यसै हप्ता खानेपानीमन्त्रीले खानेपानी सचिव र अन्य एक हुल कर्मचारीसहित अचानक मेलम्ची गाउँ भ्रमण गरेछन्, खानेपानी आयोजना निरीक्षण गर्न भनेर । मन्त्रीले आयोजनाका कर्मचारीलाई छिटोभन्दा छिटो काठमाडौं पानी पुर्याउन निर्देशन पनि दिएछन् । यसले खानेपानीमन्त्री समस्याप्रति कति गम्भीर छन् भन्ने नै देखाउँछ । उनले वास्तविकताको साक्षात्कार गर्ने भनेर स्थानीयहरूसँग छलफल पनि गरेछन् । छलफलबाट पानीबारे सत्यतथ्य पत्ता लगाउने उद्देश्य रहेछ । छलफल यस्तो किसिमको भएछ :–
‘तपाईंहरू पानी पिउनुहुन्छ ?’
‘हजुर, पिउँछौं ।’
‘यो गाउँमा कति मानिसले पानी पिउँछन् ?’
‘हजुर सबैले पिउँछन् । तिर्खा लाग्छ हजुर, अनि पानी त पिउनैपर्छ ।’
‘पानी कहाँबाट ल्याउनुहुन्छ त ?
‘पाइपबाट ।’
‘पाइपबाट कति पानी आउँछ त ?
‘अहिले त आउँदैन हजुर ।’
‘किन आउँदैन ?’
‘बाटो बनाउँदा डोजरले सबै पाइप काटिदियो ।’
‘अनि अब कहाँ पाइन्छ त पानी ?’
‘मेलम्ची खोलामा ।’
‘अनि खोलामा अरू के के पाइन्छ त ?’
‘खोलामा पानी पाइन्छ हजुर ।’
‘खोलामा बाँध र पुलहरू छैनन् ?’
‘अहिलेसम्म त ती यता आएका छैनन् हजुर । बरु खोला नभएको ठाउँमा चाहिँ पुल बनाएको देखेका छौं । पहिलेको मन्त्रीज्यूले खोला ल्याउने भनेर रे ।’
हामीले सत्ता सम्हालेको ३०औं वर्ष भो । यो क्षेत्रमा जाबो एउटा बाँध र एउटा पुल पनि छैन भनेर मन्त्रीजी कर्मचारीहरूलाई कडा प्रश्न गर्छन् । कर्मचारीहरू शिर झुकाउँछन् र भन्छन् ‘यतातिर बजेटै परेन हजुर । एकपल्ट पर्याथ्यो, अर्कै दलका ठूला नेताले त्यो बजेट अर्कै ठाउँमा लानु भो रे ।’
मन्त्री फेरि गाउँलेलाई सोध्छन्, ‘मेलम्ची यहाँबाट कति टाढा छ ?’
‘अलि टाढै छ, अर्को गाउँमा, यो बस्तीभन्दा निकै तल छ ।’
‘कसरी ल्याउनुहुन्छ त पानी ?’
‘गाग्री, बाल्टी वा घैलामा ।’
‘गाग्री घरबाटै लिएर जानुहुन्छ कि खोलामै पाइन्छ ?’
‘हजुर साथमै लिएर जानुपर्छ ।’
‘आई सी । अनि जब तपाईंहरू गाग्री बोकेर जानुहुन्छ, तब सधैं खोलामा पानी पाइन्छ कि पाइन्न ?’
‘पहिले सजिलै पाइन्थ्यो, हिजोआज अलि गाह्रो हुँदै गाछ ।’
‘किन गाह्रो भाको नि ?’
‘एक त खोला सुक्दै गाको, अनि गाग्रीका लाइन पनि लामो हुँदै गाकोले ।’
‘खोलामा कति गाग्री पानी हुन्छ र ?’
‘धेरै गाग्री हुन्छन् हजुर ।’
‘म गाग्राको साइज हेर्न चाहन्छु,’ मन्त्रीले भने ।
तत्काल एउटा माटाको गाग्रो ल्याएर मन्त्रीलाई देखाइयो ।
‘यो माटोले बनेको हो ?’
‘हो हजुर ।’
‘यो गाग्री बनाउने माटो विदेशबाट ल्याको कि ह्यैँ को हो ?’
‘हजुर यहीँकै हो ।’
‘अनि यो गाग्रो बनाउने मान्छे चंै नेपाली कि विदेशी ? ‘आइ मिन’, भारतीय वा नेपाली ?’
‘नेपाली नै हो हजुर ।’
‘गुड’
‘अनि गाउँमा सबै मानिस रित्तिए भन्छन् त । कसरी तिनले गाग्रो बनाए त ?’
‘हैन हजुर, गाग्रो पनि शहरतिरैबाटआको हो ।’
‘अनि खोलामा चौबीसै घण्टा पानी आउँछ कि ‘फिक्स टाइम’ हुन्छ ?
‘आउन त चौबीसै घण्टा आउँछ हजुर ।’
‘हिजोआज कति घण्टा आउँछ पानी ?’
‘आउँदैन हजुर, बाढीले बाँध भत्काएकाले पानी सबै अर्कै गाउँतिर मात्र जान थालेको छ ।’
‘भनाइको मतलब दिनमा एक–दुई घण्टा पनि पानी आउँदैन हो ?’
‘हो हजुर, यतापट्टि खोला नै सुक्यो ।’
‘अनि पानी कहाँबाट ल्याएर पिउनुहुन्छ त ?
‘अर्को गाउँबाट ।’
‘त्यो गाउँ कति टाढा छ ?’
‘त्यहाँ पुग्न तीन किलोमिटर जति छ ।’
‘फर्किंदा पनि त्यति नै दूरी छ ?’
‘हो, त्यति नै छ हजुर ।’
मन्त्री गम्भीर हुन्छन् । सचिवतिर हेरेर सोध्छन्, ‘यो खोला साँच्चिकै सुकेको हो कि सुकाएको हो ? किन सुक्यो वा कसले सुकायो ? मलाई तुरुन्त जानकारी चाहियो ।’
सचिवले यो विषयमा अध्ययन गर्न एउटा समिति बनाउने सल्लाह दिन्छन् ।
यतिबेलासम्म मन्त्री धेरै नै गम्भीर भएको कुरा उनको अनुहारमा झल्किन्छ । त्यहाँबाट हिँड्नुअघि गाउँलेहरूको एउटा भेलालाई सम्बोधन गर्छन् ।
‘यहाँ आएपछि हामीलाई थाहा भयो कि काठमाडौंमा मात्र हैन, धेरै गाउँहरूमा पनि पानीको समस्या रहेछ । गाउँलेहरू खासगरी महिलाहरूलाई टाढा टाढाबाट पानी ल्याउनुपर्ने दु:ख रहेछ । म चाहन्छु कि हाम्रो देशमा प्रत्येक गाउँमा एउटा खोला होस्, खासगरी ती गाउँहरूमा जहाँ पानी छैन । हामीहरू चाहन्छौं कि तपाईंहरूले बाल्टिन र गाग्री उठाउन नपरोस् । त्यसका लागि कि त गाउँलाई खोला नजिक सार्नुपर्छ या खोलालाई गाउँ नजिक । जुन आवश्यक हुन्छ, त्यो हाम्रो सरकारले गरेरै छाड्छ ।
यसरी देशैभरि जताततै प्रशस्त पानी नै पानी आपूर्ति गरिनेछ । चाहे त्यो पानी खोलाबाट ल्याउनु परोस्, वर्षाको पानी जम्मा पारेर होस् वा समुद्रबाटै ल्याउन किन नपरोस् । हामी ज्यानको बाजी लगाएर पनि पानी ल्याउँछौं । हामी कोसिस गर्नेछौं कि, कि त यहाँ वर्षा चाँडै ल्याउन सकियोस् वा खोलामा पानी छिट्टै आओस् । हामी विश्व बैंक, एशियाली विकास बैंकहरूसँग पनि थप ऋणका लागि छिट्टै वार्ता गर्नेछौं । किनकि हामीलाई जसरी पनि देशभरि पानीको आपूर्ति बढाएर देशलाई समाजवादको बाटोमा अघि बढाउनु छ । अन्त्यमा, मन्त्रालयमा एउटा मिटिङमा पुग्नैपर्ने भएकाले आजलाई यत्ति नै । धन्यवाद ।’
भाषण सकिएपछि गाउँलेहरूले आयोजना गरेको जलपानमा सबैजना सरिक हुन्छन् । भाषण र जलपान सकिएपछि मन्त्री र उनको टोली चढेको हेलिकोप्टर धूलो उडाउँदै काठमाडौं फर्किन्छ । गाउँलेहरू आकाशमा हेलिकोप्टरलाई अदृश्य नहुन्जेल हेरिरहन्छन् । मन्त्रीजीलाई भोलि फेरि अर्को ठाउँमा पानीको समस्यालाई सम्बोधन गर्न जानुपर्ने छ । यति गरेपछि खानेपानीको समस्या कसो समाधान नहोला ?