गत वर्ष कञ्चनजंघा संरक्षण क्षेत्रमा तीन सय ३० पर्यटक

कञ्चनजंघा संरक्षण क्षेत्रमा गत आर्थिक वर्ष ०७८/७९ मा तीन सय ३० जना स्वदेशी तथा विदेशी पर्यटक आएका छन् । संरक्षण क्षेत्रमा दुई सय २२ जना विदेशी, ६३ जना सार्क क्षेत्रका र...

सम्बन्धित सामग्री

प्रदेश १ का पर्यटकीय स्थल : नेपालकै होचो केचनाकवलदेखि विश्वकै अग्लो सगरमाथासम्म

विराटनगर । विश्वकै अग्लो शिखर सगरमाथा र नेपालको सबैभन्दा होचो भूभाग केचनाकवल भएर पनि सगरमाथासम्म जाने सजिलो बाटोको प्रबन्ध हुन नसक्दा प्रदेश नम्बर १ पर्यटकीय क्षेत्रमा अलिपछि नै छ ।  भौतिक पूर्वाधारको विकासमा अग्रणी भनिए पनि यहाँका धार्मिक तथा पर्यटकीय स्थलहरूका बारेमा धेरैलाई थाहा नहुन सक्छ ।  काठमाडौंबाट हवाइ यात्रापछि विराटनगरमा ओर्लिएर कहाँ जाने, कस्तो ठाउँ जाने जस्ता अनेक प्रश्नले जोकोहीलाई पनि अन्योलमा पार्ने गर्छ । पर्यटन उद्योगका लागि पूर्व ‘भर्जिन’ नै मानिन्छ । विराटनगरबाट पूर्वका पर्यटकीय स्थल पुग्न खासै गाह्रो छैन । यस क्षेत्रका व्यवसायी, प्रदेश सरकार र स्थानीय तहले पर्यटन विकासका लागि प्याकेज बनाएर जान सके यस प्रदेशले मुलुकमै सबैभन्दा बढी पर्यटक भित्र्याउन सक्छ । इलाम, धनकुटालगायतका पहाडी जिल्लाहरू कृषि पर्यटनका लागि अगाडि छन्भने ताप्लेजुङ, सुनसरी, खोटाङलगायतका जिल्लाहरू धार्मिक पर्यटनका दृष्टिले महत्त्वपूर्ण मानिन्छन् । तेह्रथुम, संखुवासभा, मोरङलगायतका जिल्ला जैविक विविधताका लागि अग्रपंक्तिमा छन् । पूर्वका केही प्रमुख पर्यटकीय गन्तव्यहरू विराट राजाको दरबार विराटनगर–२० बुधनगर भेडियारीमा महाभारतकालीन विराट राजाको दरबार रहेको छ । यस क्षेत्रमा जानका लागि निजी सवारी साधन प्रयोग गर्नुपर्छ वा पैदल जानुपर्ने हुन्छ । विराटराजाको दरबार करिब अढाई किलोमीटरको क्षेत्रमा फैलिएर रहेको छ । हाल यस दरबार क्षेत्रको संरक्षणका लागि तार घेराबेरा गरी पाँच कठ्ठा क्षेत्र संरक्षित रूपमा राखिएको छ । त्यहाँ भेटिएका पुरातात्त्विक वस्तुहरू हाल स्थानीय कमलकिशोर यादवको घरमा राखिएको छ । राजारानी धिमाल पोखरी विराटनगरदेखि करिब ५० किमी उत्तरपूर्वमा पर्ने राजारानी क्षेत्र पुग्न पूर्व–पश्चिम राजमार्गमा पर्ने बेलबारी बजारदेखि करीब ९ किमी उत्तर लेटाङ गाविसको बुधवारे हुँदै चिसाङ खोला किनारबाट करीब एक घण्टाको उकालो चढ्नुपर्छ । ठाडो उकालो पार गर्दा धोबीडाँडा गाउँ पुगिन्छ । यसको पश्चिम राजारानी धिमाल पोखरी छ । वरिपरि डाँडैडाँडाले छेकिएको उपत्यका झैँ देखिने राजारानी क्षेत्रमा तीनवटा पोखरी र धिमाल तथा मगर समुदायले पूजा गर्ने गरेका दुई मन्दिर छन् । पूर्व नेपालको झापा र मोरङका आदिवासी धिमालहरूले अढाइ महिनासम्म मान्ने ढङढङे (असारे) मेला हरेक वर्षको वैशाख २ गते पोखरीस्थित धिमाल ग्रामथानमा पूजा गरेपछि शुरू हुन्छ । किम्बदन्तीअनुसार यस क्षेत्रमा कुनै बेला सत्य राजा र सत्य रानीले राज्य गरेका थिए । यहाँका राजाले विराट राजासँग लडाइँ गर्न जाँदा सेतो र कालो परेवा लिएर गएका थिए । सेतो परेवा फर्केर आएमा जित र कालो परेवा आएमा हार हुन्छ भनेर राजा लडाइँमा गए । परेवा बोकेको सिपाहीले बाटोमा चारो खुवाउन लाग्दा कालो परेवा उडेर आएपछि रानीले हार भएको ठानिन् । विलाप गरी जलेर मर्न लागिन् । उनी जल्दाजल्दै राजा फर्किएर आए तर रानी बाँच्न नसकेकाले राजाले पनि त्यही स्थानमा देहत्याग गरे । त्यसैले राजारानीको नाम सत्यराजा सत्यरानी रहेको भन्ने विश्वास धिमाल समुदायमा पाइन्छ । कोशीटप्पु  कोशीटप्पु विराटनगरबाट ५० किलोमीटर पश्चिममा पर्छ । कोशीटप्पुलाई चराको स्वर्ग पनि भनिन्छ । कोशीटप्पुमा ५ सय २७ प्रजातिका चरा पाइन्छन् । नेपालमा पाइने ८ सय ८६ प्रजातिका चरामध्ये आधाभन्दा बढी कोशीटप्पुमा पाइन्छन् । विश्वमै दुर्लभ मानिने चराहरूको वासस्थान पनि कोशीटप्पु हो ।  कोशीटप्पुलाई अर्नाको राजधानी पनि भनिन्छ । यहाँ विश्वमै दुर्लभ मानिने बबुलिस जातको अर्ना पाइन्छ । अहिले कोशीटप्पुमा चार सय ४१ वटा अर्ना रहेका छन् । यहाँ होमस्टे, रिसोर्ट र होटलहरू बस्नका लागि उपलब्ध छन् ।  वराह क्षेत्र कोका नदी र कोशी नदीको संगम स्थल सुनसरी जिल्लाको वराह क्षेत्र गाविसमा पर्ने यो धार्मिक स्थल पूर्वकै सबैभन्दा पुरानो मानिन्छ । यहाँ इन्द्र, वराह, कोकाह, सूर्य, बद्री, मुक्तेश्वर, लगायतका १० वटा मन्दिर छन् ।  हिन्दूहरूका देवता पहाड, गुफा, रुख तथा नदी किनार जस्ता असजिला स्थानमा बस्छन् भन्ने भनाइ अनुसार नै यहाँ यी देवता बसेको विश्वास गरिन्छ । यहाँ मुख्य रूपमा विष्णुको वराह अवतारको पूजा हुने गर्छ । विराटनगरबाट इटहरी, झुम्का हुँदै वराह क्षेत्र पुग्न करीब ५० किमी लामो यात्रा गर्नुपर्छ । वराह क्षेत्रबाट २६ किलोमीटर दक्षिणमा पर्ने सुनसरीकै साविक सिंघिया गाविसमा रामधुनी छ । यो पनि प्रसिद्व धार्मिक स्थल हो । विजयपुर धरान नगरपालिकामा पर्ने विजयपुर क्षेत्र धार्मिक तथा ऐतिहासिक दृष्टिकोणले महत्त्वपूर्ण मानिन्छ । यहाँ बुढा सुब्बा, दन्तकाली, पिण्डेश्वर, पञ्चकन्या लगायतका मन्दिरहरू रहेका छन् । यातायातको राम्रो पहुँच भएको र बजार क्षेत्र आसपासमा भएकाले यहाँ जान सजिलो छ । विजयपुरमा अवस्थित बुढा सुब्बा मन्दिरको दर्शन गरे मनोकांक्षा पूरा हुने विश्वास लिइन्छ । यहाँ युवायुवतीहरूले सफल प्रेमका लागि कामना गर्ने गरेको पाइन्छ । यसैगरी यहाँ दन्तकाली मन्दिर प्रसिद्ध छ । शिवजीले सतीदेवीलाई बोकेर हिँड्दा यो स्थानमा दाँत पतन भएको मानिन्छ ।  यसैगरी यहीँ रहेको पिण्डेश्वर मन्दिर पनि प्रख्यात छ । यहाँ शिवजीको पूजा हुन्छ । साउन महिनाको सोमवारका दिनहरूमा बोलबम यात्रा लाग्ने गर्छ । सेन राजाहरूले विजयपुरमा राज्य गरेको इतिहास पाइन्छ । भेडेटार समुद्री सतहबाट १ हजार ४ सय २० मिटर उचाइमा रहेको भेडेटार बजार धरानबाट १६ किलोमीटर उत्तरमा अवस्थित छ ।  भेडेटारप्रतिको आकर्षण दिन प्रतिदिन बढ्दो छ । अरुण उपत्यकाको प्रवेशद्वार धनकुटा जिल्लामा पर्ने भेडेटारमा जो पुग्छ उसले भेडेटारलाई स्वर्गको एक टुक्राको संज्ञा दिन्छ । बेलायती युवराज चाल्र्सलाई नेपालको कुनै ठाउँको सम्झना छ भने त्यो भेडेटार नै हुनु पर्दछ । उनी चढेपछि त्यसको नाम चाल्र्स प्वाइन्ट रह्यो । यहाँ अहिले तीनतले भ्यूटावर छ । त्यहाँबाट तराईका सम्म फाँटका साथै हिमालका शृंखलाहरूलाई समेत एकैपटक देख्न सकिन्छ ।  छिन्ताङ छिन्ताङ धार्मिक दृष्टिकोणले जति महत्त्वपूर्ण छ राजनीतिक रूपमा पनि उत्तिकै छ । धनकुटा सदरमुकामबाट १३ किलोमीटर उत्तरमा पर्ने रमणीय हिले बजारबाट उत्तरपानी हुँदै आँखीसल्लाबाट छिन्ताङ पुग्नका लागि यातायातका साधन उपलब्ध छन्। कुनै आपत् पर्दा वा राम्रो कुरा पाउनका लागि छिन्ताङदेवीको नाममा भाकल गर्नेहरू दर्शन गर्न त्यहाँ जान्छन् । दिउँसो चार बजेपछि मात्र मन्दिरको ढोका खुल्छ । रुखको फेदमा रहेको देवीथानलाई नै मन्दिरको मुख्य स्थान मानिन्छ । यहाँ राँगा, बोका, कुखुरा, परेवा, हाँसको वलि चढाउने गरिन्छ । २०३६ साल कात्तिक २७ देखि २९ गतेसम्म तत्कालीन शासकहरूले धनकुटा जिल्लाका  साविक खोकु छिन्ताङ र आँखीसल्ला गाविसमा नरसंहार मच्चाए र १५ जना गाउँलेहरूको ज्यान लिए । छिन्ताङ काण्डका नाममा यो ठाउँ चर्चित छ ।  गुफापोखरी धनकुटाबाट करीब ५० किलोमीटरको कालोपत्रे सडक छिचोलेपछि तेह्रथुमको वसन्तपुर बजार पुगिन्छ । त्यहाँबाट उत्तर देउरालीसम्म ५ किमी कच्ची सडकको यात्रा गरेपछि झण्डै ५ घण्टा गुराँसे वनको अवलोकन गर्दै पैदल यात्रा तय गरेर गुफापोखरी पुगिन्छ । मूलतः यहाँ विभिन्न प्रजातिका गुराँस तथा जैविक विविधतालाई अवलोकन गर्न जानेहरूको संख्या बढी पाइन्छ । संखुवासभाको नुनढाकी–९ मा अवस्थित यो गुफापोखरी समुद्री सतहबाट २ हजार ८ सय ९० मिटर उचाइमा रहेको छ । अधिक हिमपात हुने गुफापोखरीमा पुस र माघ महिना हिउँ खेल्न उपयुक्त मानिन्छ । गुफापोखरी जोड्ने मोटरबाटो निर्माण द्रुतगतिमा भइरहेकाले १–२ वर्षमा गाडी चढेर यहाँ पुग्न सकिनेछ । तीनजुरे मिल्के जलजले विराटनगरबाट उत्तरतर्फ धरान हुँदै १३० किलोमीटरको बस यात्रापछि तेह्रथुमको वसन्तपुर बजार पुगिन्छ । बजारको शिरमा अवस्थित तीनजुरे मिल्के जलजल क्षेत्रको भ्रमणका लागि पैदल यात्रा तय गर्नुपर्छ । तीनजुरे, पाँचपोखरी, चौकी, मंगलवारे, गुफाबजार, मिल्के डाँडासम्मको पैदल यात्रा गर्नु साँच्चै रमाइलो हुन्छ । यहाँ आएका पर्यटकहरूका लागि वसन्तपुर, टुटेदेउराली, पाँचपोखरी, चौकी, मंगलवारे र गुफाबजारमा वास बस्न र खाना खानाका लागि राम्रो व्यवस्था रहेको छ । वसन्तपुर, चौकी र गुफा बजारमा प्रहरी चौकी रहेकाले सुरक्षाको समेत राम्रो व्यवस्था छ । यो क्षेत्र ताप्लेजुङ, तेह्रथुम र संखुवासभामा फैलिएको छ । समुद्री सतहबाट १७ सयदेखि ५ हजार मीटरसम्मको उचाइमा रहेको यो करीब ५ सय ५८ वर्ग किलोमीटरमा फैलिएको छ । जैविक विविधताको खानी यो क्षेत्रको उत्तर पूर्वमा कञ्चनजंघा संरक्षण क्षेत्र र उत्तर पश्चिमतर्फ मकालु वरुण राष्ट्रिय निकुञ्ज तथा सगरमाथा राष्ट्रिय निकुञ्ज पर्दछन् । गुराँसका २८ भन्दा बढी प्रजाति पाइने भएकाले गुराँसको राजधानीको रूपमा यो क्षेत्र परिचित छ । ह्यातुङ झरना  तेह्रथुमका साविक सम्दु र इसिवु गाविसका बीचमा रहेको यो झरना एसियाकै सबैभन्दा अग्लो झरना मानिन्छ । यो झरनासम्म पुग्न धरानबाट वसन्तपुर हँुदै तेह्रथुमको सदरमुकाम म्याङलुङ पुग्नुपर्छ र त्यहाँबाट एक दिन पैदल हिँड्नु पर्छ । यो झरनाको माथिबाट पानी खस्दा सप्तरङ्गी इन्दे्रणीको रमणीय दृश्य देखिन्छ । हलेसी महादेव पूर्वकै प्रसिद्व धार्मिक स्थलका रूपमा चिनिएको हलेसी महादेवको मन्दिर खोटाङ जिल्लामा अवस्थित छ । हिन्दू, बौद्ध तथा किरातहरूको आस्थाको केन्द्रका रूपमा यो ठाउँ रहेको छ । बालाचतुर्दशी, रामनवमी र शिवरात्रि गरी वर्षमा तीनपटक मेला लाग्छ । जिल्ला सदरमुकाम दिक्तेलदेखि ४० किलोमीटर पश्चिममा रहेको यो मन्दिर पुग्न सवारी साधन उपलब्ध छ ।

प्रदेश १ को समृद्धिका आधार : धार्मिक महत्व, पर्यटनदेखि अन्नभण्डारसम्म

विराटनगर । प्रदेश १ धार्मिक, पर्यटन र औद्योगिक व्यापारको हिसाबले अब्बल देखिएको छ । यहाँ कृषि, जलस्रोत र पर्यटनको प्रचुर सम्भावना छ । प्रदेशमा ताप्लेजुङ, संखुवासभा र सोलुखुम्बुसहित तीन जिल्ला हिमाल, उदयपुर, खोटाङ, ओखलढुंगा, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलामसहित आठ जिल्ला पहाड तथा झापा, मोरङ र सुनसरी तराईका जिल्ला हुन् । एक महानगरपालिका, दुई उपमहानगर, ४६ नगर र ८८ ओटा गाउँपालिका सो प्रदेशमा छन् । २५ हजार ९ सय ५ वर्ग किलोमीटर क्षेत्रफलको यो प्रदेशको जनसंख्या ४५ लाख ३४ हजार ९ सय ४३ छ । विसं. २०६८ को जनगणनानुसार जनघनत्व १७५ दशमलव शून्य ६ छ । प्रदेश नम्बर १ को जनसंख्या र भौगोलिक क्षेत्रफलले नेपालको १७ प्रतिशत अंश ओगटेको छ । प्रदेशमा साक्षरता दर ६५ प्रतिशत छ । प्रदेशमा भौगोलिक, हावापानी, सभ्यता, संस्कृतिको विविधता छ । त्यसैले सामथ्र्यका दृष्टिले प्रदेश नं. १ अत्यन्त सम्भावनायुक्त रहेको अर्थशास्त्री डा. अर्जुन बरालले बताए । यहाँ सप्तकोशी जलाधार क्षेत्र र २० हजार मेगावाटको विद्युत् उत्पादन क्षमता, विश्वको सर्वोच्च शिखर सगरमाथासहित ८ हजार मिटरमाथिका ५ हिमाल मकालु, ल्होत्से, कञ्चनजंगा र कुम्भकर्ण हिमाल छ । सगरमाथा राष्ट्रिय निकुञ्ज, कञ्चनजंघा संरक्षण क्षेत्र र कोशीटप्पु वन्यजन्तु आरक्ष यहीँ छ । यस्तै गुराँसको राजधानी तीनजुरे–मिल्के जलजले क्षेत्र तथा जैविक विविधताले भरिपूर्ण वनजंगल यहीँ पर्छन् । नेपालको कुल निकासीमा ४१ दशमलव ४ प्रतिशत योगदान प्रदेश १ को छ । देशको सबैभन्दा होचो ठाउँ केचनाकवलदेखि विश्वकै सर्वोच्च शिखर सगरमाथा पनि यही प्रदेशमा छन् । यस हिसाबले पर्यटनको सम्भावना प्रचुर छ १ नम्बर प्रदेशमा । ‘१ नम्बर प्रदेशमा भएका स्रोतसाधनलाई सदुपयोग गर्दैै अगाडि बढियो भने हामी छिट्टै आर्थिक रूपमा सम्पन्न हुन्छौंं,’ सांसदसमेत रहेका उद्योगी मोती दुगड भन्छन्, ‘तर, अब राजनीतिक मुद्दामा अलमलिनु हुँदैन । स्थानीय, प्रदेश र संघको सरकार बनिसकेकाले अब सबैको ध्यान आर्थिक विकासमा हुनुपर्छ ।’ औद्योगिक, पर्यटन, ऊर्जा, कृषि, धार्मिक पर्यटन, भौतिक संरचनाको विकास लगायत सबै कोणबाट हेर्दा यो प्रदेशले धेरै सम्भावना बोकेको नेपाल उद्योग वाणिज्य महासंघ, प्रदेशका उपाध्यक्ष राजेन्द्र राउतको ठम्याइ छ । ‘अब हामीले थियो र छ भनेर मख्ख पर्ने होइन, काम गर्ने बेला आएको छ,’ राउत भन्छन्, ‘कुन–कुन क्षेत्रमा लगानी बढाउँदा प्रदेशको मात्रै होइन, समग्र देशको आर्थिक विकास हुन्छ भनेर पहिचान गर्नु आवश्यक छ ।’ राउतकै भनाइमा यो प्रदेशको सामाजिक जनजीवनमा जुन प्रकारको विविधता र समग्रता पाइन्छ, त्यो महत्त्वपूर्ण पक्ष हो । जोगबनीदेखि किमाथांकासम्मको राजमार्ग स्तरोन्नति गरे अन्तरराष्ट्रियस्तरमा समेत यो प्रदेश एउटा गहकिलो आर्थिक नाकाको रूपमा स्थापित हुने नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधानले बताए । प्रधानले नै २ दशक अघिदेखि यो नाका निर्माणको आवाज उठाएका थिए । ‘विश्वको ठूलो आर्थिक हिस्सा ओगटेको दुई राष्ट्रबीचको यो मितेरी पुल बन्नेसमेत हुँदा यो प्रदेश नयाँ नेपालको सबै दृष्टिकोणले नम्बर एकै हुने विश्वास लिन सकिन्छ,’ उनी भन्छन्, ‘तर, आर्थिक समृद्धिका लागि विविध कुरामा दूरगामी सोच, परिकल्पना साकार बनाउन नेतृत्वमा दृढ इच्छाशक्ति चाहिन्छ ।’ यसलाई परिपूर्ति गर्न यहाँको नागरिक समाजले आप्mना तर्फबाट समेत रचनात्मक पहल गर्न भने आवश्यक छ । मध्यपहाडी लोकमार्गले १४ जिल्लामध्ये ९ ओटा जिल्ला भएर जान्छ । यस्तै पूर्व–पश्चिम राजमार्गले तराईका जिल्लामा यातायात सुविधा दिएको छ । मध्यपहाडी लोकमार्ग, पूर्व–पश्चिम राजमार्गलगायत यातायातका लागि अन्य ससाना स्थानीय सडकले सबै जिल्लालाई जोडेका छन् । निर्माणाधीन मध्यपहाडी लोकमार्ग यस क्षेत्रको पहाडी जिल्लाहरूको विकासको मेरूदण्ड हो । यस प्रदेशमा पर्ने सुनसरी र मोरङ जिल्ला पुराना औद्योगिक जिल्लाहरू हुन् । १ नम्बर प्रदेशमा मोरङको विराटनगर, झापाको भद्रपुर, ताप्लेजुङको सुकेटार, भोजपुरको टक्सार, संखुवासभामा तुम्लिङटार, खोटाङमा लामीडाँडा, खाडीडाँडा र थामखर्क, सोलुखुम्बुमा नाम्चेसहित १३ ओटा विमानस्थल छन् । तीमध्ये विराटनगर विमानस्थललाई तत्काल अन्तरराष्ट्रियस्तरको सेवा प्रदान गर्न ट्रान्जिट विमानस्थलको अवधारणा अघि सारेर काम शुरू गरिहाल्नुपर्ने आवश्यकता देखिन्छ । तर, यसतर्फ कसैको ध्यान जान नसकेको पर्यटन व्यवसायी पुण्य भट्टराई बताउँछन् । यो क्षेत्रका उद्योगी व्यवसायीले स्तरोन्नति गरेर अन्तरराष्ट्रियस्तरको बनाउन माग गर्दै आए पनि त्यो पूरा हुन सकेको छैन । हालकै विमानस्थलको भौतिक संरचनालाई प्रयोग गर्दै ट्रान्जिटस्तरको अन्तरराष्ट्रियकरण गर्न सकिने भट्टराईको भनाइ छ । धार्मिक महत्त्व प्रदेश नं १ धार्मिक क्षेत्रको हिसाबले निकै महत्त्वपूर्ण मानिएको छ । प्रदेशमा ताप्लेजुङको पाथीभरादेखि खोटाङको हलेसी हुँदै सुनसरीको वराहक्षेत्र, बूढासुब्बा, पिण्डेश्वरीजस्ता महत्त्वपूर्ण धार्मिक क्षेत्र छन् । प्रदेशमा धनकुटाको छिन्ताङदेवी, मोरङको सुनवर्षी, झापाको कन्काई धाम, शिवसताक्षीजस्ता धार्मिक क्षेत्र छन् । पाथीभरा र हलेसीमा मात्रै हरेक वर्ष हजारौं आन्तरिक र बा⋲य धार्मिक पर्यटक आउने गर्छन् । पर्यटन सर्वोच्च सगरमाथादेखि देशकै होचो भूभाग झापाको केचनाकवलसम्म रहेको सो प्रदेशमा पर्यटनको प्रचुर सम्भावना बोकेका धेरै स्थान छन् । मोरङका मिक्लाजुङ डाँडा, जेफाले डाँडा र बेतेना सिमसार, झापाका जामुनखाडी सिमसार र अर्जुनधारा, इलामका अन्तुडाँडा र कन्याम, पाँचथरको जोरपोखरी, ताप्लेजुङको पाथीभरा र कञ्चनजंघा हिमशृंखला क्षेत्र, सुनसरीको कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्र, धनकुटाका भेडेटार र नाम्जे, भोजपुरका ट्याम्के र मैयुङ डाँडा, तेह्रथुमको गुराँसको राजधानी तीनजुरे, मिल्के र जलजले क्षेत्र, संखुवासभाका सभापोखरी, मत्स्यपोखरी र जौबारी महादेव गुफा, सोलुखुम्बुका सगरमाथा, ल्होत्से र चोयु हिमाल, खोटाङका वराहपोखरी र ट्याम्के डाँडा, उदयपुरका जाल्पादेवी, लिम्पाटार र रौतापोखरी तथा ओखलढुंगाको सतासीधामजस्ता पर्यटन क्षेत्र प्रचुर सम्भावना बोकेका क्षेत्र हुन् । सगरमाथा, मकालु, कञ्चनजंघालगायतका हिमालले हरेक दिन पर्यटकलाई आकर्षित गरिरहेका हुन्छन् । भेडेटारमा त आन्तरिक र भारतीय पर्यटकको घुइँचो लाग्छ । यहाँ पर्यटन क्षेत्रमा लगानी गर्नेको ओइरो नै लागेको छ । अन्नभण्डार तराईका झापा, मोरङ र सुनसरी अन्न उत्पादनका भण्डार मानिन्छन् । कृषिमा आधुनिकीकरण गर्दै उत्पादन बढाउने हो भने यी जिल्लाले सिंगो प्रदेशलाई नै खाद्यान्नमा आत्मनिर्भर बनाउन सक्ने क्षेत्रीय कृषि निर्देशनालय विराटनगरको भनाइ छ । यी क्षेत्रमा वार्षिक १२ लाख मेट्रिक टनभन्दा बढी धान उत्पादन हुन्छ । प्रदेशमा मकै, गहुँ, अम्रिसो, अदुवा, अलैंची, चिया, आलुलगायतको समेत उत्पादन हुन्छ । कृषि, पर्यटन, शिक्षा, उद्योग, जलस्रोत, जातीय र सांस्कृतिक विविधता, सामाजिक बनोट र पर्यावरणीय हिसाबले प्रदेश १ अगाडि छ । कृषिको आधुनिकीकरण गर्ने हो भने यो प्रदेशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउन सकिन्छ । यस वर्ष मात्र १ नम्बर प्रदेशमा १२ लाख ४० हजार मेट्रिक टन धान फलेको छ । धान उत्पादनका लागि मात्रै होइन, मकै, गहुँ, दाल र अन्य तरकारी उत्पादनमा १ नम्बर प्रदेशको राम्रो सम्भावना छ । साढे २ दशक अघिसम्म यो क्षेत्रबाट धान, गहुँ, तोरीलगायत कृषिजन्य उत्पादन निर्यात हुन्थ्यो । तर, वैदेशिक रोजगारीप्रतिको आकर्षण, सरकारी नीतिगत कमजारी, सिँचाइ सुविधाको अभावलगायत कारण कृषिप्रतिको आकर्षण घट्दै गएको छ । फलस्वरूप आयातमा निर्भर रहनुपर्ने अवस्था आएको छ । सरकारी नीतिमा परिवर्तन, कृषिको आधुनिकीकरण तथा यान्त्रिकीकरण, कृषकलाई प्रोत्साहन, सिँचाइ सुविधा, समयमै मल तथा उन्नत जातको बीउ उपलब्ध गराउन सके साढे २ दशकअघिकै अवस्थामा पुग्न सकिने मोरङ व्यापार संघका पूर्वअध्यक्ष अविनाश बोहरा बताउँछन् । खेतीयोग्य जमीनलाई बाँझो राख्न नपाउने, जथाभावी हुने प्लटिङमा रोक, आवास र खेतीयोग्य जमीनको वर्गीकरण गरिनुपर्ने उनको भनाइ छ । ‘यसो गरेमा यो प्रदेशको उत्पादनले अन्य प्रदेशका जनतालाई पनि पुग्छ,’ उनी भन्छन्, ‘कम्तीमा कृषि वस्तुको आयात प्रतिस्थापन गर्न सके पनि विदेशमा पसिना बगाएर नेपाली युवाले पठाएको रुपैयाँ धेरै हदसम्म स्वदेशमै अडिन्थ्यो ।’ विशेषगरी धान, गहुँ, कमै, दाल, मुसुरो दाल, चिया, अदुवा, अम्रिसो र अलैंची यो क्षेत्रका मुख्य उत्पादन हुन् ।

प्रदेश १ को समृद्धिको आधार

पूर्वी नेपालका बेग्लाबेग्लै विशेषतायुक्त १४ ओटा जिल्ला समेटिएको १ नम्बर प्रदेशमा तराई, पहाड र हिमाली क्षेत्र समेटिएको छ । प्रदेशमा १ सय ३५ स्थानीय तह छन् । एक महानगरपालिका, दुई उपमहानगर, ४६ नगर र ८८ ओटा गाउँपालिका यो प्रदेशमा छन । प्रदेशका चौधै जिल्लामा गरी करीब साढे ४५ लाख जनसंख्या छ । स्रोतसाधनले सम्पन्न यसले कृषि, ऊर्जा, पर्यटन र औद्योगिकीकरणबाट विकास र समृद्धि प्राप्त हुन सक्छ । लगानी गर्ने वातावरण र स्रोतसाधन परिचालन गर्न सक्ने नेतृत्वको अभाव छ । सुशासन हुन सक्यो भने मात्र लगानी दीर्घकालीन र दिगो भएर जनताले पनि प्रतिफल पाउन सक्छन् । नेपालमा औद्योगिक विकासको शुरुआत यही प्रदेशबाट भएको हो । खनिजदेखि अन्य सबै स्रोतको भण्डार यहीँ छ, मात्र सुशासनको खाँचो छ । प्रदेश १ मा विकासको मुख्य आधार पर्यटन हुन सक्छ । यस्तै, कृषि, जलविद्युत्, उद्योगको पनि पूर्वाधार बनाउँदै, थप्दै विकासमा अघि बढ्दा समृद्ध प्रदेश बन्छ । धरानमा सम्पन्न एउटा कार्यशालामा कार्यपत्र प्रस्तोता स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का अध्यक्ष शैलेन्द्र गुरागाईंले हालसम्म प्रदेश १ मा १२ हजार ९ सय ५३ मेगावाट जलविद्युत् उत्पादन क्षमता भएको जानकारी गराए । यो प्रतिशतमा कुलमध्ये १६ दशमलव १९ हो भने प्रदेश नं ७ र ५ पछिको ऊर्जा क्षमता हो । तर, योभन्दा पनि बढी विद्युत् उत्पादन क्षमता प्रदेश १ मा भएको उनको भनाइ छ । प्रदेश १ मा भएको तमोर, अरुण, दूधकोशी, लिखु, सुनकोशी, सप्तकोशीलगायत अन्य नदीमा २६ हजार ५ सय ४१ मेगावाटको जलविद्युत् उत्पादन क्षमता छ । तर, हालसम्म तमोरमा १६ मेगावाट, अरुणमा १०.६ मेगावाट र अन्यमा ७३.७ गरी सय मेगावाट मात्र विद्युत् उत्पादन भइरहेको छ । सबैभन्दा बढी प्रदेश ७ मा २२.६९ प्रतिशत र ५ मा १७.५४ प्रतिशत क्षमता छ । जलविद्युत्बाट विकास र समृद्धिको ठूलो सम्भावना छ । सर्वोच्च शिखर सगरमाथादेखि नेपालकै सबैभन्दा होचो स्थान झापाको कचनकवलसमेत समेटिएको यो प्रदेशका हिमाली र पहाडी अनि केही तराईका क्षेत्र पर्यटकीय दृष्टिले महŒवपूर्ण छन् । पाथिभरा, वराहक्षेत्र, हलेसीजस्ता धार्मिक पर्यटनका केन्द्र पनि यो प्रदेशका आकर्षण हुन् । जैविक विविधता यहाँको अर्को विशेषता हो । कोशीटप्पु वन्यजन्तु आरक्ष, कञ्चनजंघा संरक्षण क्षेत्र, मकालु वरुण राष्ट्रिय निकुञ्ज, सगरमाथा राष्ट्रिय निकुञ्ज, गुराँसको राजधानीका रूपमा चर्चित तीनजुरे मिल्के जलजले क्षेत्रजस्ता पर्यटकीय आकर्षणका क्षेत्रको उपयोग गरी अधिकतम लाभ लिन सकिने अवस्था छ । सरकारको नीतिगत योजना अभाव र पर्यटनसँग सम्बद्ध सरकारी संयन्त्रहरू तल्लो तहसम्म नहुँदा पर्यटनले गति लिन सकेको छैन । प्रदेश नं १ मा पर्यटन प्रोडक्ट र ब्रान्ड तयार गर्न नसक्दा पनि पछि परेको हो । गन्तव्यसम्मको पहुँच मार्ग, सुविधा र पर्यटकमैत्री व्यवहारको पनि अभाव छ । पर्यटन विकासमा पनि सहकारिताको प्रयोग र अभ्यास गर्नुपर्छ । एक जिल्ला बहुगन्तव्य, एक गन्तव्य बहुआकर्षण, एक गाउँ एक लगानीको अवधारणामा जानुपर्छ । सगरमाथादेखि कञ्चनजंघासम्मको हिमशृंखला शिरमा बोकेको यो प्रदेशको पहाडी इलाकामा प्राकृतिक स्रोतको भण्डार छ । मेची, कोशी, अरुण, तमोर, माइलगायत प्रसिद्ध नदी–खोला यहीँ पर्छन् । प्राकृतिक स्रोत र मौलिक सांस्कृतिक पक्षलाई सदुपयोग गर्दै पर्यटक आकर्षित गर्न सके मनग्य आम्दानी गर्न सकिने अवस्था छ । पर्यटन विकास गर्न झापा, इलाम, पाँचथर, धनकुटा र तेह्रथुममा ‘चिया पर्यटन’ को बेग्लै प्याकेज बनाउन सकिन्छ । यो प्रदेशको पर्यटन विकासका लागि एकीकृत पर्यटन व्यवस्थापन तथा विकास गुरुयोजना बनाउन आवश्यक छ । र्‍याफ्टिङ, क्यायाकिङजस्ता साहसिक जलक्रीडाका लागि यस प्रदेशका नदीहरू उपयुक्त छन् । यसक्षेत्रमा रहेका झर्नाहरूमा क्यानोनिङ विकास गर्न सकिन्छ । रक क्लाइम्बिङ, बन्जिजम्पिङ, माउन्टेन म्याराथन, हट बेलुनजस्ता साहसिक खेलको विकास गर्ने सम्भावना यस क्षेत्रमा मनग्य छ । राजधानी र पहाडी÷हिमाली क्षेत्र आउजाउ गर्न हवाइ सुविधा छ । विराटनगर, भद्रपुर, ताप्लेजुङ, भोजपुर, संखुवासभा, खोटाङका लामिडाँडा, खाडीडाँडा र खामखर्क, सोलुखुम्बुको नाम्चेमा गरी १३ ओटा विमानस्थल यहाँ छन् । पूर्व–पश्चिम राजमार्ग, मेची, कोशी राजमार्ग, हुलाकी मार्ग, सिद्धिचरण राजमार्गलगायत सञ्चालनमा छन् । प्रदेश १ प्रकृति, हावापानी र भूगोलले खाद्य भण्डारका रूपमा रहेकाले हिमाल, पहाड र तराई सबै क्षेत्रमा बाली लगाउन मिल्छ । प्रदेश १ मा समुद्र सतहबाट ५० मीटरदेखि ५ हजार मीटर उचाइसम्म कृषि तथा पशुपालन गरिँदै आएको छ । कृषिबाट पर्यापर्यटनको अवधारणा पनि विकास गर्न तराईका मोरङ, सुनसरी र झापा अन्न उत्पादनका भण्डार मानिन्छ । कृषिमा आधुनिकीकरण गर्दै उत्पादन बढाउने हो भने यी जिल्लाले सिंगो प्रदेशलाई नै खाद्यान्नमा आत्मनिर्भर बनाउन सक्छन् । वर्षमा सरदर १३ लाख मेट्रिकटन धान यी क्षेत्रमा उत्पादन हुन्छ । प्रदेश कृषि निर्देशनालयका अनुसार कृषिक्षेत्रको आधुनीकीकरण गर्न सके प्रदेशभरलाई पुग्ने खाद्यान्न यहाँ उत्पादन हुन सक्छ । औद्योगिक हिसाबले पनि प्रदेश अग्रणी छ । नेपालकै पहिलो उद्योगका रूपमा कहलिएको विराटनगर जुटमिल स्थापना भएपछि विस्तारै खुलेका उद्योगहरूका कारण यहाँ ‘सुनसरी–मोरङ औद्योगिक कोरिडोर’ स्थापना भएको छ । कोरिडोर क्षेत्रमा ठूला–साना गरी ५ सयभन्दा बढी उद्योग छन् । औद्योगिक–व्यापारिक दृष्टिले महŒवपूर्ण यो प्रदेशमा आर्थिक विकासको प्रशस्त सम्भावना छ । चीनसँगको किमाथांका नाका, ताप्लेजुङको ओलाङचुङगोला, इलामको पशुपतिनगर, झापाको काँकडभिट्टा, मोरङको जोगबनी र सुनसरीको भण्टाबारी नाका व्यापारिक दृष्टिले महŒवपूर्ण छन् । प्रदेश १ मा आर्थिक विकासका प्रचुर सम्भावना छ । तर, सम्भावना दोहनमा राजनीतिक नेतृत्वमा स्पष्ट दृष्टिकोणको अभाव छ । नीतिगत अन्योल र अपर्याप्त लगानीका कारण प्रदेश १ ले अपेक्षित गति लिन नसकेको हो । कृषि, पर्यटन, जलस्रोत र उद्योग यहाँको विकासको मूल आधार हुन् ।