घरभाडा नघटाए तालाचाबी घरबेटीलाई बुझाउने व्यवसायीको चेतावनी

चितवन  । आर्थिक मन्दीको कारण व्यवसाय सुस्त भएपछि चितवनका व्यवसायीले भाडा समेत तिर्न नसक्ने अवस्थामा पुगेको बताएका छन् । बैंकको ब्याजदर, घरभाडा, कर्मचारी खर्च लगायतका चालू खर्च धान्न नसकेको भन्दै उनीहरूले घरबेटीलाई तालाचाबी बुझाउने चेतावनी दिएका छन् । व्यवसायीको चर्को विरोध र असन्तुष्टि देखिएपछि नेपाल घरबहाल उपभोक्ता मञ्च चितवनले व्यवसायमा देखिएको आर्थिक मन्दी र उत्पन्न समस्याका सम्बन्धमा विभिन्न व्यवसायी संघहरूसँग बृहत् छलफल गरेको छ ।  छलफलमा हालको व्यवसायसम्बन्धी समस्यालाई सम्बोधन गरी विषम परिस्थितिमा व्यवसायीलाई टिकाउन र घरधनीका घर खाली नगर्न घरधनी लगायत सम्बन्धित संघसंस्थाको विशेष पहल रहनुपर्ने सरोकारवालाको भनाइ छ । मञ्चका अध्यक्ष खेमनारायण पराजुलीले वर्तमान अवस्था र यसबाट सृजित समस्या समाधानका लागि मञ्चको तर्फबाट विभिन्न सार्वजनिक लेख, विज्ञप्ति र ज्ञापनपत्रमार्फत सम्बन्धित निकायलाई ध्यानाकर्षण गरिए पनि माग सम्बोधन नभएको बताए ।  चितवन जिल्लाअन्तर्गतका बढी जनघनत्व रहेका पालिकाका ८० देखि ९० प्रतिशत व्यवसायी घर भाडामा लिई व्यवसाय सञ्चालन गरेको र उक्त व्यवसायीमध्येका झन्डै ८५ प्रतिशत व्यवसायीले व्यवसायबाट घरभाडा तिर्न नसकेको बताउँदै यसलाई गम्भीर रूपमा लिन पराजुलीले आग्रह गरे । जिल्लाका मुख्य बजारका धेरै सटर तथा घर खाली हुँदै गएको र भएका अधिकांश व्यवसायीले पसल विक्रीका लागि बोर्ड तथा ब्यानर समेत लगाएका छन् । ‘घरधनीले खाली भवनमा भाडामा छ भनेर ब्यानर, पोस्टर टाँसेको अवस्था छ । व्यवसाय नै बन्द रहेमा घरधनीले प्राप्त गर्ने भाडा, राज्यले प्राप्त गर्ने व्यवसाय कर, बहाल कर र रोजगारीसमेत गुम्ने अवस्थामा घरधनी, राज्य र व्यवसायीका संघबाट यथोचित सम्बोधन हुनुपर्छ,’ उनले भने । व्यवसायी संघबाट हालको अवस्थामा दिँदै आएको भाडादरमा ३० देखि ४० प्रतिशत घर भाडा घटाउन अनुरोधसहित छाता संगठन उद्योग वाणिज्य संघ र महासंघसम्म ज्ञापनपत्र बुझाएको तर उचित पहल हुन नसकेको व्यवासायीको गुनासो छ । घरबहालसम्बन्धी स्पष्ट कानून नबन्नु, विभिन्न करको विषयमा स्थानीय सरकारले उचित र प्रष्ट नीति तथा व्यवस्था गर्न नसक्नुले व्यवसायको सुरक्षाको ग्यारेन्टी नभएको मञ्चका संस्थापक अध्यक्ष एवं वरिष्ठ सल्लाहकार हेमराज पौडेलले बताए ।