राष्ट्रिय गौरवको सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ दुई किलोमिटरभन्दा बढी निर्माण गरिएको छ । टनेल बोरिङ मेसिन (टीबीएम)बाट सुरुङ खन्न सुरु गरिएपछि बुधबारसम्म दुई किलोमिटर ३०७ मिटर सुरुङ निर्माण गरिएको उक्त आयोजनाले जनाएको छ । आयोजना प्रमुख मित्र बरालका अनुसार १३ दशमलव तीन किलोमिटर लामो सुरुङ असोज २८ गतेदेखि कमलामाई नगरपालिका–२, कुसुमटारबाट खन्न सुरु गरिएको थियो ।