चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) ले नेपालका राजनीतिक दलका नेताहरुसँग छलफल गरेको छ । कोभिड नियन्त्रणमा आपसी सहयोग गर्ने बारेमा भर्चुवल अन्तरक्रियामार्फत नेपाली राजनीतिक दलका नेताहरु चिनियाँ कम्युनिष्ट पार्टीसँग थप खोप तथा स्वास्थ्य सामग्री सहयोगको अपेक्षा गर्नुभएको छ ।
सीपीसीको अन्तर्राष्ट्रिय विभागको आयोजनामा बुधबार भएको भर्चुवल अन्तरक्रिया कार्यक्रममा उपप्रधानमन्त्री ईश्वर पोखरेलले चीनबाट नेपालले पूर्ण भ्याक्सीन खोपको अपेक्षा गरेको बताउनुभयो । कोभिड १९ भाइरसबाट नेपाल आक्रान्त भइरहेकाले त्यसको नियन्त्रणका लागि चीन सरकारको आवश्यक सहयोग नेपालले अपेक्षा गरेको उहाँले बताउनुभयो । दुवै देशको आपसी सहयोग, साझेदारी र समन्वयले नेपाल–चीनबीचको सम्बन्ध दीगो हुने विश्वास पनि उपप्रधानमन्त्री पोखरेलले गर्नुभयो । चीनले कोभिड १९ मा गरेको सफलता विश्वका लागि उदाहरणीय रहेको पनि उहाँले बताउनुभयो ।