जनकपुरधाम। धनुषा र सिरहा जोड्ने कमला नदीमा झोलुंगे पुलको निर्माण सम्पन्न भएसँगै आवतजावतका लागि खुला गरिएको छ । पुल संघीय सरकारको २८ करोड रुपैयाँ लागतमा निर्माण भएको हो । सिरहाको सिरहा नगरपालिका–१३ मलहनिया र धनुषाको जनक नन्दिनी गाउँपालिका–६ कठाललाई जोड्ने उक्त झोलुंगे पुल १ हजार ५ सय १ मिटर लामो र चार फिट चौडाई रहेको बताइएको छ । निर्माण कम्पनी थानी निर्माण सेवा काठमाडौंका इन्जिनियर विनोद कुमार मण्डलले कमला नदीमा निर्माण भएको यो झोलुगें पुल देशकै सबैभन्दा लामो भएको दाबी गरे । २०७९ असोज १ गते ठेक्का सम्झौता भएर निर्माण शुरू भएको पुलको ठेक्का अवधि आगामी असार मसान्तसम्म भएपनि ६ महीना अगावै निर्माण सम्पन्न भएको हो ।
पुल सञ्चालनमा आएसँगै जनकपुरधाम–सिरहा आवतजावतमा स्थानीयले भोग्दै आएको समस्या हटेको स्थानीय सन्तोष यादवको भनाइ छ । पुलबाट दैनिक करीब ४ हजार जना ओहोरदोहोर गर्दै आएको उनको भनाइ छ । पुल नहुँदा सिरहाबाट ३५ किलोमिटरको दुरीमा रहेको जनकपुरधाम पुग्न पूर्वपश्चिम राजमार्ग तथा भारतको बाटो भएर पुग्नु पर्ने बाध्यता थियो ।
हुलाकी राजमार्गअन्तर्गत कमला नदीमा निर्माण भएको कमला पुल उद्घाटनअघि नै भत्किएपछि आवतजावतमासमस्या भएको बेला झोलुंगे पुलको निर्माणले स्थानीयलाई राहात मिलेको स्थानीय धर्मेन्द्र शर्माको भनाइ छ ।