रोल्पा । दोस्रो लहरको कोरोना संक्रमण फैलिएसँगै स्थानीय प्रशासनले गरेको निषेधाज्ञाका कारण रोल्पाका साना तथा घरेलु उद्योग समस्यामा परेका छन् । विशेषगरी दैनिक उपभोग्य सामग्रीको रूपमा खपत हुने चाउमिन, पाउरोटी, केक, बेकरी तथा डेरी उद्योगहरू संकटमा पर्ने अवस्था आएको हो ।
बजार तथा विद्यालय खुला भएको समयमा धेरै उत्पादन खपत हुने यी उद्योग अहिले बजार तथा विद्यालय बन्द हुँदा उत्पादित सामग्रीहरू खेर जाने गरेको उद्योगीहरूको गुनासो छ । कोरोना संक्रमणको डरले होम डेलिभरी सेवा समेत बन्द भएकाले उद्योगको कच्चापदार्थ बिग्रने चिन्ता लागेको भगवती देवी पाउरोटी उद्योग त्रिवेणी गाउँपालिका–५ जुँगारका सञ्चालक डिल्लीराज घर्तीले बताए । ‘बजार र विद्यालय खुलेको समयमा दैनिक ८ देखि १० हजारसम्मको उत्पादन खपत हुन्थ्यो,’ घर्तीले भने, ‘अहिले त उद्योग नै बन्द गर्नुपरेको छ ।’
घर्तीले करीब १० लाख लगानी गरेर केही महीनाअघि मात्र त्रिवेणी गाउँपालिकाको केन्द्र जुँगारमा उद्योग स्थापना गरेका हुन् । उद्योग खोलेको केही महीनामै कोरोनाको दोस्रो लहर शुरू भएपछि लगानी कसरी उठाउने भन्ने चिन्ताले सताएको उनको गुनासो छ । घर्ती जस्तै जिल्लाका झण्डै २ दर्जन यस्ता उद्योगका सञ्चालकहरू मर्कामा परेका छन् ।