घरभाडा २० प्रतिशत छूट गर्न घरबहाल मञ्चको आग्रह

चितवन। नेपाल घर बहाल उपभोक्ता मञ्च चितवनले विगतमा भएको सहमति अनुसार २० प्रतिशत घरभाडा छूट गर्न अनुरोध गरेको छ । मञ्चले एक विज्ञप्ति जारी गर्दै व्यवसायी अफ्ठ्यारो अवस्थामा रहेको भन्दै घरभाडा छूट दिन आग्रह गरेको हो । सडक विस्तारका क्रममा भएको असर, व्यवसायी बैंक तथा वित्तीय संस्थाको चर्को व्याजदर, घरभाडा वृद्धिका कारण व्यवसाय धराशयी अवस्थामा रहेको भन्दै व्यवसायीले गरेको आग्रहका आधारमा घरधनी २० प्रतिशत भाडा घटाउन सहमत भए पनि त्यसको कार्यान्वयन नभएको विज्ञप्तिमा उल्लेख छ । ‘गत जेठ २६ मा भाडा छूट गर्न भएको आग्रहका आधारमा केही घरधनीहरूले २० प्रतिशत नै घरभाडा छुट दिनुभएको छ, तर केहीले भाडा नघटाइ साविककै भाडा लिइरहनु भएको छ, ’ विज्ञप्तिमा भनिएको छ, ‘अहिलेको विषम परिस्थितीमा भाडा दरमा छूट गराई व्यवसायीलाई सहजीकरण गरिदिनुहुन अनुरोध गर्दछौं ।’ 

सम्बन्धित सामग्री

घरभाडामा छुट दिन माग

गण्डकी, ३१ जेठ । आर्थिक मन्दीले व्यवसायी पलायन हुने स्थिति आएको भन्दै घरभाडामा छुट दिन घरधनीसमक्ष माग गरिएको छ । पोखरास्थित नेपाल राष्ट्रिय घरभाडा सरोकार समितिले घरभाडामा कम्तीमा २५ देखि ५० प्रतिशतसम्म छुट दिनुपर्ने जनाएको हो । समितिद्वारा मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा समितिका अध्यक्ष कमलप्रसाद न्यौपानेले घरबहाल कर पनि घरधनी आफैँले तिर्न आग्रह गरे । […]

चितवनका व्यवसायीले मागे घरभाडामा २० प्रतिशत छूट, नदिने अडानमा घरधनी

चितवन । आर्थिक मन्दीका कारण चितवनका व्यवसायीहरूलाई पछिल्लो समय घरभाडा समेत तिर्न धौधौ परेको छ ।  आर्थिक मन्दीले बैंकको ब्याजदरका कारण व्यवसाय सञ्चालन गर्न कठिनाइ भएको उनीहरूको गुनासो छ । विशेषगरी चितवनको मुख्य बजार क्षेत्र नारायणगढका व्यवसायीहरू थप मर्कामा परेका छन् ।   लामो समयदेखि पूर्व पश्चिम राजमार्ग अन्तर्गत पुलचोक–गोन्द्राङ सडक विस्तारका कारण पनि व्यवसायमा धक्का परेको उनीहरूको भनाइ छ ।  उनीहरूले शुक्रवार नारायणगढमा पत्रकार सम्मेलन गरी नारायणगढ बजार क्षेत्रका व्यापारीले मुख्य राजमार्ग क्षेत्रका सटरहरूमा पूरै र अन्य क्षेत्रका व्यापारीका लागि २० प्रतिशत भाडा घटाइदिन घरधनीसँग माग गरेका हुन्  । व्यवसायीले आफूले बुझाउँदै आएको भाडामा २० प्रतिशत रकम घटाएर बुझाउन आग्रह गरेको छ ।  नेपाल घरबहाल उपभोक्ता मञ्च, चितवनको नेतृत्वमा चितवनका अधिकांश व्यावसायिक संघसंस्थाले पुलचोक–गोन्द्राङ सडकखण्डमा पर्ने व्यापारीका लागि पूर्ण छूट गराइदिन माग गरेका हुन् । आर्थिक मन्दीको असर रहुञ्जेल र व्यवसाय पूर्ववत् अवस्थामा नफर्किएसम्म घटाइएको भाडा नबढाउन मञ्चले माग गरेको छ । पुलचोक–गोन्द्राङ सडकमा पर्ने व्यावसायिक सटरहरूको हकमा भने राम्रोसँग सञ्चालन नभएसम्मका लागि पूर्ण छूट गराइदिन माग गरिएको मञ्चका अध्यक्ष ख्यामनारायण पराजुलीले बताए । त्यसबाहेक हालसम्म व्यापारीले नै बुझाउँदै आएको घरबहाल कर पनि स्वयम् घरधनीलाई तिराइदिन माग गरिएको अध्यक्ष पराजुलीले बताए । ‘घरबहाल कर स्वयम् घरधनीले नै तिर्नुपर्ने वातावरणका लागि स्थानीय तहले पहल गरिदिन हाम्रो माग हो,’ उनले भने ।  चर्को घरभाडा, बैंकको व्याजदर पनि उस्तै चर्को र राज्यले प्राप्त गर्ने व्यवसाय करका कारण सबै खालका व्यवसायी पलायन हुने अवस्थामा आइपुगेको भन्दै व्यवसायीलाई जोगाउनका लागि राज्यको नियमनकारी निकायबाट पनि विशेष पहल हुनुपर्ने मञ्चको भनाइ  छ । ‘अहिलेको अवस्थामा सामान्यरूपमा दैनिक खर्च धान्न पनि मुस्किल परेको छ,’ मञ्चका अध्यक्ष पराजुलीले भने, ‘यस्तो अवस्थामा राज्यको नियमनकारी निकायले ध्यान नदिने हो भने आगामी दिनमा राज्यले उठाउने कर प्रतिकूल बन्न पनि सक्छ ।’ मञ्चका अनुसार चितवनमा करिब ८० देखि ९० प्रतिशत व्यवसाय भाडामा सञ्चालित छन् । व्यवसायी चरम आर्थिक सङ्कटमा परेपछि नेपाल घरबहाल उपभोक्ता मञ्चको नेतृत्वमा विभिन्न व्यावसायिक संघसंस्थाकाृ बैठकले उक्त निर्णय गरेको हो ।  मञ्चले अघि सारेको निर्णयप्रति फेन्सी, होटल, विद्युत्, कपडा, फलफूल तथा तरकारी, इलेक्ट्रोनिक्स, सुनचाँदी, कम्प्युटर एसोसिएसन, मेसिनरी, औषधि, अधिकृत, कपडा सिलाइ, निर्माण सामग्री (हार्डवेयर), मदिरा तथा प्रोभिजनल, किराना, प्लास्टिक, अटोमोबाइल एसोसिएसन, नेपाल पशुपक्षीलगायतका विभिन्न व्यावसायिक संघसंस्थाले ऐक्यबद्धता जनाएका छन् । तर, घरधनीहरूले आफूहरूले पनि कर्जा लिएर घर भवन बनाएर भाडामा दिएको भन्दै छूट दिन नसक्ने र हरेक बर्ष १० प्रतिशत बढाउँदै आएको भाडादर कायम गर्ने अडान राख्दै आएका छन् । चितवनमा करिब एक हजार ३०० को हाराहारीमा बहालवाला व्यवसायी नेपाल घरबहाल उपभोक्ता मञ्चमा आबद्ध छन् । मञ्चका अध्यक्ष पराजुलीका अनुसार पुलचोकदेखि लायन्सचोकसम्मको मुख्य राजमार्गमा प्रतिसटर कम्तीमा २५ हजारदेखि ९० हजार रुपैयाँसम्म भाडा बुझाउने व्यवसायी छन् ।

घरभाडा नघटाए तालाचाबी घरबेटीलाई बुझाउने व्यवसायीको चेतावनी

चितवन  । आर्थिक मन्दीको कारण व्यवसाय सुस्त भएपछि चितवनका व्यवसायीले भाडा समेत तिर्न नसक्ने अवस्थामा पुगेको बताएका छन् । बैंकको ब्याजदर, घरभाडा, कर्मचारी खर्च लगायतका चालू खर्च धान्न नसकेको भन्दै उनीहरूले घरबेटीलाई तालाचाबी बुझाउने चेतावनी दिएका छन् । व्यवसायीको चर्को विरोध र असन्तुष्टि देखिएपछि नेपाल घरबहाल उपभोक्ता मञ्च चितवनले व्यवसायमा देखिएको आर्थिक मन्दी र उत्पन्न समस्याका सम्बन्धमा विभिन्न व्यवसायी संघहरूसँग बृहत् छलफल गरेको छ ।  छलफलमा हालको व्यवसायसम्बन्धी समस्यालाई सम्बोधन गरी विषम परिस्थितिमा व्यवसायीलाई टिकाउन र घरधनीका घर खाली नगर्न घरधनी लगायत सम्बन्धित संघसंस्थाको विशेष पहल रहनुपर्ने सरोकारवालाको भनाइ छ । मञ्चका अध्यक्ष खेमनारायण पराजुलीले वर्तमान अवस्था र यसबाट सृजित समस्या समाधानका लागि मञ्चको तर्फबाट विभिन्न सार्वजनिक लेख, विज्ञप्ति र ज्ञापनपत्रमार्फत सम्बन्धित निकायलाई ध्यानाकर्षण गरिए पनि माग सम्बोधन नभएको बताए ।  चितवन जिल्लाअन्तर्गतका बढी जनघनत्व रहेका पालिकाका ८० देखि ९० प्रतिशत व्यवसायी घर भाडामा लिई व्यवसाय सञ्चालन गरेको र उक्त व्यवसायीमध्येका झन्डै ८५ प्रतिशत व्यवसायीले व्यवसायबाट घरभाडा तिर्न नसकेको बताउँदै यसलाई गम्भीर रूपमा लिन पराजुलीले आग्रह गरे । जिल्लाका मुख्य बजारका धेरै सटर तथा घर खाली हुँदै गएको र भएका अधिकांश व्यवसायीले पसल विक्रीका लागि बोर्ड तथा ब्यानर समेत लगाएका छन् । ‘घरधनीले खाली भवनमा भाडामा छ भनेर ब्यानर, पोस्टर टाँसेको अवस्था छ । व्यवसाय नै बन्द रहेमा घरधनीले प्राप्त गर्ने भाडा, राज्यले प्राप्त गर्ने व्यवसाय कर, बहाल कर र रोजगारीसमेत गुम्ने अवस्थामा घरधनी, राज्य र व्यवसायीका संघबाट यथोचित सम्बोधन हुनुपर्छ,’ उनले भने । व्यवसायी संघबाट हालको अवस्थामा दिँदै आएको भाडादरमा ३० देखि ४० प्रतिशत घर भाडा घटाउन अनुरोधसहित छाता संगठन उद्योग वाणिज्य संघ र महासंघसम्म ज्ञापनपत्र बुझाएको तर उचित पहल हुन नसकेको व्यवासायीको गुनासो छ । घरबहालसम्बन्धी स्पष्ट कानून नबन्नु, विभिन्न करको विषयमा स्थानीय सरकारले उचित र प्रष्ट नीति तथा व्यवस्था गर्न नसक्नुले व्यवसायको सुरक्षाको ग्यारेन्टी नभएको मञ्चका संस्थापक अध्यक्ष एवं वरिष्ठ सल्लाहकार हेमराज पौडेलले बताए ।