बौद्ध–जोरपाटी सडक विस्तार गर्न भनेर खनेको दुई तीन वर्ष बित्दा पनि उस्तै हिलाम्य, धुलाम्य रहँदा स्थानीयले कहिले धान रोपेर आक्रोश देखाए, कहिले यातायात बन्द गरेर । हुन पनि त्यहीँ खनेका खाडलमा परेर, बस पल्टिएर यात्रु घाइते पनि बने । त्यही तल जोरपाटीदेखि थलीको बाटो पिच गरेको दुई हप्ता नहुँदै उप्किँदा फेरि यो बर्खा बिजोग हुने देखिन्छ । देशमा कतै पुल बन्दाबन्दै भास्सिएका छन् त कतै दशकौंदेखि पुलको नाममा केही खम्बा मात्र उठेका छन् । विकास–निर्माणका यस्ता बिजोग देशभरि देखिए पनि विकास–निर्माण मन्त्री आफ्नो प्रगतिको पुल बाँधेर मिडियाबाजीमा रमाएका छन्, उनको पीठो राम्रै बिकेको छ । तर, सांसद विकास कोषको पैसाले जथाभावी डोजर लगाइएका धुलैटो बाटाहरू र रूख–बिरुवा उजाडिदै भूक्षय र पहिरो जाने बनेका डाँडापाखाबाहेक जनताले देख्ने दिगो निर्माणको स्थितिमा खासै सुधार प्रायः देखिन्न । देशको समृद्धिको जग मानिएको विकास–निर्माणमा देखा परेको अहिलेको सबैभन्दा ठूलो समस्या नै झारा टार्ने पाराका निर्माण हुन् । यस्ता निर्माणले पुँजीगत खर्च त केही गरेको देखाउन सरकारलाई सजिलो पार्छ, तर अधिकांश यस्ता खर्च स्तरहीन र अनुपयोगी भइरहँदा पुन बनाउनुपर्ने हुन्छ, जसले एउटै काममा थप खर्च र उपभोक्तालाई थप दुःख दिने गरेको छ ।