राजधानीमा कुखुराको मासु सस्तिएको छ । केही दिनअघिसम्म प्रतिकिलो रू. २ सय रहेको कुखुराको तयारी मासुको मूल्य अहिले १ सय ७० मा झरेको छ । राजधानीमा गत वर्ष यही समयमा कुखुराको तयारी मासु किलोको रू. २ सय ५० माथि पुगेको थियो । मागभन्दा आपूर्ति धेरै भएकाले मूल्य घटेको मासु व्यवसायीहरूले बताएका छन् । ‘उपत्यकामा र आसपासका जिल्लामा कुखुराको उत्पादन वृद्धि भएकाले मूल्य घटाउनु परेको हो,’ राष्ट्रिय मासु विक्री संघका अध्यक्ष जंगबहादुर बीसीले भने ।
दाना उद्योग संघ, कुखुरा पालक किसान संघ, तथा राष्ट्रिय मासु विक्री संघको तिहारअघि बसेको संयुक्त बैठकले मूल्य घटाउने निर्णय गरेको हो । गत दशैंमा अपेक्षाअनुसार उपत्यकामा कुखुराको मासु विक्री नभएकाले र आपूर्ति बढेका कारण मूल्य घटेको बीसी बताउँछन् । आपूर्ति घट्ने संकेत नदेखिएकाले यो मूल्य लामै समय कायम रहने उनले बताए । कुखुरा पालक किसानहरूले भने कुखुराको मूल्य घटाइएकोमा विरोध गरेका छन् । अहिलेको मूल्यअनुसार कुखुरा विक्री गर्दा घाटा सहनुपरेको उनीहरूले बताएका छन् ।
वर्ष ६, अंक ५३ , बुधवार, २४ कात्तिक, २०६७