ताप्लेजुङ । ताप्लेजुङस्थित कञ्चनजंघा क्षेत्रमा पर्यटकको आगमन शुरू भएको छ । कोभिड संक्रमण दर घटेसँगै कञ्चनजंघा क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक आउन थालेका हुन् ।
कोभिड–१९ महामारी शुरू भएपछि पछिल्लो दुई वर्ष सुनसान जस्तै बनेको कञ्चनजंघा क्षेत्रमा पछिल्ला दिनमा पर्यटकको आगमन हुन थालेको हो । पर्यटकको आगमनसँगै होटल व्यवसायी, पर्यटन व्यवसायी उत्साहित भएको फक्ताङलुङ गाउँपालिका–६ कञ्चनजंघा प्रवेशद्वार घुन्साका होटल व्यवसायी पेमा शेर्पाले बताइन् । लामो समय बन्द भएको व्यवसाय पर्यटकको चहलपहल हुन थालेसँगै सञ्चालनमा आउन थालेको उनको भनाइ छ ।
दुईओटा पदमार्गबाट कञ्चनजंघा हिमालसम्म पर्यटक पुग्छन् । दक्षिण (रूट) पदर्माग पाँथचरको गणेश चोकदेखि याम्फुदिन हुँदै कञ्चनजंघा हिमालको आधार शिविरसम्म पर्यटक पुग्ने गर्दछन् । यो रूट हुँदै नर्वे र स्वीट्जरल्यान्डका नागरिकका दुई समूह शुक्रवार कञ्चनजंघा क्षेत्रमा प्रवेश गरेको कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् कार्यालयका पर्यटन सहायक सूर्यमान राईले बताए ।
उत्तर रूट पदमार्ग ताप्लेजुङको सदरमुकाम फुङ्लिङदेखि घुन्सा हुँदै आधार शिविरसम्म पर्यटक पुग्ने गर्दछन् । दक्षिणबाट बिहीवार १९ बाह्य पर्यटक कञ्चनजंघा हिमालको प्रवेशद्वार घुन्सा क्षेत्रमा प्रवेश गरेको कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् कार्यालयका पर्यटन सहायक टासी तेन्जिङ शेर्पाले बताए । रासस