सामाजिक सुरक्षा कोषसम्बन्धी मुद्दा ३ वर्षदेखि न्यायालयमा: बैंक, वित्तीय संस्थाका अधिकांश कर्मचारी योजनाबाहिरै

काठमाडौं। अदालतमा परेको मुद्दामा अन्तिम फैसला नआउँदा बैंक तथा वित्तीय संस्थामा कार्यरत ठूलो संख्याका कर्मचारी सामाजिक सुरक्षा कोषले सञ्चालन गरिरहेको योजनाको दायरामा आएका छैनन् ।  बैंक, वित्तीय संस्थाका कर्मचारी युनियनहरूले आफूले उठाएका मुद्दालाई कोषले बेवास्ता गरी एकोहोरो अस्वाभाविक दबाब दिएको भन्दै विगतमा आन्दोलन नै शुरू गरेका थिए । सामाजिक सुरक्षा कोषमा सहभागी हुन इन्कार गर्दै आएका बैंक, वित्तीय संस्थाका कर्मचारी युनियनले २०७८ असारमा सामाजिक सुरक्षा कोषविरुद्ध मुद्दा दायर गरेकोमा अहिलेसम्म अन्तिम किनारा लागेको छैन । सोही वर्षको साउनमा न्यायाधीशद्वय तेजबहादुर केसी र बमकुमार श्रेष्ठको इजलाशमा यसबारे सुनुवाइ भएको थियो । बैंक कर्मचारीले कोषविरुद्ध दर्ता गरेको रिटमा न्यायाधीशहरूकै राय बाझिएपछि त्यसलाई पूर्ण इजलाशमा पेश गर्ने भनिएको थियो । अहिलेसम्म पूर्ण इजलाशबाट उक्त मुद्दामा अन्तिम फैसला आउन सकेको छैन ।  पटकपटक यो मुद्दालाई अदालतले ‘हेर्न नभ्याइने’मा राख्दै आएको छ । मुद्दाको अन्तिम किनारा नलाग्दा ती संस्थामा कार्यरत ठूलो संख्याका कर्मचारी सामाजिक सुरक्षा कोषले सञ्चालन गरेका योजनाबाहिर रहेका हुन् । रिट निवेदनमा बैंकिङ क्षेत्रको हकमा श्रम ऐन, २०७४ लागू हुनुअघि नै बहालमा रहेको बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनले दिएको अधिकार प्रयोग गरी सोही आधारमा बैंकहरूले कार्यरत कर्मचारीको नियुक्ति, सेवाका शर्त र प्राप्त गर्ने सुविधाको विषयमा कर्मचारी सेवा विनियमावली तर्जुमा गरी नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिई लागू गरी सोही विनियमावली बमोजिम नियुक्ति, अवकाश, अवकाशपछि प्राप्त हुने विभिन्न सुविधाको व्यवस्थापन गरिएको उल्लेख गर्दै कोषमा गरिएको योगदानबाट उचित प्रतिफल प्राप्त नहुने भएकाले त्यसमा सहभागितालाई स्वैच्छिक गर्न माग गरिएको छ । ‘निवृत्तिभरण योजनाबापत योगदानकर्ताको नाममा हरेक महीना जम्मा भएको २० प्रतिशत रकमको कुल जम्मा रकम तथा सोमा प्राप्त ब्याजसमेतको कुल रकमलाई १६० ले भाग गर्दा हुन आउने रकम योगदानकर्ताले अवकाशपछि मासिक पेन्सनका रूपमा प्राप्त गर्ने व्यवस्था गरेको छ । मासिक ६ हजारका दरले वार्षिक ७२ हजार रुपैयाँ जम्मा गरेको कुनै कर्मचारीले ३० वर्ष श्रम गर्दा २१ लाख ६० हजार रुपैयाँ जम्मा गर्छ,’ रिटमा उदाहरण पेश गर्दै भनिएको थियो । उक्त कर्मचारी अवकाश भएमा आफ्नो जीवनभरको कमाइबाट जम्मा भएको उक्त रकम प्राप्त नगरी त्यसलाई १६० ले भाग गर्दा हुन आउने रकम अर्थात् मासिक रूपमा १३ हजार ५ सय रुपैयाँ मात्र निवृत्तिभरण प्राप्त हुने देखिन्छ । यसअनुसार १ वर्षमा उक्त कर्मचारीले १ लाख ६२ हजार रुपैयाँ निवृत्तिभरणबापत प्राप्त गर्छ । उक्त रकम आफूले जम्मा गरेको रकमको वार्षिक ७ दशमलव ५५ प्रतिशत मात्र हुन आउने कर्मचारीहरूले बताउँदै आएका छन् । यो प्रतिफल मुद्दती निक्षेपको ब्याजभन्दा कम भएको भन्दै रिटमा आफैले जम्मा गरेको पैसा फिर्ता पाउनसमेत जटिल रहेको भनिएको छ । तर, यी यावत् विषय न्यायालयबाट टुंगिन बाँकी छ । कोषका उपकार्यकारी निर्देशक विवेक पन्थीका अनुसार अदालतको फैसला नआउन्जेल ताकेता गर्न सक्ने अवस्था छैन । कोषको चाहना छिटो मुद्दा किनारा लाग्नुपर्ने र बैंक, वित्तीय संस्थाका कर्मचारीलाई समेट्ने नै रहेको उनले बताए । ‘उनीहरूले उठाएका मागहरू हदैसम्म सम्बोधन गर्न कोष तयार छ,’ उनले भने । केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले २०७५ मङ्सिर ११ गते औपचारिक रूपमा शुरू गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा २०७६ साउन १ गतेदेखि योगदान शुरू रकम संकलन गरिएको थियो । औपचारिक तथा अनौपचारिक क्षेत्रका श्रमिक तथा कर्मचारीलाई शुरूमा स्वैच्छिक रूपमा आबद्ध गराएको कोषले सबै क्षेत्रलाई समेट्ने लक्ष्य लिएको छ । तर, कोषमा बैंक, वित्तीय संस्थाका अधिकांश कर्मचारी सहभागी नहुँदा यसको औचित्यमाथि नै प्रश्न उठ्दै आएको छ । भदौ २६ सम्ममा सामाजिक सुरक्षा कोषमा औपचारिक क्षेत्रका ४ लाख ४३ हजार श्रमिक आबद्ध भएका छन् । सबै गरी कोषमा ७ लाख ७३ हजार ७ सय ३५ योगदानकर्ता छन् । १८ हजार २ सय ७१ रोजगारदाता सूचीकृत छन् । कोषमा वैदेशिक रोजगारीमा गएका श्रमिकसमेत आबद्ध भइरहेका छन् ।

सम्बन्धित सामग्री

सामाजिक सुरक्षा कोष र आइएमईबीच सम्झौता

सामाजिक सुरक्षा कोष र आइएमईबीच वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा योजनाका लागि सम्झौता भएको छ । सो योजनाअन्तर्गत सामाजिक सुरक्षा कोषमा योगदान गर्ने प्रयोजनका लागि विदेशमा रहेका योगदानकर्ताबाट रकम संकलनको सेवा प्रदान गर्न यी दुई संस्थाबीच सम्झौता सम्पन्न भएको हो । सम्झौता पत्रमा सामाजिक सुरक्षा कोषका तर्फबाट कार्यकारी निर्देशक […]

अन्य कोष जस्तै आकर्षक सुविधा ल्याउँदै सामाजिक सुरक्षा कोष

काठमाडौं, मंसिर १२ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले अनौपचारिक क्षेत्र, स्वरोजगार तथा वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई पनि सामाजिक सुरक्षाको दायरामा ल्याइने बताएका छन् । पाँचौँ सामाजिक सुरक्षा दिवसका अवसरमा सामाजिक सुरक्षा कोषले आयोजना गरेको कार्यक्रममा उनले सामाजिक सुरक्षा योजनालाई योगदानकर्ता मैत्री बनाइने प्रतिबद्धता व्यक्त गरे । कोषले सञ्चालनमा ल्याएका योजना आवश्यकताका आधारमा […]

सामाजिक सुरक्षा कोष पुनर्संरचना आवश्यक: मन्त्री श्रेष्ठ

काठमाडौँ– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले रोजगारदाता र योगदानकर्ताको आकर्षण बढ्ने गरी सामाजिक सुरक्षा कोष पुनःसंरचना गर्नुपर्ने आवश्यकता रहेको बताएका छन्। सामाजिक सुरक्षा कोषको प्रभावकारी सञ्चालन र व्यवस्थापनबारे श्रममन्त्रालयमा आज आयोजित छलफल कार्यक्रममा मन्त्री श्रेष्ठले कोषप्रति रोजगारदाता कम्पनी र श्रमिकको आकर्षण बढाउनुपर्ने बताए। रोजगारदाता र योगदानकर्ताको आकर्षण बढाउन कोषका योजनालाई पुनरवलोकन गर्नुपर्ने मन्त्री […]

सामाजिक सुरक्षा कोष   पुर्नःसंरचना  आवश्यक : मन्त्री श्रेष्ठ

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले रोजगारदाता र योगदानकर्ताको आकर्षण बढ्ने गरी सामाजिक सुरक्षा कोष पुनर्संरचना गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । सामाजिक सुरक्षा कोषको प्रभावकारी सञ्चालन र व्यवस्थापनबारे श्रम मन्त्रालयमा शुक्रबार आयोजित छलफल कार्यक्रममा मन्त्री श्रेष्ठले कोषप्रति रोजगारदाता कम्पनी र श्रमिकको आकर्षण बढाउनुपर्ने बताए ।रोजगारदाता र योगदानकर्ताको आकर्षण बढाउन कोषका योजनालाई पुनरावलोकन गर्नुपर्ने मन्त्री श्रेष्ठको भनाइ छ । कार्यक्रममा मन्त्रालयका सचिव एक

सामाजिक सुरक्षा कोष र बैंकहरूबीच टसल– बैंकर्सहरू आन्दोलित, कहाँ मिलेन कुरा ?

पछिल्लो समय सामाजिक सुरक्षा कोष र बैंकहरूबीचको विवाद उत्कर्षमा छ । बैंकका कर्मचारीहरू यथास्थितिमा कोषमा सहभागी हुन मानिरहेका छैनन् । कार्यविधि नै संशोधन गरेर आफूहरूका माग सम्बोधन हुनुपर्ने उनीहरूको अडान छ । मंगलवारबाट अधिकांश बैंकका कर्मचारीहरूले आन्दोलन शुरू गरिसकेका छन् । आन्दोलनरत कर्मचारीहरूले अदालतमा मुद्दा समेत दायर गर्ने तयारी गरेका छन् । ‘माग सम्बोधन गर्नेतर्फ कोषले कुनै पनि कदम चालेन, त्यसकारण हामी अहिले डकुमेन्टेसनको काममा छौं । केही दिनमा अदालतमा मुद्दा दायर गर्ने तयारी भइरहेको छ,’ वित्...

सामाजिक सुरक्षा कोष ऐच्छिक बनाउन माग

काठमाडौं, असार ९ । योगदानमा आधारित सामाजिक सुरक्षा कोष (एसएसएफ) मा आबद्ध हुन अधिकांश बैंकका कर्मचारीहरू उत्साहित देखिएका छैनन् । असार मसान्तभित्र कोषमा अनिवार्य आबद्ध हुन भनेपछि बैंकका कर्मचारीहरूले स्वैच्छिक गर्न दबाब दिँदै आएका छन् । बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति भएको झूटो विवरण पेश गरेर सबैलाई बाध्यकारी बनाउन खोजेको वित्तीय कर्मचारी संघहरूले आरोप लगाएका […]

सामाजिक सुरक्षा कोष र बैंक कर्मचारीबीच विवाद

सामाजिक सुरक्षा कोष र बैंक तथा वित्तीय संस्थाका कर्मचारीबीच सूचीकरणको विषयमा विवाद देखिएको छ ।यसअघिदेखि नै केही प्रतिष्ठानबाट राम्रो सेवासुविधा र सामाजिक सुरक्षा पाइरहेका बैंक तथा वित्तीय संस्थाका कर्मचारीले तत्काल योगदानमा आधारित सामाजिक सुरक्षा योजना नजाने बताएसँगै विवाद देखिएको हो । योगदानमा आधारित सामाजिक सुरक्षा ऐन र नियमावली अनुसार कोषले योजनामा सामेल हुन बैंक तथा […]