माघ १८ , नयाँदिल्ली । भारतले वित्त वर्ष २०२२/ २३ मा नेपाललाई ७ अर्ब ५० करोड भारतीय रुपया(भारु) विदेश मन्त्रालयअन्तर्गत अनुदान दिने घोषणा गरेको छ ।
यो घोषणा लोकसभामा वित्त मन्त्री निर्मला सितारमणले गरेकी हुन् । यद्यपि यो रकम अघिल्लो वर्षको बजेटमा छुट्याइएको रकमभन्दा कम हो । गत वर्षको बजेटमा नेपालका लागि ९ अर्ब ९२ करोड भारतीय रुपया विनियोजन गरिएको थियो । उक्त वर्ष यो रकम संशोधन गरी भारतले नेपालका लागि ६ अर्ब ५० करोड भारुमा झारेको थियो ।
तर पनि भारतले वित्त वर्ष २०२०/ २१ मा ८ अर्ब ७९ करोड भारु नेपाललाई अनुदान दिएको थियो ।
भारतले विभिन्न मुलुकहरुलाई दिने अनुदान रकम अन्तर्गत नेपाललाई पनि अनुदान छुट्याएको हो ।
भारतले सबैभन्दा धेरै अनुदान भुटानलाई छुट्याएको छ । जसअनुसार भुटानले २२ अर्ब ६६ करोड भारु पाउने छ । भारतले बंगलादेशलाई ३ अर्ब, अफगानिस्तानलाई २ अर्ब, श्रीलंका २ अर्ब, माल्दिभ्सलाई ३ अर्ब ६० करोड, मंगोलियालाई १२ करोड र अफ्रिकी मुलुकहरुलाई २ अर्ब ५० करोड भारु अनुदान दिनेछ ।
भारतीय वित्त मन्त्रीले १०६ खर्ब ८० अर्ब भारुको बजेट लोकसभामा प्रस्तुत गरेकी थिइन् ।एजेन्सीहरु