काठमाडौं (अस) । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका उच्च अधिकारीहरू र विभिन्न माग राख्दै आएका पुनर्निर्माणमा खटिएका प्राविधिकका प्रतिनिधिबीच समझदारी भएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले सोमबारको छलफलपछि समझदारीमा पुगिएको बताए ।
छलफलममा घाइते प्राविधिकले पाउने बीमा सुविधा हालसम्म प्राप्त नभएकाले उक्त सुविधा उपलब्ध गराउन प्राधिकरणको प्रशासन महाशाखाले सम्बन्धित बीमा कम्पनीसँग आवश्यक समन्वय गर्ने सहमति भएको छ । प्राधिकरणले पुनर्निर्माणमा खटिएका सबै प्राविधिकको बीमाका लागि प्रिमियम बुझाइसकेको छ ।
केही समयअघि ओखलढुंगाको मोलुङ गाउँपालिका–७ मा कार्यरत इञ्जिनियर राजा साहको निधन भएकामा उनको परिवारलाई सहयोग गर्ने समझदारी भएको प्राधिकरणले बताएको छ ।
सरकारले कोभिड–१९ महामारीका कारण चालु आर्थिक वर्षको बजेटमै सबै कर्मचारीको प्रोत्साहन भत्ता कटौती गरेकाले पुनर्निर्माणमा खटिएका प्राविधिकका लागि मात्र माग गर्नु उपर्युक्त नहुने धारणा प्राधिकरणका अधिकारीले राखेका थिए ।
दुर्गम भत्ता उपलब्ध गराउन अर्थ मन्त्रालयसँग आवश्यक समन्वय गर्ने निष्कर्ष निकालिएको प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले जानकारी दिए । सदरमुकामभन्दा बाहिर रहेका प्राविधिकलाई यातायात, टेलिफोन तथा इन्टरनेटको खर्च व्यवस्थापन गर्ने आश्वासन प्राधिकरणले दिएको छ ।
पुनर्निर्माणमा खटिएका सबै प्राविधिकको विवरण समेटेर रोस्टर तयारीको काम अगाडि बढिसकेको प्राधिकरणले जनाएको छ । प्राविधिक राष्ट्रिय हकहित संरक्षण समितिका अध्यक्ष इञ्जिनियर अविनाश अमरले प्राधिकरणमा भएको छलफल सकारात्मक रहेकाले माग पूरा हुने विश्वास बढेको बताए ।