काठमाडौं (अस) । आईसीएफसी फाइनान्स महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको पहिलो संस्करणको विजेता बनेको छ । जेठ महीनालाई वार्षिकोत्सव महीनाको रूपमा मनाइरहेको बैंकले आयोजना गरेको पहिलो संस्करणको विजेता उक्त फाइनान्स बनेको हो । जेठ १३ देखि शुरू गरिएको प्रतियोगिता १५ जेठसम्म सञ्चालन भएको थियो ।
ललितपुरको इमाडोलस्थित बलपार्क इन्डोर क्रिकेटमा सम्पन्न उक्त प्रतियोगितामा १६ टीमको सहभागिता थियो । प्रतियोगिताको दोस्रो स्थान प्राइम बैंक तथा तृतीय स्थान कामना सेवा विकास बैंकले प्राप्त गरेको छ । विजेतालाई ट्रफी तथा प्रमाणपत्र वितरणको कार्यक्रम समेत सम्पन्न भएको आयोजकले जानकारी दिएको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्र, महालक्ष्मी विकास बैंकका अध्यक्ष राजेश उपाध्याय र प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले संयुक्त रूपमा ट्रफी, मेडल तथा प्रमाणपत्रहरू वितरण गरेका थिए । यस्तै प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई समेत आयोजकले पुरस्कृत गरेको छ । आयोजकका अनुसार आईसीएफसी फाइनान्सका सुरज तिमिल्सिना उत्कृष्ट फिल्डर, मुक्तिनाथ विकास बैंकका मनीष सिंह उत्कृष्ट विकेट किपर र महालक्ष्मी विकास बैंकका सागर गुप्ता उत्कृष्ट बलर हुन सफल भए । त्यस्तै कामना सेवा विकास बैंकका हेमन्त कुमार श्रीवास्तव उत्कृष्ट ब्याट्सम्यान र प्राइम बैंकका कृतार्थ शाक्य उत्कृष्ट खेलाडी घोषित भएका थिए । ३२ खेलमा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरूलाई ट्रफी तथा प्रमाणपत्र प्रदान गरिएको बैंकले जानकारी दिएको छ । २८औं वर्ष प्रवेशको अवसरमा बैंकले जेठ महीनाभरि वार्षिकोत्सवका कार्यक्रम गर्ने घोषणा गरेको थियो ।