जिल्लाको तीनैतर्फ १७७ मिटर लामो झोलुंगे पुल निर्माण भइरहेको छ । एशियाको पहिलो दाबी गरिएको तीनमुखे झोलुंगे पुलको काम अन्तिम चरणमा पुगेपछि स्थानीय बासिन्दा उत्साहित भएका छन् । कालीगण्डकी नदीमाथि निर्माण गरिएको आकर्षक पुल हेर्न पछिल्लो समय आन्तरिक पर्यटकको चहलपहल बढेको छ । निर्माण शुरू भएको सात वर्षसम्म पुलको काम सम्पन्न नहुँदा स्थानीय बासिन्दा निरास थिए । तर पछिल्लो दुई वर्षयता पुल निर्माणले गति लिएकोे हो । अहिले पुलको दुईतिर जाली, लाइटिङ, टपमा सोलार, भर्‍याङ, रेलिङ र झन्डा राख्ने संरचना निर्माण भइरहेको छ । आगामी वैशाखभित्र सम्पूर्ण काम पूरा गरी पुलको उद्घाटन गर्ने तयारी भइरहेको लभलीना कन्स्ट्रक्शनका सुशान्त यादवले बताए । कालीगण्डकी नदीमा बाढी, पहिरो, कोरोना, आर्थिक अभावले समयमै पुलको निर्माण सम्पन्न गर्न नसकिएको उनको भनाइ छ । नयाँ बाटो रुबिना मना जेभीले ललितपुरको पुल्चोकस्थित स्थानीय पूर्वधार विभागअन्तर्गत झोलुंगे पुल शाखासँग रू. ९ करोड ८८ लाख २६ हजारमा निर्माणको सम्झौता गरेको थियो । पुल निर्माण अन्तिम चरणमा पुगेपछि आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्ने देखिएको छ । स्थानीय विष्णु परियारका अनुसार पुलमा टहलिन आन्तरिक पर्यटक त्यहाँ पुग्न थालेका छन् । रासस

तीन महिनामै बन्यो झोलुंगे पुल

बाजुरा, (नेस) । बाजुराको गौमूल गाउँपालिका–२ मल्लोदगुनस्थित नाउलीगाड खोलामा तीन महिनामै झोलुंगे पुल निर्माण सम्पन्न भएको छ । कादुरी एग्रिकल्चर एन्ड एसोसियसन ब्रिटिस गोर्खाज नेपालले झोलुंगे पुलको निर्माण सम्पन्न गरेको हो । बाजुराको मल्लोदुगुनको कुगुन्ना र बझाङ जिल्ला जोड्ने यो पुल बनेपछि स्थानीय बासिन्दा हर्षित भएका छन् । पुल निर्माण भएसँगै दुुई जिल्लाको आवागमनमा सहजता […]

आठ सय मिटर लामो झोलुंगे पुल निर्माण

इलाम । इलामको दक्षिणी क्षेत्र माई नगरपालिका–६ को बिहीबारे र वडा १ को घण्टे जोड्ने झोलुंगे पुलको निर्माण सम्पन्न भएको छ । आठ सय २० मिटर लामो झोलुंगे पुलको निर्माण सम्पन्न भएको हो । नेपालमा निर्माण भएकामध्ये दोस्रो लामो झोलुंगे पुल रहेको बताइएको छ । पुल निर्माणपछि केही दिनमा नगरपालिकालाई हस्तान्तरण गरिने बताइएको छ । झोलुंगे पुल निर्माणपछि माइखोला वारपार गर्न सहज भएको छ । यसअघि महाकालीको दोधारा–चाँदनी जोड्ने एक हजार ४५२ मिटर लामो पुल बनेको थियो । स्थानीय पूर्वाधार विभाग सस्पेन्सन ब्रीज डिभिजनका इञ्जिनीयर उपेन्द्र देवकोटाले त्रिवेणी सुस्तामा एक हजार ५७२ मिटर लामो झोलुंगे पुल निर्माण हुने जानकारी दिए । यस्तै सिन्धुलीमा कमलामाईमा समेत यस्तै पुलको डिजाइन गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत स्थानीय पूर्वाधार विभागबाट आठ करोड २० लाखमा पुलको निर्माण सम्पन्न भएको हो ।      निर्माण कम्पनी थानी हिमशिखर जेभीले निर्माण अवधिको छ महिना अगाडि नै पुल निर्माण सम्पन्न गरिएको देवकोटाले जानकारी दिए । सात पिलरसहित निर्माण गरिएको यो झोलुंगे पुलमा चार टावर रहेका छन् । माई खोलामा पुल निर्माण भएपछि माई–१ को घण्टेदेखि देउमाई नगरपालिका जितपुरसम्मका बासिन्दालाई आवतजावत गर्न सहज भएको छ । रासस

पाँचथरमा ११ वटा झोलुंगे पुल निर्माण

गत आर्थिक वर्षमा पाँचथरमा ११ वटा झोलुंगे पुल निर्माण भएको छ ।   पूर्वाधार विकास कार्यालय पाँचथरले आर्थिक वर्ष २०७७/७८ मा ११ वटा झोलुंगे पुल निर्माण गरेको हो । तीमध्ये दुईवटा पुलले पाँचथर र ताप्लेजुङ जिल्लालाई जोडेका छन् । बाँकी ९ मध्ये पाँचथरमा ६ तथा ताप्लेजुङमा तीन पुलको निर्माण सम्पन्न भएको पूर्वाधार विकास कार्यालय पाँचथरले जनाएको छ ।  दुई जिल्ला जोड्न ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–१ सिलसिले र पाँचथरको याङवरक गाउँपालिका–२ ओखल्लीवारी जोड्ने ८३ मिटरको इवाखोला र त्यही वडा जोड्ने ११९ मिटरको ...