पुस २१, काठमाडौं । निरन्तर चार दिन बढेको बजार बुधवार १ दशमलव १५ प्रतिशतले घट्दा रू. ४ अर्ब ६२ करोड १५ लाखभन्दा बढीको शेयर कारोबार भएको छ ।
कुल कारोबारमा यसदिन जलविद्युत् कम्पनीहरुको सर्वाधिक हिस्सा रहेको छ । यस दिन जलविद्युत् कम्पनीहरुको रू. १ अर्ब ३० करोड ८७ लाख १८ हजार बराबरको ३० लाख १४ हजार ७४० कित्ता शेयर खरीदविक्री भएको छ ।
जलविद्युत् कम्पनीहरुमध्ये पनि यो दिन अपि पावर कम्पनीको सर्वाधिक रकमको शेयर खरीदविक्री भएको छ । अपि पावरको रू. १६ करोड ७४ लाख ८ हजार बराबरको ३ लाख ५० हजार ४६३ कित्ता शेयर कारोबार भएको हो ।
कम पूँजी भएका जलविद्युत कम्पनीहरुको शेयरप्रति पछिल्लो समय लगानीकर्ताहरुको आकर्षण बढेको देखिन्छ । सूचीकृत कम्पनीहरु मध्य बैंक तथा वित्तीय संस्थाहरु र बीमा कम्पनीहरुको नीतिगत व्यवस्थाहरु परिमार्जन भइरहने हुँदा बजारमूल्यमा पनि समय समयमा प्रभावित भइरहेको देखिएको छ ।
जलविद्युत् कम्पनीको लागि भने पछिल्लो समय विद्युत् नियमन आयोगले नीतिगत व्यवस्था गर्दै आएको छ । त्यस अघि नियामक निकाय नहुँदा टुहुरो जस्तो बनेको जलविद्युत् कम्पनीहरुका लागि पछिल्लो समय विद्युत् नियमन आयोगले केही नयाँ व्यवस्थाहरु लागू गरेको छ ।
जलविद्युत् कम्पनीहरुले आयोजना निर्माणका लागि लिएको कर्जा भुक्तानी प्रयोजनका लागि हकप्रद शेयर निष्कासन गर्न सक्ने व्यवस्था नियमन आयोगले लागू गरेको हो ।
सो व्यवस्था अनुसारनै कतिपय जलविद्युत् कम्पनीहरुले हकप्रद शेयर निष्कासनमा जोड दिएका छन् । लगानीकर्ताहरु पनि जलविद्युत् कम्पनीहरुको हकप्रद शेयरलाईनै प्राथमिकतामा राखेर शेयर खरीद गरेको जानकारी दिन्छन् ।
हाल धितोपत्र दोस्रो बजारमा ४४ ओटा जलविद्युत् कम्पनीहरु सूचीकृत रहेका छन् । जलविद्युत् समूहपछि यस दिन वाणिज्य बैंक समूहहरुको सर्वाधिक रकमको शेयर खरीदविक्री भएको छ । वाणिज्य समूहको भने यस दिन रू. ७८ करोड ३३ लाख ५१ हजार बराबरको शेयर कारोबार भएको हो ।