रकमान्तरमा रोक लाग्दै

काठमाडौं । सरकारले बजेट रकमान्तरमा रोक लगाउने भएको छ । कार्यक्रम वा आयोजनाका लागि विनियोजित रकम समयमा खर्च नगरी अर्कैतिर रकमान्तर गर्ने परिपाटीमा रोक लगाउने तयारी अर्थ मन्त्रालयले गरेको हो । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्षको मध्यतिर रकमान्तर गर्ने परिपाटीमा रोक लगाउने तयारी अर्थले गरेको जानकारी दिएका हुन् । आफूखुशी बजेट बनाउने र वर्षको बीचमा आएर रकमान्तर गर्ने परिपाटी गलत भएको भन्दै यसमा रोक लगाउने तयारी भएको अर्थमन्त्री पौडेलले बताए । उनका अनुसार आगामी आर्थिक वर्षदेखि नै रकमान्तर पूर्णरूपमा रोक्ने गरी अर्थले तयारी थालेको छ । ‘औचित्यको आधारमा नभई आफूखुशी बजेट बनाउने र वर्षको बीचमा आएर रकमान्तरण गर्ने गलत परिपाटी रोक्न हामीले नीति नै बनाउँदै छौं,’ शुक्रवार भैरहवामा सरकारी अधिकारीहरूलाई निर्देशन दिने क्रममा मन्त्री पौडेलले भने, ‘अर्को वर्षदेखि बजेट रकमान्तर नै गर्न नपाउने गरी कार्यक्रम ल्याउँछौं ।’ अर्थमन्त्री पौडेलका अनुसार संघ, प्रदेश, स्थानीय सरकार मात्रै नभई सरकारी कार्यालयले आर्थिक वर्षको मध्यमा आएर बजेट रकमान्तर गरेर नयाँ काम गर्ने पुरानो परम्परा रहँदै आएको छ । योजना छरपस्ट बनाउने र कार्यान्वयन गर्ने बेला फितलो हुने परिपाटी रोक्न बजेट रकमान्तरमा रोक लगाउन खोजिएको हो । पौडेलका अनुसार आगामी वर्षका लागि बजेट निर्माणको काम शुरू भइसकेको छ । आगामी वर्षदेखि रकमान्तरमा रोक लगाउन अर्थले गृहकार्य थालिसकेको छ । बजेट रकमान्तर प्रत्येक वर्ष बढ्दै गएकोप्रति संसद्को अर्थ समितिले समेत चासो देखाउँदै आएको छ । यो प्रवृत्ति रोक्न समितिले पटकपटक अर्थमन्त्री, अर्थसचिवलाई डाकेर निर्देशन दिँदै आएको छ । अर्थमन्त्री पौडेलले सरकार खर्च कटौतीको विन्दुमा पुगेको भन्दै अत्यावश्यक कामबाहेक अन्य खर्चमा जोड नदिन सरकारी अधिकारीलाई निर्देशन दिए । उनले भने, ‘हामी धेरै अप्ठ्यारो अवस्थामा छौं भन्ने बुझ्नुपर्छ । राजस्व परिचालनको अवस्था गतवर्षको भन्दा १५/२० प्रतिशत कमजोर छ । यसैले खर्च कटौती गर्दै मितव्ययी हुन जरुरी छ ।’ मन्त्री पौडेलले बजेट बनाउँदा औचित्य र आवश्यकताका आधारमा बनाउन पनि कार्यालय प्रमुखहरूलाई आग्रह गरे । उनले संघीय सरकारले संघीय महत्त्वको, प्रदेशले प्रादेशिक महत्त्वको र पालिकाले स्थानीय महत्त्वको योजनामा ध्यान दिनुपर्ने बताए ।   खर्च कटौती गर्न ताकेता सरकारले स्थानीय तहलाई पनि खर्च कटौतीको ताकेता गर्न थालेको छ । अर्थ मन्त्रालयले गत मंगलवार संघीय मन्त्रालय र मातहतका निकायमा खर्च कटौतीको निर्णय गरेपछि स्थानीय तहमा पनि सोहीअनुसार गर्न धमाधम पत्र काट्न थालिएको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै जिल्ला समन्वय समिति र स्थानीय तहलाई चालू खर्च २० प्रतिशत कटौती गर्न परिपत्र गरेको छ । अर्थ मन्त्रालयले खर्च कटौतीका लागि प्रदेश र स्थानीय तहलाई आग्रह गर्ने निर्णय गरेको थियो । संघीय निकायमा चालू शीर्षकको खर्च कटौती भएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहलाई पनि खर्च कटौती गर्न आग्रह गरेको हो । मन्त्रालयले शुक्रवार सबै जिल्ला समन्वय समिति र स्थानीय तहलाई पत्र पठाउँदै चालू शीर्षकमा २० प्रतिशत खर्च कटौतीको निर्देशन दिएको हो । सरकारको वित्त सन्तुलन बिग्रिएको भन्दै अर्थ मन्त्रालयले गत मंगलवार २० प्रतिशत चालू खर्च कटौतीको निर्णय गरेको थियो । इन्धन, पत्रपत्रिका खर्च, भत्ता, कार्यालय सञ्चालनलगायत शीर्षकमा करीब साढे २४ अर्ब बराबर खर्च कटौती भएको मन्त्रालयले जनाएको छ । चालू आर्थिक वर्षमा लक्ष्यअनुसार राजस्व असुली हुन नसकेको, बजेटरी सहायता समयमा प्राप्त हुन नसकेको, कर्मचारीको तलब तथा सामाजिक सुरक्षा कार्यक्रमका लागि आर्थिक दायित्व बढ्दै गएकोलगायत कारण खर्च कटौतीको निर्णय गर्नु परेको अर्थले बताएको छ ।

सम्बन्धित सामग्री

मीटरब्याजले ल्याएको तरंग : असंगठित क्षेत्रमा वित्तीय पीडाको अर्थशास्त्र

यतिखेर देशको बैंक वित्तीय क्षेत्रमा अनेक खाले समस्याका साथसाथ विभिन्न प्रकारका दबाब छन् । खासगरेर, लघुवित्तीय संस्थाहरूमाथि तिनकै सेवाग्राहीद्वारा नयाँ साहूकार वा सूदखोरको आक्षेप र मीटरब्याजमा ऋण खाएकाहरूले भोग्नुपरेको पीडाले सडक, सरकार र सदन तताएको देखिन्छ । केही समय पहिले सरकार र तराईदेखि राजधानीसम्म पैदलै हिँडेर आएका मीटरब्याजका पीडाले पिल्सिएका नागरिकबीच पाँचबुँदे सहमतिसमेत भयो ।  मीटरब्याजपीडितहरूबीच पनि अनेकौं गुटउपगुट छन् । अदृश्यमा त्यहाँ कुनै राजनीतिक चलखेल नहोला पनि भन्न सकिँदैन । किनभने, लघुवित्तीय क्षेत्रसित कुनै सरोकारै नभएको मेडिकल क्षेत्रका धनाढ्य व्यापारीसमेत विपन्न वर्गमै समर्पित लघुवित्तीय सेवामा संलग्न कर्मचारीहरूलाई कालोमोसो दल्ने, सेवा प्रवाहमा रोक लगाउने, सेवाग्राहीहरूले लिएको ऋण मोचन हुनुपर्नेलगायत कुरा गर्न लागेको देखिएकै हो । गएको वर्षदेखिको दृश्यमा रहेको अर्कोथरी दबाब हो: उद्योगपति र व्यापारीहरूको बैंकको ब्याजदर विरुद्धको सडक आन्दोलन । कतिपय जानिफकारहरूले त्यो आन्दोलनलाई उद्योग वाणिज्य संघको चुनावसित जोडेर पनि हेरे ।  यहाँनेर मननयोग्य कुरा के छ भने केही सीमित ऋणी वर्गका हितका लागि मात्र आन्दोलन हुने तर जुन स्रोतका आधारमा टेकेर बैंक वित्तीय संस्थाहरूले तिनलाई कर्जा प्रवाह गरिरहेका हुन्छन् तिनका हितका लागि भने कुनै आवाज अहिलेसम्म आएन । अर्थात् बैंकवित्तीय संस्थाको कर्जा प्रवाहको ठूलो स्रोत (करीब ८० प्रतिशत) नै निक्षेप हो भन्ने कुरा यहाँ बिर्सिएको देखिन्छ । तिनलाई भने सामान्य मूल्यस्फीति दरभन्दा पनि धेरै कम दरले ब्याज दिए पनि ठीकै छ, अहिले बजारमा विगत ३ वर्षदेखि देखिँदै आएको तरलता अभावका कारण बजारले नै दिएको दोहारो अंकदरको ब्याज पनि ठीकै छ, ती केही बोल्दैनन् । साँच्चै भन्ने हो भने लाखौंंको संख्यामा रहेका निक्षेपकर्ताको आवाज केही पनि र कतै पनि नसुनिने र केही सीमित कर्जाग्राहीका आवाज भने सडकदेखि सदन र सरकारसम्मै बुलन्द हुने अनौठो परिदृश्य यहाँ देख्न पाइन्छ । तिनलाई भने ब्याज सहुलियत, पुनर्कर्जा सुविधा, ब्याज छूट, कर्जाको अवधि विस्तार वा पुनर्तालिकीकरणलगायतमा अनेक सुविधा । अहिले बैंकको चर्को ब्याजदर भयो भन्दै त्यसलार्ई एकल दरमा ल्याउनुपर्छ भन्ने सडक आन्दोलन पनि तिनकै ।  नेपाली वित्तीय क्षेत्रमा देखिएका यसखाले परिदृश्यहरूलाई हेर्दा के अनुमान हुन्छ भने कतै भुक्तानी दिन नसकी तरलताको अत्यधिक चाप खेपेको र बोन्ड मार्केटमा आएको गिरावटका कारण अमेरिकामा हालै दुईओटा बैंक बन्द भएका घटना र क्रेडिट स्वीस बैंकजस्तो बलियो र ठूलो बैंक पनि समस्यामा परेको कुराबाट पाठ सिकेको देखिँदैन । त्यसलाई हामीले संवेदनशील रूपमा नलिने हो अर्थात् त्यसबाट पाठ नसिक्ने हो भने नेपाली वित्तीय क्षेत्रमा पनि त्यस्तै घटना नहोला भन्न सकिँदैन । अहिले देखिएको ब्याजदर बढी भयो भन्ने कुरा र बैंकहरूले जथभावी सेवा शुल्क लिने कुरा केही हदमा सम्बोधनयोग्य भए पनि कर्जा नै नतिर्नु पर्ने र विनाब्याज कर्जा पाउनुपर्छ भन्ने एवम् विपन्न वर्गकै हितका लागि विनाधितो कर्जा प्रवाहमा विगत ३ दशकदेखि लाग्दै आएको लघुवित्तीय संस्थाहरू नै खारेज हुनुपर्छ भन्ने सडकमार्फत आइरहेको आन्दोलन र मागले हाम्रो वित्तीय क्षेत्रलाई पनि अनिश्चित भुमरीतर्फ धकेलिरहेको भान हुन्छ । लगेको कर्जा नै फिर्ता गर्नु नपर्ने हो भने हाम्रो वित्तीय क्षेत्रमाथि निक्षेपकर्ताहरूको विश्वास कहिलेसम्म रहला ? त्यो पाटोमाथि कसैले पनि सोचेको देखिएन ।  बैंक वित्तीय संस्थाहरूले नै दोहोरो अंकमा निक्षेप र ऋणपत्रहरूमा ब्याज प्रदान गरिरहेका हुन्छन् भने एकल अंकको ब्याज दरमा कर्जा प्रवाह हुनुपर्छ भन्ने व्यवसायीका मागको कुनै तुक छैन । हो, उत्पादनशील क्षेत्रमा सरकार, केन्द्रीय बैंकले वित्तीय क्षेत्रलाई साधन सस्तोमा उपलब्ध गराउँछ भन्ने प्रत्याभूति भइरहेको अवस्थामा बैंक वित्तीय क्षेत्रले त्यसमा कमदरमा कर्जा प्रवाह गर्ने कुरा उचित हो । तर, यसैका नाममा विगतमा प्रवाहित पुनर्कर्जाको सदुपयोग कति भएको छ ? त्यो विचारणीय पक्ष पनि छ । अहिले नै पनि केन्द्रीय बैंकको नियमनअनुसार कुल कर्जाको ४५ प्रतिशत साधन विपन्न वर्गलगायत उत्पादनशील क्षेत्रमा प्रवाहित गर्नुपर्छ । तर, के ती क्षेत्रमा प्रवाहित कर्जाले उत्पादनशील क्षेत्रकै भरथेग गरिरहेको छ त ? यदि हुँदो हो भने वर्षेनि हुने अर्बौंको खाद्यान्न, फलपूmल, तरकारी आदिका आयात रोकिनुपथ्र्यो, नरोकिए पनि त्यसमा कमीचाहिँ आउनुपथ्र्यो । उत्पादनशील प्रयोजनमा गएका कर्जाको प्रतिफलमाथि गरिने एउटा गम्भीर प्रश्न हो यो । यसैले बैंक वित्तीय क्षेत्रको यस्तो लगानीको विस्तृत अध्ययनको आवश्यकता देखिएको छ ।  मीटरब्याजको अस≈य पीडा भोगिरहेका मीटरब्याजपीडितका कुरा सुन्दा ग्रामीण क्षेत्रमा असंगठित क्षेत्रका साहूकारी प्रथाले सामाजिक अर्थ व्यवस्थालाई नै जर्जर पारेको अनुमान हुन्छ । एक साहूलाई लेखिदिएको धितो लिएको ऋणको सावाँब्याजसमेत चुक्ता भइसक्दा पनि फिर्ता नदिने र उल्टै ऋण तिर्न बाँकी छ भनेर ऋण लिनेलाई पीडामाथि पीडा दिने, तमसुकमा नै लिएको ऋणभन्दा बढी रकमको थैली लेख्ने र त्यसमा मीटरब्याज असुल्ने, कतिपय साहू त महिला हिंसामा उत्रिने, ज्यानको धम्कीलगायत यौन शोषणका घटनासमेत पीडितहरूले भोग्नुपर्ने आदि आहत र अस्तव्यस्तता यो क्षेत्रका सामान्य परिदृश्य हुन् । यो हाम्रो समाजमा वर्षौंदेखि जरा गाडी बसेको सामाजिक आर्थिक विकृति नै हो । यसको उन्मूलन, उन्मूलन नै नभए पनि कमी ल्याउनकै लागि आएको हो लघुवित्त सेवा । तर, त्यसमाथि पनि अहिले त्यसैका सेवाग्राहीहरूले धावा बोलिरहेका छन्, सडक आन्दोलनमा छन् र कताकति ती नै पनि मीटरब्याजपीडितहरूसित सामेल भएका हुन् कि भन्ने आशंका पनि छ ।  आन्दोलनरत मीटरब्याजपीडितका कुरा सुन्दा के पनि संकेत मिलेको छ भने यस्तो असंगति क्षेत्रको लेनदेन घरायसी भए पनि स्थानीय साहूकारहरूबाट चर्को ब्याजदरमा (मीटरब्याज) घरजग्गा धितो राखी लिएका कर्जाको उपयोग भने वैदेशिक रोजगारीमा जान र छोराछोरीको विवाह गर्नमा प्रयोग भएको देखिएको छ । यसका साथै यससँग हालसम्म पनि अर्को अनुद्घाटित विषय पनि जोडिएर आएको रहेछ: लघुवित्तीय संस्थाहरूको किस्ता तिर्न पनि त्यस्तो मीटरब्याजमा कर्जा लिने गरेको कुरा । वित्तीय सेवा प्रवाह गर्नेहरूका लागि यो पछिल्लो विषय धेरै पेचिलो पनि हो । मीटरब्याजीहरूकै पीडा भगाउन आएको लघुवित्त सेवाको किस्ता तिर्न नै मीटरब्याजको कर्जा लिनुपर्ने अवस्था आउनु भनेको नेपालको वित्तीय सेवाको असफलताकै विरसिलो उदाहरण र संकेत पनि हो । हाम्रो मौद्रिक नीति, वित्तीय नीति र बैंकिङ प्रणालीले यस कुरालाई सम्बोधन गर्न सकेन भने असंगठित क्षेत्रमा प्रयोगमा रहेको यस किसिमको प्रणालीले हाम्रो सामाजिक अर्थ व्यवस्था नै ध्वस्त बनाउने पक्का छ । शहरी क्षेत्रतिर बाक्लै गरी देखिन थालेको चेक बाउन्सका घटना पनि यिनै असंगठित क्षेत्रको मीटरब्याजकैजस्तो नखुलेको वित्तीय संरचनाकै उपज हो । बंैकिङ प्रणाली इन्टरभेन्सनको ९ दशक पुग्दा पनि अझै ६० प्रतिशत मानिस यो प्रणालीबाहिरै हुनुले के देखाएको छ भने हाम्रो वित्तीय प्रणालीले व्यापक संरचनागत सुधार खोजेको छ ।  प्रधान नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक हुन् ।

अब बागमतीको लाइसेन्स परीक्षामा ७० अंक ल्याए पास

भक्तपुर । बागमती प्रदेश सरकारले मंगलवारदेखि  सवारीचालक अनुमतिपत्र (लाइसेन्स) लिन ७० अंक ल्याए ट्रायल परीक्षा उत्तीर्ण हुने व्यवस्था लागू गरेको छ । यो व्यवस्थाको मंगलवार बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले भक्तपुरको    मध्यपुरथिमि राधेराधेस्थित इजी वे ट्रायल सेन्टरमा शुभारम्भ गरे । उनले नयाँ व्यवस्था सहज कार्यान्वयनका लागि सबैलाई सहयोग गरिदिन आग्रह गरे । लागू भएको नयाँ निर्देशिका र प्रणालीमा केही असन्तुष्टि रहेमा वा प्रणालीमा समस्या देखिएमा त्यसलाई सच्याएर जान सकिने पनि उनले बताए । कर्मचारीलाई उनले सहज र निष्पक्षरूपमा सेवाग्राहीलाई सेवा दिन र गुनासो सुन्नुपर्ने अवस्था आउन नदिन निर्देशन दिए । कार्यक्रममा बागमती प्रदेशका मुख्यसचिव मुकुन्दप्रसाद निरौलाले फागुन १ गतेदेखि नै ७० अंक ल्याए लाइसेन्सको प्रयोगात्मक परीक्षा (ट्रायल) पास हुने प्रणाली लागू गर्ने भनिए पनि उक्त दिन सार्वजनिक बिदा परेकाले मंगलवारबाट लागू गरिएको बताए । यो प्रणालीले लाइसेन्स लिन सेवाग्राहीलाई सहज हुने उनले बताए । कार्यक्रममा यातायात व्यवस्था कार्यालय भक्तपुरका प्रमुख शिवकुमार निरौलाले नयाँ प्रणालीलाई प्रदेश सरकारको निर्देशन र निर्देशिकाअनुसार सहजरूपमा कार्यान्वयन गरिने बताए । यसअघिको सरकारको श्रम, रोजगार तथा यातायात मन्त्रालयले यो व्यवस्था लागू गर्न खोजे पनि तत्कालीन मुख्यमन्त्री राजेन्द्र पाण्डेले हस्तक्षेप गरी लागू नगर्न परिपत्र गरेपछि तीनपटकसम्म यो व्यवस्था लागू गर्न रोकिएको यातायात व्यवस्था विभागका कर्मचारीले बताएका छन् । गत पुस २० गतेबाट लागू हुने तयारीमा रहेको ७० अंक ल्याए ट्रायल पास हुने प्रणाली कार्यान्वयन नगर्न मुख्यमन्त्री कार्यालयले यातायात मन्त्रालयलाई पत्राचार गरेर रोक लगाएको ती कर्मचारीले बताए । यसअघि असोज २ गते र मङ्सिर १८ गतेदेखि उक्त प्रणाली लागू गर्ने भनिए पनि मुख्यमन्त्री पाण्डेकै निर्देशनमा रोकिएको थियो । दुई तथा चारपांग्रे सवारीसाधनको प्रयोगात्मक परीक्षामा ससानो त्रुटिमा पनि फेल भनेर फर्काउने गर्दा सडकमा वर्षौंदेखि विनालाइसेन्स सवारी चलाउँदै आएका पनि पटकपटक फेल हुने गरेको गुनासो बढेको थियो । यसरी ससाना त्रुटिमा पनि फेल भनेर फर्काउँदा अवैधानिक रूपमा लाइसेन्स निकाल्ने, नक्कली परीक्षार्थी परीक्षामा आउने र विभिन्न प्रलोभनमा बिचौलिया सक्रिय भएको गुनासो बढिरहेको थियो । सेवाग्राहीलाई प्रयोगात्मक परीक्षामा फेल गराएर गलत प्रक्रियाबाट पास गराउन बिचौलिया हावी भएर आर्थिक कारोबार हुने गरेको आरोप लाग्दै आएको थियो । नयाँ प्रणालीमा मोटरसाइकल, स्कूटर तथा मोपेडका लागि कुल अंकभार १०० तोकिएको छ भने त्यसमा ७० अंक प्राप्त गर्ने प्रशिक्षार्थीले प्रयोगात्मक परीक्षा उत्तीर्ण भएको मानिने र अनुमतिपत्रका लागि योग्य हुने व्यवस्था गरिएको छ । प्रदेश सरकारले तयार पारेर कार्यान्वयनमा ल्याएको निर्देशिकाअनुसार मोटरसाइकल, स्कुटर, मोपेड, कार, जिप, डेलिभरी भ्यानको प्रयोगात्मक परीक्षामा अंग्रेजी अंक आठ (एट) को अंकभार २० तोकिए पनि दुईपटकसम्म उक्त अंकित रेखा छोएमा प्रत्येकपटक पाँच अंकको दरले १० अंकभार घट्नेछ तर ट्रायल भने उत्तीर्ण हुन्छ । निर्देशिकाअनुसार प्रयोगात्मक परीक्षामा यू–टर्नको अंकभार १० तोकिएको छ । ‘टर्निङ लाइट’ नबालेको खण्डमा १० अंक घटाइनेछ भने त्यस्तो अवस्थामा अंकित रेखा छोए अनुत्तीर्ण हुने व्यवस्था छ । ट्राफिक संकेतका लागि १५ अंकभार तोकिएकोमा ट्राफिक संकेत पालना नगरेको खण्डमा १५ अंक घट्छ । निर्देशिकामा उबडखाबडको अंकभार १५ तोकिएको छ । एकपटकसम्म सवारीको स्टार्ट बन्द भएको खण्डमा पाँच अंकभार घट्छ । एकपटकभन्दा बढी स्टार्ट बन्द भयो भने प्रयोगात्मक परीक्षा दिने अनुत्तीर्ण हुन्छन् । प्रयोगात्मक परीक्षाको क्रममा दुईपटकभन्दा बढी अंकित रेखा छोए, सवारीको टायर अंकित रेखाभन्दा बाहिर गए, ठीक दिशाबाट वा ठीक तरिकाबाट आठ आकार नघुमाएमा, एकपटकभन्दा बढी खुट्टाले भुइँ टेकेको अवस्थामा भने अनुत्तीर्ण भइन्छ । त्यसैगरी उकालोको अंकभार २०, परीक्षार्थीको व्यवहारगत पक्षको मूल्यांकनलाई १० अंकभार तोकिएको छ । निर्देशिकाअनुसार कार, जिप, डेलिभरी भ्यानको प्रयोगात्मक परीक्षामा घुमाउरो एटको अंकभार २० तोकिएको छ । नयाँ प्रणालीले ट्रायलमा अहिलेको भन्दा ३० देखि ४० प्रतिशत बढी प्रशिक्षार्थी उत्तीर्ण हुने अनुमान गरिएको छ । यसअघि लिखित परीक्षामा २० प्रश्न सोध्ने गरेकोमा नयाँ प्रणाली लागू भएपछि सवारीचालक अनुमतिपत्रको लिखित परीक्षामा २५ ओटा प्रश्न सोधिने भएको छ । लिखित परीक्षामा ५० अंक ल्याउने उत्तीर्ण हुने प्रावधान रहेकोमा नयाँ प्रणाली लागू भएपछि ६० अंक ल्याउनुपर्ने व्यवस्था गरिएको छ । रासस

आन्तरिक उत्पादन बढाउनु अहिलेको प्रमुख आवश्यकता हो

निजीक्षेत्रले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रमको खुलेर स्वागत गर्‍यो । नीति, तथा कार्यक्रम र बजेट प्राय:जसो राम्रा आउने गरे पनि त्यसको कार्यान्वयन पक्ष भने सधैंै निराशाजनक देखिन्छ । तथापि ‘नेपाली उत्पादन तथा उपभोगमा अभिवृद्धि दशक’ अभियान र स्वदेशी उत्पादन तथा उद्योगलाई प्राथमिकता दिने घोषणाले निजीक्षेत्र उत्साहित छ । नेपाल उद्योग परिसंघजस्ता छाता संगठनले पनि उत्पादन र रोजगारी बढाउँदै निर्यात र कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा उत्पादनमूलक उद्योगको हिस्सा बढाउने घोषणा गरेका छन् । नीति तथा कार्यक्रम, आगामी आर्थिक वर्षको बजेट, उद्योग क्षेत्रको अवस्था लगायत समसामयिक विषयमा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालसँग आर्थिक अभियानका हिमा वि.क र मिलन विश्वकर्माले गरेको कुराकानीको सार : केही दिनअघि आएको नीति तथा कार्यक्रमप्रति निजीक्षेत्र उत्साहित देखिएको छ नि । कस्तो पाउनुभयो ? जेठ १० गते सार्वजनिक गरिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको दिशा राम्रो छ । किनकि सरकारले औद्योगिकीकरणलाई प्राथमिकतामा राखेको छ । यसमा दुई–तीनओटा विषय उल्लेख गर्नुपर्छ । जस्तै– सबैभन्दा पहिला कुनै पनि उद्योग स्थापनाका लागि दीर्घकालीन नीति हुन आवश्यक छ । किनकि उद्योगमा आज लगानी गर्ने हो, यसको तयारीमा समय लाग्छ । उद्योगको तयारी गर्न, उत्पादन थाल्न, बजार लिन र उद्योग फस्टाउन समय लाग्छ । नीति अल्पकालीन हुनुहुँदैन । नीति तथा कार्यक्रममार्फत स्वदेशी उत्पादन र उपभोग बढाउन सकारात्मक व्यवस्था गरिएको छ । हाम्रो ‘मेक इन नेपाल : स्वदेशी अभियान’मा पनि यही कुरा अघि सारिएको छ । यसमा निजीक्षेत्र के चाहन्छ भने नीति तथा कार्यक्रम घोषणामा मात्र सीमित नहोस् । जस्तै, अबको १० वर्षमा कहाँ पुग्ने, कुन कुन उद्योगमा नेपालमै अवसरको अवस्था छ, कुन कुन उद्योगमा मूल्य अभिवृद्धि भइरहेको भन्ने यकिन गरेर औद्योगिक विकासमा अघि बढ्नुपर्छ । यसका लागि दीर्घकालीन नीति बनाएर काम गर्नुपर्छ । उत्पादन र उपभोग दशकको घोषणा भएको छ । घोषित कार्यक्रमको कार्यान्वयन भए औद्योगिकीकरणले गति लिन सक्छ । सरकारसँग फलोअप गरेर नीति तथा कार्यक्रममा समेटिएका विषय कार्यान्वयनका लागि काम गर्नेछौं ।    नीति तथा कार्यक्रममा उद्योगहरूसँग सम्बन्धित धेरै मुद्दाहरू समेटिएका छन् । उदाहरणका लागि, जग्गाको हदबन्दीले अधिक समस्या स्वदेशीलाई मात्र नभएर वैदेशिक लगानीका उद्योगलाई समेत भएको छ । जग्गाको हदबन्दीले औद्योगिक विकासमा असर गरेको छ । समग्रमा नीति तथा कार्यक्रम सकारात्मक छ । तर, बजेटले कसरी सम्बोधन गर्छ भन्ने हेर्न बाँकी छ । परिसंघले पनि सरकारसँग फलोअप गरेर नीति तथा कार्यक्रममा समेटिएका विषय कार्यान्वयनका लागि काम गर्नेछ । नीति तथा कार्यक्रम र अन्य सरकारी घोषणा सामान्यतया राम्रा नै देखिन्छन् । तर कार्यान्वयन सधैं फितलो हुने गरेको छ । यसका कारण के होलान् ? अन्तरमन्त्रालय समन्वयको अभाव, सम्बन्धित मुद्दाहरूमा पहिला नै छलफल गरेर त्यसलाई कसरी कार्यान्वयन गर्ने भन्ने विषयमा स्पष्ट हुन नसक्नु कार्यान्वयनका बाधक हुन् । अर्को कुरा, क्षमता अभिवृद्धि गर्ने र नयाँ नयाँ कार्यक्रम तथा नीतिलाई कसरी तल्लो तहसम्म पुर्‍याउने भन्ने विषयमा पनि ध्यान दिन सकिएको छैन । यस्ता पक्षमा ध्यान दिनुपर्छ । साथै, निजीक्षेत्रसँग छलफल गरेर नीति तथा कार्यक्रम ल्याउँदा कार्यान्वयन पनि राम्रो हुन्छ । सरकारको भूमिकालाई बलियो पार्दै अन्तरमन्त्रालय समन्वयको अभाव हटाउनुपर्छ । नीति तथा कार्यक्रममा आएका विषयवस्तुलाई बजेटले के कसरी सम्बोधन गर्‍यो भने कार्यान्वयनमा लैजान सजिलो होला ? निजीक्षेत्रको अपेक्षा के छ ? आगामी बजेटको सम्बन्धमा परिसंघले सरकारलाई विभिन्न विषयमा सुझाव दिएको छ । तयारी वस्तु र कच्चापदार्थमा लाग्दै आएको भन्सार दरका कारण समस्या छ । सम्भाव्यता भएका सामानमा के–कसरी संरक्षण दिने भन्ने पनि सुझाएका छौं । निर्यातमा के कस्ता सम्भावना छन् र के कस्तो अनुदान/सहुलियत दिँदा लाभ हुन्छ भन्ने विषयमा जानकारी गराएका छौं । बजेटमा नीति तथा कार्यक्रममा आएका विषय र निजीक्षेत्रले दिएका सुझाव समेटिनेछन् भन्ने हाम्रो अपेक्षा हो । आज (जेठ १५ गते) बजेट आए पनि कार्यान्वयन साउनदेखि मात्र हुन्छ । तर, यसमा सुधार गरौं । बजेटमा घोषणा हुने विषय र उठेका मुद्दालाई कार्यान्वयनमा लैजान असार मसान्तसम्ममा सबै कार्यविधि बनाउनुपर्छ । कार्यविधि समयमै बनाएर साउन १ गतेदेखि नै कार्यान्वयनमा लैजानुपर्छ । घोषणाहरूको प्रभावकारी कार्यान्वयनका लागि निजीक्षेत्रलाई पनि राखेर कार्यविधि बनाउनुपर्छ । असार मसान्तसम्ममा सबै कार्यविधि बनाउनुपर्छ । घोषणा भएका विषय साउन १ गतेदेखि नै कार्यान्वयनमा लैजाऔं ।      परिसंघले २०७७ देखि शुरू गरेको ‘मेक इन नेपाल : स्वदेशी अभियान’ले वार्षिक १ हजार उद्योग दर्ता, डेढ लाख रोजगारी सृजनाको लक्ष्य लिएको छ । यो कत्तिको सम्भव छ र आधार के के हुन् ? यो अभियानका लागि हामीले ५ वर्षको अवधि लिएका छौं । गहन अध्ययन र विश्लेषणबाट यो अभियान आएको छ । यसमा दुईओटा पक्ष छन् । एउटा औद्योगिक वातावरण कसरी तयारी गर्ने र दोस्रो नेपाली उत्पादनप्रति कसरी नेपाली जनता र बाहिरका ग्राहकको आकर्षण बढाउने भन्ने हो । यसमा हामीले ३४ ओटा हस्क्षेपकारी नीतिलाई महत्त्व दिइएको छ । ३४ ओटा इन्टरभेन्सनले नेपालमा राम्रो औद्योगिक वातावरण सृजना गर्ने सम्भावना छ । यसमा लिइएका हस्तक्षेपकारी नीतिले मुलुकबाट निर्यात प्रवद्र्धनमा पनि सहयोग पुग्नेछ । औद्योगिकीकरण र उद्योगमा उद्यमीको पनि आकर्षण बढाउनेछ । अभियान शुरू भएको २ वर्ष पुगेको छ । यो अवधिमा भएका कामलाई कसरी समीक्षा गर्नुहुन्छ ? यो अवधिमा भएको उपलब्धिले उत्साह दिएको छ भने नतीजा पनि राम्रो देखाएको छ । यो अभियान शुरूपछि पाएका सकारात्मक प्रतिक्रियाले निर्धारित लक्ष्य प्राप्तिमा लाग्न थप ऊर्जा दिएको छ । त्यतिमात्र होइन, उक्त अभियानको समिटको दिनमा विभिन्न सत्रमा उठेका कुराले उद्योगमा देखिएका समस्या र औद्योगिक वातावरण कस्तो हुने र कसरी अघि बढ्ने भन्ने विषयमा मार्गदर्शन समेत गरेको छ । अहिलेको समिटमा भएका विषयको सारांश हामीले अर्थ मन्त्रालय, मुख्य सचिव, उद्योगलगायत निकायमा बुझाएका छौं । १० गतेको नीति तथा कार्यक्रममा पनि धेरै मुद्दा सम्बोधन भएका छन् । यो हाम्रो उपलब्धि र खुशीको कुरा हो । काम धेरै भएका छन् । यो अभियानअन्तर्गत ५० ओटा स्वदेशी ठूला उद्योगका साथै सेवामूलक उद्योग स्थापना भइसकेका छन् । यो अभियानलाई अब काठमाडौंमा मात्रै नभएर प्रदेशका संगठनहरूमा पनि लैजाने तयारीमा छौं । १० वर्षअघि नै प्राथमिकताका आधारमा उद्योगहरूलाई केन्द्रमा राखेर औद्योगिकीकरणका लागि प्रयास भएको भए धेरै अगाडि पुगिसकिन्थ्यो ।   अहिले विश्वका विभिन्न देशले खाद्यवस्तुको निकासीमा प्रतिबन्ध लगाउँदै आएका छन् । छिमेकी भारतले पनि गहुँ, चिनी निर्यातमा रोक लगाइसकेको छ । यो अवस्थाले नेपालमा तत्काल चुनौती देखिएला । यससँगै कस्ता अवसर सृजना गर्ला ? भारतले आफ्नो देशमा खाद्यवस्तुको अभाव नहोस् र मूल्यवृद्धि पनि नहोस् भन्ने हेतुले यो नीति लिएको देखिन्छ । यसले नेपाललाई एकातिर चुनौती सृजना त गरेको छ भने अर्काेतर्फ हामीलाई कसरी हुन सक्छ उत्पादन बढाउन तथा आत्मनिर्भरतातर्फ अघि बढ्नुपर्छ भन्ने सन्देश पनि दिएको छ । विशेष पहल तथा कार्यक्रमसहित आन्तरिक उत्पादन बढाउनेतर्फ केन्द्रित हुनु अहिलेको टड्कारो आवश्यकता हो । अन्यथा नेपालमा पनि खाद्यवस्तुको मूल्यवृद्धि आकाशिनुका साथै अभाव सृजना हुन्छ । त्यसैले कृषिलगायत वस्तुमा आत्मनिर्भर बन्नेतर्फ हाम्रो पहल र प्रयास हुनुपर्छ । यसका लागि मुख्यत: ग्रामीण तहमा उत्पादन बढाउने कार्यक्रम ल्याइनुपर्छ । नेपाल नगन्य वस्तुमा मात्र आत्मनिर्भर छ । पेट्रोलियम पदार्थदेखि धनियाँसम्म आयात गरिन्छ । अत्यावश्यक वस्तुमा समेत परनिर्भरता बढेको छ । यो अवस्था न्यूनीकरणमा निजीक्षेत्रको उपस्थिति पनि कमजोर नै छ नि । यो हामीले पनि महसूस गरेको विषय हो । तर यसमा मुख्यत: सरकारले लिने नीतिको भूमिका सर्वोपरि हुन्छ । सरकार नेतृत्वदायी निकाय भएकाले उसले ल्याउने नीति र कार्यक्रममा कुन क्षेत्रलाई प्रोत्साहन दिने, त्यसलाई कसरी अघि बढाउने भन्ने कुरा निर्भर हुन्छ । मुलुकको राजस्वमा निजीक्षेत्रको योगदान ७० प्रतिशत छ । सबैभन्दा धेरै रोजगारी यही क्षेत्रबाट आइरहेको छ । तर, सही किसिमका नीति तथा कार्यक्रम बनाएर र निजीक्षेत्रसँग सल्लाह गरेर ल्याए मात्र आयात निरुत्साहन र स्वदेशी उत्पादन प्रवद्र्धनमा प्रभावकारी काम हुन सक्छ । आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि सरकारले दीर्घकालीन नीति ल्याउनुपर्छ । यस्ता राष्ट्रिय लक्ष्यमा साथ दिन निजीक्षेत्र सधैं तयार नै छ । निजीक्षेत्रको लगानी प्रवद्र्धनका लागि मार्गदर्शन त सरकारले गर्नुपर्छ नि । कस्ता खालका उद्योग लगाउने, कस्ता खालका उद्योगलाई छूट दिने, कस्ता उद्योगलाई संरक्षण गर्ने, कस्तालाई निरुत्साहन गर्ने भन्ने दिशामा नीति तथा नियम त सरकारबाटै आउने हो । त्यसैले निजीक्षेत्र असक्षम छ भन्न मिल्दैन । जग्गाको हदबन्दीले सिंगो औद्योगिकीकरणमा असर गरेको छ ।     सरकारको ‘भिजन’ नै स्पष्ट भएन भन्न खोज्नुभएको हो ? तपाईं आफै हेर्नुस् न, सरकारले अहिले आएर बल्ल औद्योगिकीकरणको कुरा उठाएको छ । यसलाई यो १० वर्षअघि नै ल्याउन सकिन्थ्यो नि । १० वर्षअघि प्राथमिकताका क्षेत्र तथा उद्योगहरूलाई केन्द्रमा राखेर औद्योगिकीकरणका लागि प्रयास भएको भए अहिले धेरै अगाडि पुगिसकिन्थ्यो । विद्युत्तर्फकै कुरा गर्ने हो भने अरुण तेस्रो जलविद्युत् आयोजना बनाउने कुरा धेरै वर्ष पहिलेदेखि उठेको हो । अहिले बल्ल भारतीय कम्पनीले यो आयोजना बनाइरहेको छ । यो आयोजना पहिले नै बनेको भए हामीले विगतमा लोडशेडिङको सामना गर्नुपर्ने नै थिएन । त्यसैले, उत्पादन प्रवद्र्धन तथा औद्योगिकीकरणको विषयमा सरकारले स्पष्ट नीति ल्याउनुपर्छ ।   आयात गरेर व्यापार गर्न सहज हुने हुँदा औद्योगिकीकरण तथा उत्पादनशील क्षेत्र पछि परेको हो कि ? हामीले औद्योगिकीकरणलाई बेवास्ता गरेका छैनौं । तर, औद्योगिकीकरणमा योगदान भने घट्दो छ । समग्रमा सरकारले निजीक्षेत्रलाई औद्योगिकीकरण तथा उत्पादनशील क्षेत्रमा आकर्षित गर्ने नीति ल्याउनुपर्छ । यसका लागि सरकारले ल्याउने नीति उद्योगको दीर्घकालीन विकासमा सहयोग पुग्ने हुनुपर्छ । उद्योग स्थापना गर्नु आफैमा जोखिमपूर्ण कार्य हो । उद्योगमा शुरूमै पर्याप्त मात्रामा लगानी गर्नुपर्छ । त्यसपछि पनि यसमा विभिन्न जोखिम आइरहन्छ । त्यसलाई समाधानका लागि सरकारले दिगो नीति ल्याउनुपर्छ । परिसंघको अभियानअन्तर्गत ५० ओटा उद्योग स्थापना भइसकेका छन् ।  जग्गा हदबन्दीको कुरा एकातिर छ । अर्काेतिर सरकारले विशेष आर्थिक क्षेत्र (सेज) बनाएर निजीक्षेत्रलाई त्यहाँ उद्योग चलाऊ भनेको छ । तर, निजीक्षेत्र गएका छैनन्, किन होला ? पहिला त सेज नै तयार भइसकेको थिएन । अहिले भैरहवामा भने तयार भइसकेको छ । तर, सेजमा जान पहिला केही अफ्ठ्यारा मापदण्ड थिए । त्यसकारण पनि निजीक्षेत्र त्यसतर्फ जान चाहेन । यद्यपि, अहिले त्यसमा केही संशोधन गरिसकिएको छ । अब निजीक्षेत्र पनि सेजमा प्रवेश गर्छ । वैदेशिक लगानीबाट स्थापना हुने उद्योगको हकमा भने केही समस्या छ । वैदेशिक लगानीबाट आउने उद्योग आफैमा ठूलो हुन्छ । ठूलो उद्योगको हकमा जग्गा पनि सोहीअनुसार चाहिन्छ । त्यसमाथि जग्गा हदबन्दीको कारण जग्गा किन्न कठिन पनि छ । त्यसमाथि त्यस्तो जग्गा बैंकमा धितो राख्न समेत पाइँदैन । त्यसैले यस्ता विषयमा पनि नीतिगत पुनरवलोकन गर्न आवश्यक छ । सरकारले नीति तथा कार्यक्रममार्फत सेजको निर्माण, व्यवस्थापन र सञ्चालनमा निजीक्षेत्र पनि आउन सक्ने व्यवस्था गरेको छ । यसलाई कसरी लिनुभएको छ ? यो एकदम सकारात्मक छ । यस्तो नीति ल्याउन हामीले नै माग गर्दै आएका थियौं, जुन सरकारले सम्बोधन गरिसकेको छ । समग्रमा निजीक्षेत्र पीपीपी मोडलमा सेजमा लगानी गर्न तयार छ । तपाईं आफै उद्योगी हुनुहुन्छ । तपाईंको कम्पनी उत्पादनशील क्षेत्रमा कम देखिन्छ । त्यतातिर प्रवेश गर्ने तयारी छैन ? उत्पादनमूलक क्षेत्रमा प्रवेश गर्नेगरी प्रक्रिया अगाडि बढाइसकेका छौं । तत्काललाई कृषि, एसेम्बल र फाइनान्स क्षेत्रमा प्रवेश गर्ने हाम्रो तयारी छ ।

कोरोना संक्रमण बढ्यो, काठमाडौं उपत्यकामा कडाइ

कोरोना संक्रमण दैनिक रूपमा उकालो लाग्दै गएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलबारदेखि सबै प्रकारका राजनीतिक कार्यक्रम गर्न बन्देज लगाएको छ । काठमाडौं उपत्यकाका तीनै जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले उपत्यकाका तीनै जिल्लामा कोरोना संक्रमणको गति बढ्दै गएको निष्कर्षसहित सार्वजनिक स्थलमा सबै प्रकारका राजनीतिक कार्यक्रम गर्न रोक लगाउने निर्णय गरेको हो । काठमाडौंका निमित्त प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जारी गरेको आदेशमा ‘सार्वजनिक स्थलमा सबै प्रकारका राजनीतिक ...

काठमाडौं उपत्यकामा कडाइ

काठमाडौं । कोरोना संक्रमण दैनिक रूपमा उकालो लाग्दै गएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलबारदेखि सबै प्रकारका राजनीतिक कार्यक्रम गर्न बन्देज लगाएको छ । काठमाडौं उपत्यकाका तीनै जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले उपत्यकाका तीनै जिल्लामा कोरोना संक्रमणको गति बढ्दै गएको निष्कर्षसहित सार्वजनिक स्थलमा सबै प्रकारका राजनीतिक कार्यक्रम गर्न रोक लगाउने निर्णय […] The post काठमाडौं उपत्यकामा कडाइ appeared first on राजधानी राष्ट्रिय दैनिक.

वीरगंजमा जेठ २० गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय, यी गतिविधिमा लगाइयो रोक

वीरगंज : वीरगंजमा आगामी जेठ २० गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय भएको छ। गत बैशाख १६ गतेदेखि पर्सा जिल्लामा लाग्दै आएको निषेधाज्ञालाई जेठ १३ पश्चात पुनः एक साता थप्दै २० गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय भएको हो। कोभिड-१९ संकट व्यवस्थापन केन्द्र पर्साको बुधवार बसेको बैठकले निषेधाज्ञा अवधि एक साता लम्ब्याउन गरेको सिफारिश…

अमेरिकामा टिकटकमाथि तत्काल प्रतिबन्ध लगाउन रोक

अमेरिकाको वाणिज्य विभागले लोकप्रिय भिडियो एप टिकटकमाथिको प्रतिबन्ध लगाउने निर्णयलाई रोक लगाएको छ। आमेरिकामा आजदेखि टिकटकमाथि प्रतिबन्ध लाग्दै थियो। प्रतिबन्ध लागू भएको भए अमेरिकामा यो एप डाउनलोड गर्न निषेध हुने थियो।  'थप कानुनी विकासक्रम' लाई आधार बनाएर वाणिज्य विभागले प्रतिबन्ध लगाउने निर्णयलाई रोक लगाएको हो। फिलाडेल्फियाको अदालतमा ती जनाले

भीडभाड हुने हाटबजारमा रोक

लहान । सिरहाका विभिन्न स्थानमा लाग्दै आएको हाटबजारमा स्थानीय प्रशासनले रोक लगाएको छ । हाटबजारमा हुने भीडभाड र