काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले 'नेप्से ३० इन्डेक्स'को परीक्षणका लागि स्वीकृति दिएको छ । बुधवार बसेको संचालक समिति बैठकले 'नेप्से ३० इन्डेक्स' को आन्तरिक परीक्षणको लागि स्वीकृति दिएको नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले जानकारी दिए ।
परीक्षण सकिएपछि नियमित कारोबारका लागि सञ्चालक समितिले अनुमति दिनुपर्नेछ । सञ्चालक समितिले उक्त अनुमति दिएपछि उक्त इन्डेक्स लगानीकर्ताले हेर्न पाउने नेप्सेले जनाएको छ ।
के हो नेप्से ३० ?
नेप्से इन्डेक्स ३० नेपाल स्टक एक्सचेन्जले तयार गर्न लागेको नयाँ परिसूचक हो । निश्चित मापदण्ड सहितका कम्तीमा ३० कम्पनीहरूको कारोबार मात्रै प्रतिबिम्बित हुने गरी यस्तो सूचक तयार गरिन लागिएको हो ।
नेप्से ३० सूचकांकबाट दोस्रो बजार कारोबारमा नयाँ आयाम थपिने र लगानीकर्तालाई भविष्यमा थप कारोबार योग्य उपकरण प्राप्त हुने बताइएको छ ।
नेप्से ३० सञ्चालनमा आएपछि नेप्सेको सूचकांकले बजार कारोबार तथा उतारचढावलाई प्रतिबिम्बित गर्ने र भविष्यमा नेप्सेलाई नै डेरिभेटिभ प्रकृतिको निश्चित अवधिको शेयर कारोबार उपकरण सञ्चालनका लागि समेत बाटो खुलाउने छ ।
नेप्से ३० सञ्चालन कार्यविधिले तय गरेको प्रणालीमा पोर्टफोलियो व्यवस्थापन, एक्सचेन्ज ट्रेडेड फन्ड (इपीएफ) सञ्चालन गर्नका लागि मद्दत गर्ने छ ।
प्रस्तावित इन्डेक्समा समावेशका लागि कम्पनी छनोटका आधारहरू
१. प्रतिशेयर चुक्ता मूल्यभन्दा प्रतिशेयर कितावी मूल्य बढी हुनुका साथै विगत ५ आर्थिक वर्षमध्ये पछिल्लो आर्थिक वर्षसहित कम्तीमा ३ वर्ष खुद नाफामा रहेको ।
२. अघिल्लो आर्थिक वर्षमा प्रतिशेयर आम्दानी चुक्ता मूल्यको न्यूनतम १० प्रतिशत रही सोही वर्षको वार्षिक मुन्द्रास्फीति दरभन्दा बढी रहेको ।
३. कम्पनीको कम्तीमा २५ प्रतिशत शेयर सर्वसाधारणमा जारी भएको वा कुल फ्रि-फ्लोट बजार पूँजीकरणमा सम्बन्धित कम्पनीको फ्रि-फ्लोट बजार पूँजीकरण एक प्रतिशतभन्दा बढी रहेको ।
४. शेयरधनीको संख्या कम्तीमा २० हजार रहेको ।
५. पछिल्लो ६ महिनामा दैनिक औसत २५ लाख रुपैयाँ वा सोभन्दा बढी रकमको कारोबार भई दैनिक औसत ५ हजार कित्ता वा सोभन्दा बढी कित्ताको कारोबार भएको र दैनिक औसत ४० वा सोभन्दा बढी पटक कारोबार भएको ।
६. पछिल्लो ६ महीनामा उपलब्ध कारोबार दिनहरूमध्ये न्यूनतम ७५ प्रतिशत दिनहरूमा कारोबार भएको ।
प्रस्तावित इन्डेक्सको गणना विधि
१. उपरोक्त मापदण्डहरूबाट छनोट भएर आएका कम्पनीहरूको प्रारम्भिक सूची तयार गर्ने ।
२. प्रारम्भिक सूचीमा समावेश भएका सबै सूचीकृत संगठित संस्थाको फ्रि-फ्लोट बजार पूँजीकरण, पछिल्लो वर्षको प्रतिशेयर आम्दानी, कारोबार रकम, कारोबार संख्या तथा कारोबार कित्ताका आधारमा प्रत्येकलाई दिएको उदाहरण अनुसार भार प्रदान गरी कुल भार गणना गर्ने ।
३. सूचीकृत संगठित संस्थाहरूलाई बैंक तथा वित्तीय संस्था, लघुवित्त, बीमा, जलविद्युत, उत्पादनमुलक, व्यापार तथा सेवा गरी ६ ओटा क्षेत्रगत समूहमा वर्गीकरण गरी बुँदा नं २ मा उल्लेख गरिएको विधिअनुसार प्रत्येक समूहभित्र छुट्टाछुट्टै कम्पनीको आ–आफ्नै समूहमा कुल भार गणना गर्ने र उच्चतम भार प्राप्त गर्ने संगठित संस्थाहरूबाट ८ ओटा कम्पनी छनोट गर्ने । कुनै समूहमा ८ संगठित संस्थाभन्दा कम छनोट भएमा उपलब्ध सबै संगठित संस्था छनोट गर्ने ।
४. बुँदा नं. ३ अनुसार छनोट भएका संगठित संस्थाहरूको संख्या ३० भन्दा बढी भएमा बुँदा नं. २ अनुसार गणना गरिएको कुल भारमा कम भार भएका कम्पनीहरूलाई हटाई ३० कम्पनी कायम गर्ने र यसरी कम्पनी हटाउँदा प्रत्येक समूहबाट कम्तीमा एक संगठित संस्था कायम गर्ने ।
५. बुँदा नं ३ अनुसार छनोट भएका संगठित संस्थाहरूको संस्था ३० भन्दा कम भएमा प्रत्येक समूहबाट ८ भन्दा बढी कम्पनी छनोट नहुने गरी बुँदा नं २ अनुसार विधिबाट सूचीकृत सबै कम्पनीको कुल भार गणना गर्ने र उच्चतम भार प्राप्त गर्ने कम्पनी थप गरी कम्पनीको संख्या ३० पुर्याउने ।