सन्धिखर्क । अखिल (छैठौं) ले संसद विघटनको विरोधमा भूमिकास्थानको ढाकावाङमा मसाल जुलुस प्रदर्शन गरेको छ ।
शुक्रबार साँझ ढाकावाङ पिपलनेटा बजारमा उनीहरूले मसाल जुलुश प्रदर्शन गरेका हुन् ।
मसाल जुलुसमा सहभागीहरूले असंवैधानिक कदम खारेज गर, विघटित प्रतिनिधि सभा पुनर्स्थापना गर, सङ्घीयता खारेज गर, अखिल (छैठौं) जिन्दवाद, राष्ट्रिय जनमोर्चा जिन्दवाद, भारतीय तथा अमेरिकी साम्राज्यवाद मुर्दावादलगायतका नारा लगाएका थिए ।
मसाल जुलुसपछिको विरोधसभालाई सम्वोधन गर्दै अखिल (छैठौं) का नेता टेकराज भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक पद्धति विपरीत असंवैधानिक तरिकाले संसद विघटन गरेर गणतन्त्र विरोधी शक्तिलाई फाइदा पुर्याउने काम गरेको बताउनुभयो ।
नेता भुसालले वैदेशिक चलखेलले राष्ट्रियतासमेत खतरामा परेकाले सबै राष्ट्रवादी शक्ति आन्दोलित हुनुपर्ने बताउदै असंवैधानिक तरिकाले संसद विघटन गर्नु नेपाली जनताका लागि दुखदायी भएको भन्दै असंवैधानिक कदमलाई पराजित गर्न सबै देशभक्त नेपाली एक हुनुपर्ने बताउनु भयो ।