बजारमा यतिबेला कुखुराको मासुको भाउ ओरालो लागेको छ र अझ घट्ने सम्भावना छ । उत्पादन बढी भएका कारण भाउ घट्न थाले पनि भाउ भने कतै सस्तो कतै उस्तै देखापरेको छ । उपभोक्ताहरूले दुई चार ठाउँ भाउ बुझ्ने र किन्ने हो भने दशैंको मुखमा सस्तो खान पाउने छन् ।
चाडपर्वका बेला खाद्य पदार्थका सामग्री अभाव र त्यसका कारण हुने मूल्यवृद्धिसँग उपभोक्ता अभ्यस्त भइसकेका छन् । भीड धेरै हुनाका कारण उनीहरू मोलतोल गर्न पनि पाउँदैनन् । पाउनुलाई नै उपलब्धि ठान्ने र भाउलाई त्यति महत्त्व नदिइने दशैंका बेला कुखुराको मासु भने अझ सस्तिने राष्ट्रिय कुखुरा विक्री व्यवसायी संघका अध्यक्ष जंगबहादुर बेल्वासे क्षत्रीले बताएका छन् । उनका अनुसार संघमा आबद्ध २५० कोल्डस्टोरले एउटै भाउ राखी काठमाडौंमा उपभोक्तालाई सस्तोमा विक्री गर्ने गरेका छन् । गत असोज १२ गतेसम्म रू. २३० का दरले विक्री हुँदै आएको कुखुराको मासु असोज १३ गतेदेखि प्रतिकिलो रू. २१० मा झरेको छ । यो भाउ दशैंमा अझ घटेर रू. २ सय पुग्ने अनुमान छ । दशैंका लागि भनेर चारैतिरबाट कुखुरा एकैपटक ओइरिन थालेपछि भाउ घट्ने उनको तर्क छ ।
वर्ष ६, अंक २९, बुधवार, २० असोज २०६७