घट्दै छ गहुँ उत्पादनको क्षेत्रफल

काठमाडौं । उत्पादनको हिसाबले गहुँ नेपालको तेस्रो प्रमुख खाद्य बालीमा पर्छ । उत्पादनको प्रचुर सम्भावनासमेत बोकेको तेस्रो प्रमुख खाद्य बाली उत्पादन हुने जमीनको क्षेत्रफल भने वर्षेनि घट्दै गएको देखिन्छ । पछिल्लो ७ वर्षमा नेपालमा गहुँखेती हुने जमीनको क्षेत्रफल ५१ हजार ३०० हेक्टरले घटेको सरकारी तथ्यांक छ । लागतअनुसार उत्पादन नहुनु र अन्य बालीको तुलनामा गहुँ भित्र्याउन झन्झटिलो प्रक्रिया हुनुलाई गहुँ उत्पादन हुने जमीनको क्षेत्रफल घट्नुको प्रमुख कारण मानिएको छ । खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारी आफूले जानेदेखि नै गहुँखेतीलाई घाटा खेतीका रूपमा हेर्ने गरिएको सम्झन्छन् । ‘हिजोका दिनमा किसानसँग अर्को विकल्प थिएन । त्यसैले घाटा नै भए पनि बाध्य भएर गहुँखेती गर्थे । अहिले छोटो समयमै नाफा दिने अन्य बालीका विकल्प किसानसँग छन्, जसले गर्दा गहुँ उत्पादनमा किसानको विकर्षण धेरै छ,’ उनले भने, ‘गहुँबाट धानजस्तो सहज तरीकाले दाना निकाल्न कठिन छ । पहाडी क्षेत्रमा थ्रेसिङ मेशिन पुग्न सकेका छैनन् । हिउँदे बाली भएकाले समयमा सिँचाइको व्यवस्था पनि गर्न सकिँदैन ।’ उन्नत जातको बीउ र मलको अभाव पनि किसानले भोग्नुपरेको उनले बताए । ‘यसले गर्दा गहुँ उत्पादन हुने जमीनको क्षेत्रफल विस्तार हुन सकेको छैन,’ उनले आर्थिक अभियानसँग भने । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उपलब्ध गराएको तथ्यांकअनुसार आर्थिक वर्ष (आव) २०७१/७२ मा नेपालमा कुल ७ लाख ६२ हजार ३७३ हेक्टर जमीनमा गहुँखेती गरिएको थियो । त्यस वर्ष १९ लाख ७५ हजार ६२५ मेट्रिक टन गहुँ उत्पादन भएको थियो । आव २०७७/७८ सम्म आइपुग्दा उत्पादनको क्षेत्रफल ५१ हजार ३०६ हेक्टरले घटेर ७ लाख ११ हजार ६७ हेक्टर कायम भएको छ । उत्पादन भने बढेर २१ लाख २७ हजार २६७ मेट्रिक टन पुगेको देखिन्छ । यद्यपि यो उत्पादन अपेक्षाअनुरूप नभएको मन्त्रालयको भनाइ छ । आव २०७७/७८ को तथ्यांकअनुसार धानबालीले कुल खेती हुने जमीनमध्ये ५० दशमलव ५६ प्रतिशत, मकै बालीले २६ दशमलव ९६ प्रतिशत र गहुँबालीले १९ दशमलव १३ प्रतिशत ओगटेको छ । उत्पादनको हिसाबले तेस्रो प्रमुख बाली भए पनि गहुँखेती हुने जमीनको क्षेत्रफल घट्दै गएर अपेक्षाकृत उत्पादन हुन नसक्दा वर्षेनि अर्बौं रुपैयाँको गहुँ आयात गर्नुपर्ने बाध्यता छ । गत आवमा नेपालमा ६ अर्ब ३२ करोड रुपैयाँभन्दा बढीको १ लाख ९१ हजार मेट्रिक टन गहुँ आयात भएको भन्सार विभागको तथ्यांक छ । नेपालमा मुख्य गरी भारतबाटै गहुँ आयात गर्ने गरिन्छ । नेपालमा अहिले भइरहेको गहुँ उत्पादन खाद्य प्रयोजनका लागि पर्याप्त भएको बताइन्छ । विदेशबाट आयात हुने सबै गहुँ औद्योगिक प्रयोजनमा प्रयोग गरिन्छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांक शाखाका प्रमुख रामकृष्ण रेग्मीले जमीनको खण्डीकरण भएर खेतीयोग्य क्षेत्रफल घट्दै गएको र उत्पादन लागतअनुसारको नाफा नहुने भएकाले गहुँखेतीतर्फ किसानको आकर्षण घट्दै गएको बताए । उनका अनुसार नेपालमा भात खाने चलन निकै पुरानो छ । अझ पछिल्लो समय पहाडी र हिमाली क्षेत्रमा पनि भात खाने संस्कृति बढ्दै गएकाले पनि धानखेतीतर्फ बढी र गहुँखेतीमा कम आकर्षण रहेको बताइन्छ । गहुँ उत्पादन बढाउन सरकारले नै विशेष पहल थाल्नुपर्ने अभियानका संयोजक अधिकारी बताउँछन् । गहुँकै लागि भनेर उच्च अनुदान दिने, गहुँ पकेट क्षेत्र विस्तार गर्ने, यन्त्र उपकरणको सहज पहुँच बढाउने र मल तथा उन्नत जातका बीउको सर्वसुलभता प्रदान गर्नेतर्फ सरकार अग्रसर भए किसानलाई गहुँखेतीतर्फ आकर्षित गर्न सकिने उनको भनाइ छ ।

सम्बन्धित सामग्री

डोटीमा गहुँको उत्पादन घट्यो

पछिल्लो समय डोटीमा गहुँको उत्पादन घट्दै गएको छ । कृषि ज्ञान केन्द्र डोटीका अनुसार आर्थिक वर्ष २०७८/७९ मा १४ हजार २९८ हेक्टर जमिनमा गहुँ लगाइएकोमा २४ हजार ३१२ मेट्रिक टन गहुँ उत्पादन भएमा, आर्थिक वर्ष २०७९/०८० मा डोटी जिल्लामा १४ हजार २३० हेक्टर क्षेत्रफल जमिनमा २३ हजार ५६८ मेट्रिक टन गहुँ उत्पादन भएको थियो ।

छिमेकी घट्दै, गाउँको रौनक हराउँदै

झ्यालको पर्दा उघारी उत्तरतर्फ हेर्दा सेता हिमाल मुसुक्क मुस्कुराएजस्ता देखिन्छन् । चराहरुको चिरचिराहटसँगै खेतबारीमा गहुँ र तोरीको हरियोपहेँलो दृश्यले मनलाई रोमाञ्चक बनाउँछ । आँगन र करेसामा बोटैभरि पहेँलै भएर फलेका रसिला सुन्तला, दिउँसोको पाहारिलो घाममा बसेर खाँदै म्याग्दीको बेनी नगरपालिका–३ का ६९ वर्षीय डेकबहादुर पुनले गाउँको रौनक हराउँदै गएको कुरा सुनाउँदा झट्ट पत्याउन सकिँदैन । …

दाङमा खेतीयोग्य जमिनको आकार घट्दै

देउखुरी, २६ असार । दाङमा खेतीयोग्य जमिन घट्दै गएको पाइएको छ । खेतीयोग्य जग्गा घडेरीका रुपमा विकास गरी बिक्री हुन थालेपछि कम हुँदै गएको  कृषि ज्ञान केन्द्र दाङले जनाएको छ । केन्द्रका कृषि अर्थविज्ञ पृथ्वीराज लामिछानेले एक वर्षमा ६० हेक्टर खेतीयोग्य जग्गा खुम्चिएको जानकारी दिए । “धान, गहुँ, मकै फल्ने जग्गा घडेरीमा रुपान्तरण हुन थालेका […]

जुम्लामा मार्सी धानको खेती घट्दै

काठमाडौं । जुम्लाको पातारासी गाउँपालिका–३ स्थित छुमचौर जिउलोमा कालीमार्सीधानको खेती घट्दै गएको छ । काली मार्सीधान रोप्दा रोग, किरा लाग्नुका साथै उत्पादन पनि कम हुने भएकाले यहाँका किसानले जौ, गहुँ, मकै, आलु रोप्न थालेपछि मार्सीधानको खेती घट्दै गएको हो । कालीमार्सी धान फल्ने विश्वको उच्च स्थान मानिएको छुमचौर जिउलोमा कतिपय किसानले जौ, गहुँ, मकै, आलु […]

तोरी खेतीमा किसान आकर्षित,गहुँ मकै खेती उत्पादन घट्दै

एउटै मौसममा धेरै खेती उत्पादन गर्न यहाँका किसान छिटो उत्पादन दिने बालीतर्फ आकर्षित भएका छन् । मुख्य गरी हिउँदे मौसममा छिटो उत्पादन दिने बालीतर्फ कृषक आकर्षित भएका हुन् । कृषकहरू छिटो उत्पादन दिनेतर्फ लागेपछि ढिलो पाक्ने खेतीको उत्पादन र क्षेत्रफल घट्दै गएको छ । कृषि ज्ञान केन्द्र भरतपुरका अनुसार यस वर्ष गहुँखेती गरिएको क्षेत्रफल चार […]

खाद्यान्न उत्पादन घट्दै

तातोपानी गाउँपालिका–७ का ६४ वर्षीय अमरसिंह रावतलाई अहिले गहुँको भित्र्याउने चटारो छ । जुम्लामा असारमा बारीबाट काटेर ल्याएको गहुँ–जौं को बाला असोज–कात्तिकमा चुटेर दाना निकाल्ने चलन छ ।

बाँझो जग्गामा खेती गर्नेलाई प्रति रोपनी २ हजार

बाग्लुङको ताराखोला गाउँपालिकाले बाँझो खेतमा खेती गर्ने किसानलाई प्रति रोपनी २ हजार दिने भएको छ । बाँझो जमिन खेतीपाती गर्न कृषकलाई प्रोत्साहन स्वरुप प्रति रोपनी २ हजार दिने भएको हो ।ताराखोला गाउँपालिकाका कृषि शाखा प्रमुख कृष्णखर भट्टराईका अनुसार खेती योग्य जमिन बाझिँदै गएको र उत्पादन घट्दै गएपछि पालिकाले कृषकलाई प्रोत्साहन गर्नका लागि सो कार्यक्रम अघि ल्याएको हो ।यसैगरी, पालिकाले मिनिटेलर, धान गहुँ, कोदो चुटुनो थे्रेसर मेसिन पनि किसानलाई वितरण गर्दैछ ।

जाडोमा पाते ढिडो खाने होइन त ?

अहिले बजारमा पाते ढिडोको निकै चर्चा छ । राजधानीभन्दा पनि राजधानीबाहिर पाते ढिडोको बजार चर्केको छ । राजमार्गमा चामलको भातको भन्दा ढिडोको राम्रो व्यापार छ । सुगर, प्रेसरका रोगी बढेका कारण पनि चामलको भातको माग घट्दै गएको हो । रोटी बनाउन झन्झट भएका कारण अहिले जेको पनि ढिडो पाक्न थालेको छ । गहुँ, मकै, फापर, कोदो जेको पनि ढिडो उपलब्ध हुन्छ अहिले । त्यसमा पनि लोकल कुखुराको मासु, खसीको मासु, फर्सीको मुन्टा या सिजनल हरियोपरियो साग, टठिलो खालको अचार, सलाद र खारेको घ्यू हुना साथ ढिडोको स्वाद सुनमा सुगन्ध भइहाल्छ ।...

गहुँ भित्र्याउने चटारोमा भक्तपुरका किसान

जेठ ३, भक्तपुर । भक्तपुरका किसानलाई यतिबेला हिउँदे मुख्य बाली गहुँ भित्र्याउने चटारो परेको छ ।  कोरोना भाइरसको संक्रमण नियन्त्रण र रोकथामका लागि उपत्यकासँगै भक्तपुरमा पनि निषेधाज्ञा लागू गरिएको भएपनि खेतैभरि गहुँ पहेंलपुर भएर पाकेपछि किसान भने गहुँ काट्न व्यस्त भएका छन् ।  धान पछिको मुख्य बाली गहुँ समयमा नभित्र्याए अहिले पर्ने असिनापानीसहितको झरीले नास गर्ने भएकाले पनि किसानलाई गहुँ काट्ने, चुट्ने र थन्क्याउने चटारो परेको स्थानीय किसानहरुको भनाइ छ । निषेधाज्ञा र कोरोना भाइरस महामारीले नेवार समुदायको प्रमुख पर्वमध्येको एक दिगु पुजा (देवाली) समेत स्थगित गरी किसानहरु खेतका गह्रागह्रामा पुगेका छन् ।  ‘निषेधाज्ञा भएपनि अहिले पानी परे असिना पनि आउन सक्ने र पाकेको गहुँबाली नष्ट हुने चिन्ता हामीलाई छ,’ छालिङका कृषक अनिल फोँजूले भने, ‘त्यसैले किसानहरु निषेधाज्ञाका बीच पनि गहुँ काट्न व्यस्त छन् ।’ यसवर्ष भक्तपुरमा ईंटाभट्टा सञ्चालन नहुँदा गहुँखेती वृद्धि भएको छ । कोरोना भाइरस महामारीका कारण गतवर्ष ईंटाभट्टा बन्द गरेका उद्योगी व्यवसायीहरुले यसवर्ष पनि कोरोना भाइरसको संक्रमणको जोखिमलाई ध्यान दिँदैं भट्टा सञ्चालन नगर्ने निर्णय गरेका थिए । सोही कारण विगतका वर्ष ईंटा पार्ने उर्बर जमीनमा यसवर्ष भने लहलह गहुँ झुलेको छ । ईटाभट्टा सञ्चालन नभएकै कारण यसवर्ष छ रोपनीमा गहुँबाली लगाएको भक्तपुर नगरपालिका­५ का सुमन दुवालले बताए । कोरोनाकै कारण दिगु पूजा स्थगित गरी सपरिवार चाँगुनारायण नगरपालिका–९, ताथलीमा गहुँ काट्दै गरेको अवस्थामा भेटिएका उनले भने, ‘कोरोनाका कारण ज्यामी राख्न जोखिम छ, त्यसैले सपरिवार भएर गहुँ काट्न आएका हौँ ।’ यसवर्ष भक्तपुरमा गहुँबालीको क्षेत्रफल वृद्धि भएसँगै प्रविधि पनि भित्रिएको छ । गहुँ काटेर चुट्नलाई धेरै समस्या हुने र ज्यामी पनि नपाउने समस्याका कारण पनि यसवर्ष किसान थ्रेसरप्रति आकर्षित भएका छन् । थ्रेसरले गहुँ चुट्दा छ्वाली भने काम नलाग्ने हुने कृषक फोँजुले बताउनुभयो । गहुँको छ्वाली विशेषगरी घरको छानो हाल्न, चुलोमा आगो बाल्न समेत प्रयोग गरिन्छ ।  नेवार समुदायमा गठेंमंगललगायतका चाडपर्व र अन्य संस्कारमा समेत छ्वालीको प्रयोग हुने गर्दछ । ‘थ्रेसरमा गहुँको बोटैसँग राख्दा छ्वाली धुलो हुने र सो धूलो गाईवस्तुलाई सोत्तर राख्न मात्र काम लाग्छ । तर पनि छिटोछरितो हुने हुँदा किसानहरु थ्रेसरप्रति आकर्षित भएका छन्,’ उनले भने । थ्रेसरले प्रतिमिनेट ६० रुपैयाँ भाडा लिने र एक रोपनी खेतको गहुँ ५ देखि १० मिनेटमा चुट्न सकिने उनले बताए । भक्तपुरको मध्यपुर थिमि र भक्तपुर नगरपालिका क्षेत्रमा बढ्दो आवादीका कारण खेतीयोग्य जमीन घट्दै गएको छ । सोही कारण यी दुई नगरमा गहुँबाली नगन्य मात्रामा गरेको छ । जिल्लाको सूर्यविनायक नगरपालिकाको दधिकोट, सिरुटार, गुन्डु, सिपाडोल, चित्तपोल र नँखेल क्षेत्रमा गहुँ खेती गरिन्छ । रासस

जुम्लामा मार्सीधानको खेती घट्दै

जुम्लाको पातारासी गाउँपालिका–३ स्थित छुमचौर जिउलोमा कालीमार्सीधानको खेती घट्दै गएको छ । कालीमार्सीधान रोप्दा रोग, किरा लाग्नुका साथै उत्पादन पनि कम हुने भएकाले यहाँका किसानले जौ, गहुँ, मकै, आलु रोप्न थालेपछि मार्सीधानको खेती घट्दै गएको हो ।