नेपाली घरआँगनमा दोस्रो ठूलो पर्व तिहार नजिकिइसकेको छ । तिहार भनेपछि ज्योतिको पर्व, देउसीभैलो, भाइटीका, म्हपूजा आदि भन्ने बुझ्ने गरिन्छ । प्रकृतिको पूजा तिहारको मूल पक्ष हो तर यही बेला मनाइने धन्वन्तरि जयन्तीको महत्त्वबारे भने कमैलाई ज्ञान छ । त्यसमा पनि नेपालका जडीबुटीको उपयोग र आयुर्वेदको उपचार पक्षले पर्याप्त चर्चा र सहयोग पाएको छैन जुन विडम्बना हो । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन धन्वन्तरि जयन्ती मनाउने गरिएको छ र पछिल्लो समयमा यसलाई आरोग्य दिवससमेत भन्न थालिएको छ । वनजंगलमा पाइने जडीबुटीमा आधारित प्राचीनतम वैदिक चिकित्सापद्धति आयुर्वेदका प्रवर्तक धन्वन्तरिको उत्पत्ति भएको सम्झनामा यो दिवस मनाउँदै आइएको छ । तर, यसले नेपालको जडीबुटीको महत्त्वलाई उजागर गर्न र प्रयोगबाट आरोग्यताका साथै आर्थिक समृद्धिमा सहयोग लिन भने नेपाल असमर्थ रहँदै आएको छ । त्यस्तै जडीबुटीको प्रयोगबाट उपचार गरिने नेपालका अन्य उपचार पद्धतिको सरंक्षण र अनुसन्धान एवं विस्तारमा समेत राज्यको ध्यान नपुगेको देखिन्छ ।
देवता र दानव मिलेर समुद्र मन्थन गर्दा अमृतको घडा लिएर ‘धन्वन्तरि’ प्रकट भएको मानिन्छ जसलाई आयुर्वेदका संस्थापक मानिन्छ । धन्वन्तरि अथर्ववेदको उपवेद आयुर्वेदका प्रवर्तक मानिन्छन् । आयुर्वेदअन्तर्गत शल्यक्रियाका विशेषज्ञ सुश्रुत मानिन्छन् । स्थानीय जडीबुटी र परम्परागत ज्ञानबाट नै धेरै प्रकारका रोगको उपचार गरिन्थ्यो । तर, एलोपेथिक उपचार पद्धतिको दबदबासँगै मौलिक उपचार पद्धतिहरू हराउन थालेका छन् जसबारेमा पर्याप्त अनुसन्धान गर्न आवश्यक छ । विश्वभर विभिन्न औषधोपचार पद्धति विद्यमान छन् । तिनका आआफ्नै सीमा र विशेषता रहेका छन् । आयुर्वेदिक उपचारको पनि आफ्नै खालको विशेषता पाइन्छ । तर, पछिल्लो चरणमा यसको बारेमा थप अध्ययन र विकासका काम नहुँदा ओझेलमा पर्दै गएको हो । सबै उपचारका आआफ्ना सीमा भएपनि एलोपेथिक डाक्टरहरूले आयुर्वेदलगायत स्थानीय उपचार विधिको विरोध नै गर्ने गरेकाले पनि ओझेलमा परेको हो । यद्यपि बिस्तारै आयुर्वेदिक उपचार पद्धतिप्रति आकर्षण बढ्न थालेको पनि देखिन्छ । अमेरिकालगायत विकसित देशले आयुर्वेदलाई वैकल्पिक उपचार पद्धतिमात्रै मानेका छन् र मान्यता दिएका छैनन् । तर, चीन, भारत र नेपालमा भने यसले औपचारिक मान्यता प्राप्त गरेको छ । चीनमा जडीबुटीको प्रयोगलाई निकै मान्यता दिएको देखिन्छ भने यसको निर्यात पनि विश्वमै सबैभन्दा बढी हुने गरेको पाइन्छ । नेपालमा आम्ची वा बिजुवा आदिले पनि जडीबुटीकै माध्यमबाट उपचार गर्छन् जुन आयुर्वेदकै अंश मानिन्छ । तिनको संरक्षण पनि हुन सकेको छैन ।
आयुर्वेदिक उपचार पद्धतिको विकासका लागि जेजति गर्नुपर्ने हो त्यो काम भएको छैन । आयुर्वेदिक उपचारका लागि जडीबुटीको प्रयोग हुन्छ । नेपालमा दुर्लभ जडीबुटी छन् तर तिनको प्रयोग र संरक्षण तथा खेतीका बारेमा भने काम हुन सकेको छैन । आयुर्वेद र जडीबुटीको ज्ञान भएकाहरूको संख्या कम हुनु, ज्ञान भएकाहरूमा पनि लघुताभास हुनु तथा यसको विकासमा राज्य योजनाबद्ध रूपमा अघि नबढ्नुले नेपालको बहुमूल्य निधि नासिँदै छ ।
नेपालका जडीबुटीको महत्त्व निकै छ । विश्वमै दुर्लभ मानिएका जडीबुटीहरू हिमाली क्षेत्रमा पाइन्छन् । बिस्तारै तिनलाई चिन्ने र प्रयोग गर्न सक्ने जनशक्ति नै हराउँदै गइरहेको छ । त्यसैले यो अमूल्य उपचार पद्धतिलाई जोगाएर जडीबुटीको माध्यमबाट आर्थिक समृद्धिमा सहयोग पुर्याउन आवश्यक देखिन्छ । नेपालका जडीबुटीको निर्यात भइरहेको छ । तर, प्रशोधन गरी निर्यात गर्न सकिएको छैन, कच्चा पदार्थका रूपमा मात्रै निर्यात हुने गरेको छ । यसले गर्दा जति लाभ लिन सकिन्थ्यो त्यो अवसर गुमेको छ । नेपालमा आयुर्वेदिक औषधि निर्माणको ज्यादै लामो इतिहास छ । डाबर इन्डियाले विश्व बजारमा आयुर्वेदिक औषधि विक्री गरिरहँदा त्योभन्दा निकै पुरानो सिंहदरबार वैद्यखाना भने घिटघिटो गरी चलिरहेको छ । बजेट, दक्ष जनशक्ति र कच्चा पदार्थको अभावका कारण वैद्यखानाले आफ्नो गौरव कायम गर्न सकेन । राजा प्रताप मल्लको पालामा स्थापित यो वैद्य खानाले अहिले सामान्य औषधिमात्रै उत्पादन गर्दै आएको छ । आम्चीहरूले बनाउने औषधिका बारेमा पनि अध्ययन गर्न आवश्यक छ । यस्ता मौलिक उपचार पद्धतिलाई जीवन्त राख्न सकेको भए अहिले नेपाल आयुर्वेदिक उपचार र जडीबुटीको केन्द्र नै बन्न सक्थ्यो । अहिले पनि भारत र जर्मनीलगायत देशले नेपालका जडीबुटीमा आँखा लगाइरहेको बताइन्छ । त्यसैले नेपालमा भएका जडीबुटीको विकासका लागि नेपाल आफैले काम गर्नुपर्छ । यस्तो औषधि र जडीबुटीको पेटेन्ट लिन तथा त्यसको थप विकास गर्न नेपालले पर्याप्त लगानी गर्नु आवश्यक छ । यदि यसो भएन भने भोलिका दिनमा नेपाली जडीबुटीको व्यावसायिक प्रयोगमा समस्या आउन सक्छ । त्यसैले धन्वन्तरि जयन्तीको औपचारिक कार्यक्रममात्र होइन, आयुर्वेद उपचार र जडीबुटीको उपयोगमा विशेष नीति लिन आवश्यक देखिन्छ ।