काठमाडौं (अस) । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी स्थापनाको चौथो वर्ष पूरा गरी पाँचौं वर्ष प्रवेश गरेको छ । कम्पनीले वार्षिकोत्सव अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत हरेक वर्षजस्तै यो वर्ष पनि स्थानीय स्तरमा रक्तदान, निःशुल्क स्वास्थ्यशिविर, गरिब, असहाय तथा वृद्धवृद्धालाई निःशुल्क भोजन, सार्वजनिक स्थानमा सरसफाइ, विद्यार्थीलाई पोसाक, पुस्तक, स्टेसनरीलगायत शैक्षिक सामग्री वितरण गरेको छ ।
सप्ताहव्यापी कार्यक्रममार्फत सामाजिक गतिविधिलाई निरन्तरता दिइने कम्पनीले जनाएको छ । कार्यक्रममा कम्पनी सञ्चालक समिति अध्यक्ष प्रदीपजंग पाण्डेले संस्थाबाट सञ्चालित डिजिटल सिटिजन अभियान, सिटिजन स्वरोजगार अभियान तथा बीमा सचेतना, विद्यार्थीसँग बीमा, गुरु सम्मान कार्यक्रम एवं नवीनतम जीवन बीमा योजना सञ्चालन गरिरहेको जानकारी दिए । कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले नियमनकारी निकायबाट जारी निर्देशन पालना र संस्थागत सुशासन कायम गर्दै निर्धारित व्यावसायिक लक्ष्य हासिल गर्न व्यवस्थापन कटिबद्ध रहेको बताए ।