वैशाख ५, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले श्रीलंकाको अर्थव्यवस्थासँग नेपालको तुलना हुनै नसक्ने बताएका छन् ।
नेपाल उद्योग परिसंघ (सिएनआई) को अध्यक्ष बिष्णुकुमार अग्रवालसहितको प्रतिनिधि मण्डलसँथ सोमवार मन्त्रालयमा भएको भेटमा अर्थमन्त्री शर्माले भने, ‘नेपाल र श्रीलंकाको तुलनै हुँदैन, आफूले बारम्बार भन्दै आएको छु । ’
उनले भने, ‘केही व्यक्तिले देशको अर्थव्यवस्थालाई राजनीतीकरण गर्न खोजिरहेका छन् । चुनावी मुद्दा पनि बनाएका छन् ।‘ उनले परिसंघको टोलीसँगको भेटमा श्रीलंकासँग नेपालको तुलना नै गलत भएको बताए ।
उनले यथार्थमा नेपालको अर्थव्यवस्था श्रीलंकाको जस्तो नभएको र आफूहरुले श्रीलंका जस्तो हुन पनि नदिने गरी अर्थ व्यवस्था सुधारको काम गरिरहेको बताए । उननले आगामी आब ०७९/ ८० को बजेटमार्फत अर्थतन्त्रको अहिलेको समस्यालाई सम्बोधन गरी नजिता देखिने गरी सुधार गर्ने पनि बताए ।
उक्त प्रतिनिधि मण्डलले आयातमा प्रतिबन्ध नलगाउन सुझाव दिएको छ। साथै उसले विदेशी मुद्राको सञ्चितिमा परेको चापबाट माथि उठ्नका लागि आयातमा प्रतिवन्ध लगाउनुको सट्टा करको दर बढाउन र आयातका लागि लिइने ऋणको ब्याजदरसमेत हेरफेर गर्न सुझाव दिएको छ ।
सो भेटमा सिएनआईमा आवद्ध उद्योगी अनुज अग्रवालले देशको बर्तमान आर्थिक अवस्थाबारे प्रस्तुती दिदै बिदेशी मुद्राको सञ्चितीमा परेको चापलाई कम गर्ने र तरलता संकटलाई माथि उठाउने दुई मुख्य बिषयमा केन्द्रित रहेर कार्यपत्र प्रस्तुत गरेका थिए ।
उनले नेपालको अर्थतन्त्रलाई श्रीलंकासँग तुलना गर्नु तर्कसंगत नभएको बताएका थिए । नेपालको कुल गार्हस्थ उत्पादन ३३ दशमलव ६५ बिलियन डलर र श्रीलंकाको कुल गार्हस्थ उत्पादन ८० दशमलव ७ बिलियन डलर रहेको सिएनआईको कार्यपत्रमा उल्लेख छ ।
त्यस्तै नेपालको वास्तविक ऋण १४ दशमलव ५६ बिलियन डलर र श्रीलंकाको ८९ दशमलव ५ बिलियन डलर रहेको, जीडीपीमा बास्तविक ऋणको हिस्सा नेपालको ४३ प्रतिशत र श्रीलंकाको १११ दशमलव ४२ प्रतिशत रहेको, कुल बैदेशिक मुद्रा सञ्चितितर्फ नेपालको ९ दशमलव ५८ अर्ब डलर र श्रीलंकाको १ दशमलव ९४ बिलियन डलर मात्रै रहेको कार्यपत्रमा उल्लेख छ ।
त्यस्तै अन्तर्राष्ट्रिय मूल्य श्रृङ्खलामा परेको प्रभावका कारण नेपालको मुद्रास्फीति ७ दशमलव १ प्रतिशत र श्रीलंकाको २५ प्रतिशत विन्दुमा पुगेको पनि उल्लेख छ । अर्थतन्त्रको परिदृश्य देखाउने मुख्य–मख्य सूचकाङ्कमा नेपालको अर्थतन्त्र श्रीलंकाको भन्दा धेरे मजबुत रहेको उनले बताए ।
आन्तरिक तथा बाह्य पर्यटन क्षेत्रमा उल्लेख्य सुधार आइसकेको बताउँदै सिएनआईका अध्यक्ष अग्रवालले पूर्वाधार निर्माण र पर्यटनलाई आकर्षित गर्ने प्याकेजहरु धमाधम घोषणा गर्नुपर्ने बताए । उनले सुनमा आधारित ऋणपत्र जारी गर्न, रेमिट्यान्सको निक्षेपमा अतिरिक्त २ प्रतिशत ब्याजदर दिन, गैरआवासिय नेपाालीलाई डलरमा खाता खोल्न आकर्षित गर्नुपर्नेलगायतका सुझाव दिए ।