जेठ १३, काठमाडौं । देशमै उत्पादन भएको विद्युतको उपयोग हुने गरी हरित एमोनिया उत्पादन गर्न काठमाडौं विश्व विद्यालय (केयु) र नेपाल विद्युत् प्राधिकरणबीच समझदारी भएको छ ।
शुक्रवार केयुमा आयोजित कार्यक्रममा केयुका उपकुलपति डा. भोला थापा र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।
सझदारी अनुसार केयु र प्राधिकरणले देशमै उत्पादन भएको जलविद्युतको उपयोग गरी हरित हाइड्रोजन प्रविधिको प्रवर्द्धन गर्ने र उत्पादित हरित हाइड्रोजनबाट पुनः एमोनिया (एनएच थ्री) उत्पादन गरी देशका उद्योग तथा मल कारखानामा उपयोग गर्न सकिने प्रविधिको क्षेत्रमा काम गर्ने छन् ।
यो समझदारी हस्ताक्षर भएको मितिले ५ वर्षसम्म कार्यान्वयनमा रहनेछ । समझदारीले मुख्यतः प्राधिकरण र सरकारको चासोसँग सम्बन्धित ज्ञान, विशेषता र जनशक्तिको विकास गरी नेपालमा हरित हाइड्रोजन प्रविधिको प्रवर्द्धन गर्न काम गर्नेछ ।
समझदारीमा उल्लेख भए अनुसार दुवै पक्षले हरित हाइड्रोजन प्रविधिको पाइलट स्केलमा अनुसन्धान गर्न, ग्रिडको गुणस्तर र विश्वसनियता सुधारका लागि हाइड्रोजन प्रविधिको प्रयोग बढाउन पनि सहकार्य गर्नेछन् ।
यस्तै, हिउँदमा विद्युत् उत्पादन कम हुने समयका लागि हरित हाइड्रोजनकोरूपमा बर्खाको ऊर्जा भण्डारण गरी अभाव भएको बेलामा पुनः विद्युतमा परिणत गरी प्रयाेगमा ल्याउन सक्ने दक्ष तथा प्राविधिक जनशक्ति उत्पादन गर्ने उल्लेख छ ।
यो समझदारी अनुसार हरित हाइड्रोजन प्रविधिको प्रयोगमा ३ ओटा स्नातकोत्तर तह र विद्यावारिधी तहका कार्यक्रम समेत प्रदान गरिनेछ ।
केयु र प्राधिकरण दुवैको हितमा एकअर्काका गतिविधिलाई सुदृढ बनाउन स्रोत र साधनको पारस्परिक उपयोग गर्न समझदारी फलदायी हुने अपेक्षा गरिएको केयुले बताएको छ ।
नेपालका उद्योगहरूलाई आवश्य पर्ने हरित एमोनिया यहीं उत्पादन गर्न सकिने हुँदा त्यसका लागि चाहिने हरित हाइड्रोजन प्रवर्द्धन गर्ने उद्देश्यले प्राधिकरणसँग समझदारी गरेको केयुका उपकुलपति थापाले बताए ।
‘हामीले जलविद्युत उत्पादनमा आत्मनिर्भर बन्दै गएकाले यसको उपयोग बढाउन हरित हाइड्रोजन र त्यसबाट एमोनिया उत्पादन गर्न सकिने सम्भावना देखेर प्राधिकरणसँग सहकार्य गर्न लागेका हौं’, उनले भने, ‘यो समझदारीले विद्युतको आन्तरिक बजार व्यवस्थापनमा सहयोग पुग्छ भन्ने विश्वास लागेको छ ।’
नेपालमा हरित हाइड्रोजनको व्यापारिक उत्पादनको विषय २ वर्षअघि मात्रै उठे पनि नीति निर्माणको तहमा बसेका सम्बन्धित सरोकारवालाले यसलाई सकारात्मकरूपमा लिनुले सकारात्मक सन्देश प्रवाह गरेको पनि उनले बताए ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले केयुले हरित हाइड्रोजनलाई इन्धनकोरूपमा उपयोग गर्नेबारे गरेको अध्ययन अनुसन्धानबाट प्रभावित भई विभिन्न मन्त्रालयमा गएर यसबारेमा लवीईङ गरेको बताए ।
‘आउने पुस्ताले देख्ने युग भनेको नै पानीको युग हुनेछ,’ उनले भने, ‘अब हरेक ऊर्जाको स्रोत पानी मात्रै हुने हुँदा नेपालको पानीको महत्त्व धेरै छ ।’
उनले स्वदेशको विद्युत एवं यहीं उत्पादन भएको हरित हाइड्रोजन खपत हुने गरी युरिया तथा डिएपी मल उद्योग सञ्चालन गर्न सकिने सम्बन्धमा अध्ययन गरिने बताए ।
हरित हाइड्रोजन ल्याब केयुका प्रमुख एवं सह-प्राध्यापक विराजसिंह थापाले हरित हाइड्रोजनको उपयोग मुख्य गरी उद्योग र यातायातमा गरेर पेट्रोलियम ऊर्जा प्रतिस्थापन गर्न सकिने बताए ।
‘विश्व नै अहिले पेट्रोलियम ऊर्जाको खपतबाट बाहिर निस्कन खोजिरहेको छ । यसको प्रमुख विकल्पकोरूपमा हरित हाइड्रोजन आएको छ । हाम्रो पेट्रोलियम पदार्थमाथिको परनिर्भरत घटाउनका लागि पनि हरित हइड्रोजनको उपयोग उत्तम विकल्प हुन सक्छ’, उनले भने ।
विश्वका धनी राष्ट्रहरूले नीति बनाएरै हरित हाइड्रोजनको उत्पादन तथा खपत बढाउन लागि परेको बताउँदै थापाले २०३५ सम्ममा हाइड्रोजन संस्थागत हुने बताए ।
नेपालले हरित हाइड्रोजनबाट दैनिक ५ टन एमोनिया उत्पादन गर्ने हो भने अहिले भइरहेको आयात प्रतिस्थापन गर्न सकिने अध्ययनले देखाएको छ ।