यो शीर्षकमा कुनै ज्यादती गरिएको छैन । नेपाल स्टक एक्सचेन्जको नेप्से परिसूचकमा २०७८ साउन २५ गते रू ६०३ मा किनबेच भएको ( हुर्जा) छोटो नाम भएको हिमालय ऊर्जा विकास कम्पनीको प्रतिशेयर आम्दानी (इपियस) मात्र ४ पैसा छ । जसको सोझो अर्थ लगानीकर्ताले रू. ६०३ लगानी गरेर वर्ष भरमा मात्र ४ पैसा कमाइरहेको छ । प्रायः शेयरबजारमा यस्तो घटना अन्य कम्पनीमा पनि भइरहेको हुन्छ । प्रतिशेयर आम्दानी निकै कम हुँदा पनि शेयर मूल्य दोस्रो बजारमा निकै बढी हुन्छ । तर, यस्तो सारो पनि हुँदैन । यो अपवाद नै हो, श्रीराम सुगर मिल र गोरखकाली रबर उद्योगलाई छोडेर ।
लगानी जीवनको आधार नै हो । एक दाना काँक्रोको बीउ जमीनमा लगानी गरेर २० ओटा काक्रो फलाएको हामी सबैले देखेका छौं । शेयरमा लगानी गर्दा होस् वा अन्य कुनै व्यवसायमा लगानी गर्दा अलिकति मलिलो कम्पनी खोज्ने गरौं ।
प्रतिसेयर आम्दानी इपियस निकै कम भएका कम्पनी लगानी गर्दा धेरै कुरा सोच्नुपर्छ । प्रतिशेयर आम्दानी जतिसुकै होस् आज ६०० मा किनेर ५ दिनपछि १०० रूपिया नाफा भयो भने ठीकै छ, तर यत सारो रेडिकल कोही बन्न सक्दैन ।
भन्न सजिलो छ, बढेको बेलामा ठ्याक्क बेच्ने र घटेको बेलामा किन्ने । त्यो त्यति सजिलो छैन किनकी प्रायः लगानीकर्तामा बढेको बेलामा अभैm बजार बढ्छ भनेर बेच्न लोभ लाग्छ । घटेको बेलामा अझै बजार घट्छ भनेर डर लाग्छ बेची हालिन्छ होल्ड गर्न हिम्मत आउँदैन ।
त्यसो हो भने बजारमा कसरी परिपक्व हुन सकिन्छ भन्ने प्रश्न उठी रहन्छ । पहिलो कुरा शेयर लगानी हो । त्यसैले सकेसम्म शेयरमा व्यापार गर्ने मनसायभन्दा लगानी गर्ने मनसायले प्रवेश गर्नुपर्छ । शेयरमा लगानी भनेको सामान्य विषय होइन, हामीले किनेको १०० किता शेयरले नबिल बैंकको १०० अंश बराबरको मालिक बनाउँछ । बैंकले अहिलेकै स्थितिमा प्रगति गर्दै जाने र बोनस शेयर दिँदै जाने हो भने भविष्य नै ढुक्क हुन्छ ।
शेयरबजारलाई सट्टेबाजीको साधन नबनाउनेहरूले प्रायः शेयर बेच्दैनन् । किनकि दीर्घकालमा शेयर बजार नाफामै गएको देखिएको छ । कसैले कुनै पनि कम्पनीको शेयर २०७८ साउन २५ गते अगाडि बेचेको थियो भने पक्कै घाटामा गएको छ । तसर्थ अपवादलाई छोडेर शेयरबजार लगानी गर्ने ठाउँ हो व्यापार होइन । यो पहिलो मन्त्र हो ।
सम्भवतः यो सबै कम्पनीमा लागू नहुने भएकाले कम्पनीहरूको विश्लेषण गर्नुपर्ने हुन्छ । केही समय अगाडि धितोपत्रबोर्ड आम लगानीकर्तालाई ५१ कम्पनीहरूको नाम दियो जसको शेयर अस्वाभाविक रूपले बढेको थियो । १ वर्षमा ३०० देखि १००० प्रतिशतसम्म शेयर मूल्य बढेका कम्पनी जसको प्रतिशेयर आम्दानी पनि राम्रो थिएन र नेटवर्थ पनि सन्तोषजनक थिएन ।
यस विषयलाई लिएर कसैले बोर्डको आलोचना पनि गरे । हुन त अन्तिम दिन बढी मूल्यमा शेयर किनेका शेयर धनीका दृष्टिोणबाट बोर्डले गल्ती गरेको तर्क दिन पनि सकिन्छ तर बहुजन हितायको सिद्धान्त हेर्ने हो बोर्डले ग्राहकलाई सचेत बनाएकै हो ।
जुन लगानीकर्तासँग समय छैन अर्थात् कम्पनीको प्रतिशेयर आम्दानी, नेटवर्थ, मार्जिन अफ सेफ्टी, वासलात र त्यसको कम्पोजिशन आदि हेर्ने समय छैन । तर, लगानी गर्न मन छ भने बोर्डले निकालेको त्यस्तै सूचनाहरूको आधारमा आफ्नो मनस्थिति बनाउन सक्छन् र जोखिमयुक्त कम्पनीको शेयर बेचेर सुरक्षित क्षेत्रमा बस्न सक्छन् । यद्यपि व्यावसायिक रूपमा यो कुरा ठीक नहोला । किनकि जुनसुकै बजारमा एउटाले घाटा नखाएसम्म अर्कोले नाफा पाउँदैन ।
कुरालाई जति घुमाए पनि शेयरबजार प्रत्येक लगानीकर्ता सुरक्षित लगानीको नाममा अप्रत्याशित नाफाको आशा पालेर बसेको छ । सम्भवतः त्यसैको परिणाम अनुसार ४ पैसा कमाउन ६०० लगानी भइरहेको छ । तसर्थ लगानीमा कसैलाई पनि अह्राउनु बेकार छ र कुनै सूत्र बनाउनुको पनि अर्थ छैन ।
तैपनि बेन्जामिन ग्राहमको सिद्धान्तअनुसार लगानी गर्दा शेयरबजार त के अन्य कुनै पनि बजारमा घाटा खाने सम्भावना निकै कम हुन्छ । उनी भन्छन्, लगानी गर्दा मार्जिन अफ सेफटीमा ध्यान दिनुपर्छ । मार्जिन अफ सेफ्टीले कम्पनीको वास्तविक आन्तरिक मूल्यभन्दा थोरैमा शेयर पाइन्छ भने जति लगानी गरे पनि हुन्छ भन्ने मान्यता राख्छ । वित्तशास्त्रमा यसलाई कन्ट्रिब्युशन मार्जिन पनि भनिन्छ । विक्रीबाट समबिच्छेद विक्री घटाउँदा जाति बचत हुन्छ मार्जिन अफ सेफटी हो । सोझो भाषामा कम्पनीको आन्तरिक मूल्य ५ अर्ब छ भने ४ अर्बको मूल्यमा शेयर पाइन्छ भने जति किने पनि हुन्छ भन्ने मान्यतामा वारेन बफेटहरूले अर्बौ डलर लगानी गर्छन् ।
साधारण लगानीकर्ताले यो मार्जिन अफ सेफटी पत्ता लगाउन निकै कठिन छ । यसका लागि कम्पनीको सम्पूर्ण हिसाब हेर्न सक्नुपर्छ । वारेन बफेटको संगठनमा लाखौं कम्पनीहरूको लेखा, वित्त, बुक भ्यालु, बजार भ्यालु आदि पत्ता लगाउन ५/६ जना उच्च स्तरका चार्टर्ड एकाउन्टेन्ट राखिएको हुन्छ । सामान्य लगानीकर्तासँग यो विश्लेषण क्षमता वा संयन्त्र हुँदैन । त्यसैले प्रायः जोखिमपूर्ण कम्पनीमा पनि लगानी गरिएको हुन्छ । सकेसम्म कम्पनीहरूको विश्लेषण गरेर नै लगानी गर्ने बानीको विकास गर्नुपर्छ ।
एक डेढ सयको मोजा किनेर नक्कली पर्यो कि भनेर १५ पटक ओल्टाइपल्टाई गर्ने, २०० को आँटा किनेर मुसाले वा साङ्लाले खान्छ कि भनेर दराजमा लुकाएर राख्ने तर २ लाखको शेयर किन्दा केही पनि नसोच्ने गर्न त हुँदैन ।
लगानी जीवनको आधार नै हो । एक दाना काँक्रोको बीउ जमीनमा लगानी गरेर २० ओटा काक्रो फलाएको हामी सबैले देखेका छौं । त्यसैले थोरै पैसालाई धेरै बनाउने प्रमुख आधार लगानी नै हो तर बीउ रोप्दा अलि मलिलो जमीन खोजिएझैं शेयरमा लगानी गर्दा होस् वा अन्य कुनै व्यवसायमा लगानी गर्दा अलिकति मलिलो कम्पनी खोज्ने गरौं ।
लगानी खराब होइन, कहाँ गरियो भन्ने विषयले त्यसलाई खराब वा सही बनाउने हो । त्यसैले अलिकति विश्लेषण गरेर कम्पनी छान्ने बानी त बसाल्नैपर्छ । अहिले त इन्टरनेटको जमाना छ । सबै कम्पनीको अवस्थाको बारेमा विश्लेषण गरिएका लेखहरू पनि भेट्न सकिन्छ । अझै गहिरिएर हेर्ने हो भने आफै पनि कम्पनीको अवस्था विश्लेषण गर्न सकिन्छ । त्यसैले १ दिन पनि पैसा घरमा वा बैंकमा त नराखौ तर लगानी गर्दा अन्धाधुन्द दृष्टिविहीन भएर नहिँडौं ।
लेखक कैलाशकूट बहुमुखी क्याम्पसका व्यवस्थापन विषय अध्यापन गर्छन् ।