रोल्पा (अस) । रोल्पाको परिवर्तन गाउँपालिकामा स्वास्थ्य, खानेपानी र सरसफाइको क्षेत्रमा ७ करोड रुपैयाँभन्दा बढी लगानी भएको छ । स्वास्थ्य प्रवर्द्धनका लागि सामुदायिक सशक्तीकरण कार्यक्रम (सीईएचपी), नेपालगञ्जको प्राविधिक तथा स्वीस रेडक्रसको आर्थिक सहयोगमा ३ वर्ष अघिदेखि गाउँपालिकामा सञ्चालित स्वास्थ्य, खानेपानी, सरसफाइ तथा स्वच्छताका लागि सामुदायिक सहकार्य परियोजनाले विभिन्न पूर्वाधार निर्माण तथा सामाजिक विकासमा उक्त लगानी गरेको हो ।
परियोजनाले सरसफाइ तथा स्वच्छतामा २ करोड ४३ लाख ३१ हजार, खानेपानी र स्वास्थ्य पूर्वाधार विकासमा ४ करोड ७८ लाख ७६ हजार लगानी गरेको छ । परियोजनाले गाउँपालिकालाई मातृ तथा शिशु मृत्युदर घटाउन, शुद्ध खानेपानीको उपलब्धता, शौचालयको प्रयोगबाट स्वच्छ गाउँ निर्माणका साथै दिगो विकासको लक्ष्यमा सहयोग पुगेको छ ।
गाउँपालिकासँगको साझेदारीमा नेपाल रेडक्रस सोसाइटी रोल्पाले सो परियोजना मार्फत गाउँपालिकाभित्रका स्वास्थ्य चौकीको भवन र खानेपानी योजना निर्माण गरेको कार्यक्रम प्रमुख लक्ष्मण स्वर्णकारले बताए । २०१८ सेप्टेम्बरदेखि २०२१ सेप्टेम्बरसम्म सञ्चालित परियोजनाले परिवर्तन गाउँपालिकामा गरेको प्रगतिको बारेमा समीक्षा कार्यशाला समेत आयोजना गरिएको छ ।
समीक्षा कार्यक्रममा जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजबहादुर बुढाले रेडक्रस सोसाइटी आपत्कालीन अवस्थामा मात्र काम गर्ने संस्था भए पनि परियोजनाको सहयोगमा सामाजिक विकासको काम गरेकोमा खुशी व्यक्त गरे । यस्तै नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेशका अध्यक्ष शम्भु पोख्रेलले परियोजनाले रोल्पालाई ठूलो राहत मिलेको भन्दै आगामी दिनमा पनि सहकार्य गरिने बताए ।
परिवर्तन गाउँपालिकाका अध्यक्ष नीमकान्त डाँगीले गाउँपालिकालाई परियोजनाले ठूलो गुण लगाएको भन्दै आगामी दिनमा पनि सहकार्यको अपेक्षा राखे । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पाका सभापति डीबी घर्तीले व्यक्ति र परियोजना फेरिए पनि रेडक्रस सधैं सक्रिय रहने बताए ।