गुल्मी । पाल्पा, गुल्मी र स्याङ्जा जिल्लाको संगमस्थल रिडीमा निर्माणाधीन तीनमुखे झोलुंगे पुलको काम अन्तिम चरणमा पुगेको छ । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–१ चण्डीभञ्ज्याङ, पाल्पाको तानसेन नगरपालिका–१४ अर्गली र गुल्मीको रुरुक्षेत्र गाउँपालिका–१ रिडी जोड्ने उक्त पुलको निर्माण अन्तिम चरणमा पुगेको हो ।
कालीगण्डकी नदीको बीचमा नौ मिटर रनिङ गोलाइ भएको ‘पिलर’ निर्माण भएको छ । २५ मिटर उचाइसहितको भ्यूटावर, तीन जिल्लाको तीनैतर्फ १७७ मिटर लामो झोलुंगे पुल निर्माण भइरहेको छ ।
एशियाको पहिलो दाबी गरिएको तीनमुखे झोलुंगे पुलको काम अन्तिम चरणमा पुगेपछि स्थानीय बासिन्दा उत्साहित भएका छन् । कालीगण्डकी नदीमाथि निर्माण गरिएको आकर्षक पुल हेर्न पछिल्लो समय आन्तरिक पर्यटकको चहलपहल बढेको छ ।
निर्माण शुरू भएको सात वर्षसम्म पुलको काम सम्पन्न नहुँदा स्थानीय बासिन्दा निरास थिए । तर पछिल्लो दुई वर्षयता पुल निर्माणले गति लिएकोे हो । अहिले पुलको दुईतिर जाली, लाइटिङ, टपमा सोलार, भर्याङ, रेलिङ र झन्डा राख्ने संरचना निर्माण भइरहेको छ ।
आगामी वैशाखभित्र सम्पूर्ण काम पूरा गरी पुलको उद्घाटन गर्ने तयारी भइरहेको लभलीना कन्स्ट्रक्शनका सुशान्त यादवले बताए । कालीगण्डकी नदीमा बाढी, पहिरो, कोरोना, आर्थिक अभावले समयमै पुलको निर्माण सम्पन्न गर्न नसकिएको उनको भनाइ छ । नयाँ बाटो रुबिना मना जेभीले ललितपुरको पुल्चोकस्थित स्थानीय पूर्वधार विभागअन्तर्गत झोलुंगे पुल शाखासँग रू. ९ करोड ८८ लाख २६ हजारमा निर्माणको सम्झौता गरेको थियो ।
पुल निर्माण अन्तिम चरणमा पुगेपछि आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्ने देखिएको छ । स्थानीय विष्णु परियारका अनुसार पुलमा टहलिन आन्तरिक पर्यटक त्यहाँ पुग्न थालेका छन् । रासस