चितवन। होमस्टेहरूको छाता संगठन ‘होमस्टे महासंघ’को चौथो राष्ट्रिय सम्मेलनबाट अध्यक्षमा प्रेमशंकर मर्दनिया चुनिएका छन् । शनिवारदेखि चितवनको माडीमा चलेको सम्मेलनले आगामी ४ वर्षका लागि मर्दनियालाई दोस्रो कार्यकालका लागि अध्यक्षमा पुन: चयन गरेको हो ।
५१ सदस्यीय केन्द्रीय समितिमा ६ जना उपाध्यक्ष, एक महासचिव चयन गरिएको छ । उपाध्यक्षमा बाबुराजा महर्जन, धनीश्वर बस्याल, एकराज घिमिरे, प्रकाश गुरूङ, रचना बाठा, लक्ष्मीनारायण चौधरी र महासचिवमा कृष्णलाल चौधरी चयन भएका छन् । सम्मेलनमा देशभरबाट ३८५ जना प्रतिनिधि सहभागी भएका थिए ।
नेपालको ६८ जिल्लाका १५ सय गाउँमा रहेका निजी र सामुदायिक होमस्टे महासंघमा आबद्ध छन् । १५ सय गाउँमा ७ हजार घरमा होमस्टे रहेको बताइएको छ । ती होमस्टेमा एक रातमा २८ हजार जना बस्न सक्ने क्षमता छ । नवनिर्वाचित अध्यक्ष मर्दनियाले गाउँ पर्यटनको मुख्य आधारको रूपमा स्थापित होमस्टेलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । समुदायलाई आर्थिक रूपमा समृद्ध गर्न, युवा विदेशिनबाट रोक्न, गाउँको उत्पादन गाउँमै खपत गर्न होमस्टेको ठूलो भूमिका रहेको उनको भनाइ थियो ।